|

सिन्धुली :  यहाँको कमलामाई नगरपालिका-९ भिमान सुविधानगरका माधव श्रेष्ठको दैनिकी लुगा, धागो, कैँची र मेसिन चलाएर बित्ने गरेको छ। दुई वर्षयताको उनको दैनिकी यसै गरी बितेको छ।

२२ वर्षका माधवसँग विभिन्न किसिमको झोला(ब्याग) बनाउने राम्रै सीप छ। दुई वर्षदेखि माधवले आफ्नै घर नजिक झोला पसल गर्दै आएका छन्। स्कुल पढ्ने साना साना बालबालिकालाई चाहिने ब्यागदेखि अफिसमा काम गर्नेका लागि उपयोगी ब्याग उनी बनाउँछन्।

दुइटा ब्याग बनाउने जुक्की मेसिनको सहारामा आफ्नो सीप प्रयोग गर्दै माधवले एक जना आफन्तलाई पनि रोजगारी दिएका छन्। दुई लाख रुपैयाँको लगानीमा सुरु गरेको ब्याग पसल अहिले माधवको जीविकोपार्जनको माध्यम बनेको छ। 

माधव र उनकी फुपूको छोराले एक महिनामा आठ सयदेखि नौ सयको हाराहारीमा झोला तयार गर्छन्। ‘दुई जनाले एक महिनामा नौ सय जति झोला बनाउँछौँ, बनाएको झोला डिजाइनअनुसार होलसेलमा एक सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री हुन्छ’ उनले भने। 

महिनामा दुई जनाले उत्पादन गरेको झोला बिक्रीबाट दुई लाखसम्म कारोबार हुने उनले बताए। उनले काठमाडौंबाट कपडा ल्याएर झोला बनाउँदै बिक्री गर्ने गरेका छन्। ‘काठमाडौंबाट होलसेल कपडा ल्याउँछु र झोला बनाउँछु। बनाएको झोला सिन्धुलीकै चकमके, दुधौली, सिन्धुली बजार, बर्दिबास पठाउने गरेको छु। कति त व्यापारी नै पसलमा आउँछन्’ उनले सुनाए। 

उनले महिनामा सबै खर्च कटाएर ४० हजारसम्म नाफा हुने गरेको बताउँछन्। उनले भने ‘अल्छी नगरी काम गरियो भने महिनामा ४० हजार सजिलै फाइदा बस्छ। आफूसँग सीप र मेहनत भए पैसा कमाउन गाह्रो छैन।' 

उनलाई यो अवस्थामा आउन भने निक्कै संघर्ष गर्नुपरेको थियो। काठमाडौंको नयाँ बसपार्कमा रहेको एक झोला गार्मेटमा उनले झन्डै ५ वर्ष काम गरे। झोला बनाउने सीप उनले त्यहीँ सिके।

उनले दुई वर्ष अरूको छेउमा बसेर अरूले नै सिलाएको झोलाको धागो काट्ने, फित्ता मिलाउने, सफा गर्ने काम गरेका थिए। विगत सम्झँदै उनले भने- ‘घरबाट जानेबित्तिकै गार्मेन्टमा काम गर्दा कैँची चलाउने, सिलाएको झोलाको धागो काट्ने, झोला मिलाएर राख्ने काम गरे। झोला मास्टरले काम लगाउँदा हप्ताको एक सय दिन्थ्यो। दुःख त धेरे गर्नुपर्थ्यो तर कमाइ त केही हुँदैन थियो। राति १,२ बजेसम्म पनि काम गर्नुपर्थ्यो।' 

त्यहाँ काम गरेको दुई वर्षपछि उनले झोला सिलाउन मेसिन चलाउन पाएका थिए। त्यसपछि करिब तीन वर्ष मेसिनमै काम गरे। सीप सिके। आफू जान्ने भएपछि उनले गाउँमा आएर पसल खोलेका हुन्। 

उनलाई धेरै पैसा लिएर अर्काकोमा काम गर्नुभन्दा थोरै आम्दानी भए पनि आफ्नै व्यवसाय गर्न उचित लाग्छ।

माधव १५ वर्षकै उमेरमा पढ्न छाडेर काठमाडौं गएका थिए। कक्षा आठमा पढ्दापढ्दै काठमाडौं गएका उनले सुरुमै झोला गार्मेन्टमा काम सुरु गरे। 
झोला गार्मेन्टमै उनको दाइले पनि काम गर्ने भएकाले दाइसँगै बसेर काम सिकेका थिए।

खासमा उनी पढ्न मन नलागेर काठमाडौँ भास्सिएका थिए। पढेको भए अझैमाथि पुग्न सक्ने लाग्छ माधवलाई। तर पढाइ टुटे पनि सीपबाटै जिन्दगी गुजार्न सक्ने आत्मविश्वास छ उनमा। 

उनले आफूलाई विदेश जान खासै मन नभएको भन्दै सीप सिकेर मेहनत गर्न सके स्वदेशमै पैसा कमाउन सकिने अनुभव सुनाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.