|

सुर्खेत : गत आइतबार दिउँसोको समयमा सुर्खेतको बसपार्क साइडको चाइनागेट होटेलको कोठा नम्बर १५ मा शंकास्पद तरिकाले बसिरहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका  ३ तातोपानीका २० वर्षीय सुनिल चौधरी, सोही ठाउँका १८ वर्षीय रुथ तोलांगी र कालिकोट नरहरिनाथ गाउँपालिका २ का १८ वर्षीया अञ्जु विष्टलाई सुर्खेत प्रहरीले खानतलासी लियो।

उनीहरू बसेको कोठामा रहेको खाटको बिस्तारा मुनि लुकाइछिपाई राखेको सेतो प्लास्टिमा कालो धागोले बाँधेको १ पुडिया र कालो प्लास्टिमा सेतो धागोले बाधेको १ पुडिया गरी २ पुडिया लागुऔषध ब्राउनुसगर धुलो फेला पार्‍यो।

यस्तै गत आइतबार नै दिउसो नै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० मा घरभाडामा बस्ने सुर्खेत वीरेन्द्रनगर ११ बस्ने १८ वर्षकी सिता बिकलाई शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा प्रहरीले देखेपछि उनको कोठामा प्रहरीले  खानतलासी गर्दा कोठाको पर्खालमा रातो रङको जेब्रा झोलाभित्र बीच भागमा लुकाइछिपाई कालो प्लास्टिकमा राखेको अवस्थामा १ पोका र अर्को सेतो प्लास्टिकमा सेतो धागोले बाधेको ३ पुडिया लागुऔषध ब्राउनसुगर फेला पार्‍यो। साथै उनको साथमा ब्राउनसुगर बिक्री गर्न प्रयोग गरिने प्लास्टिक, विभिन्न मोइबाइ ३ सेट र केही नगद पनि प्रहरीले बरामद गर्‍यो।

यसैगरी वीरेन्द्रनगरकै ११ बस्ने २१ वर्षीयको प्रविशन कार्कीले लुकाइछिपाई शरीरमा र ओछ्यानको सिरानी मुनि राखेको अवस्थामा तातो पेपर डिएफ २ पुरिया र कालो प्लास्टिकमा राखेको १ थान गरी जम्मा ९ ग्राम व्राउन सुगरसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतको सूचना संकलनमा खटिएको टोलीले बरामद गरी ल्यायो। जसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यी त पछिल्ला दिनका केही प्रतिनिधि घटना मात्र हुन्। पछिल्लो समय लागुऔषधको कारोबार र प्रयोगकर्ता बढिरहेको पाइएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर लागुऔषध कारोबारीको रूपमा देखिन थालेको छ। गत वर्षको तुलनामा यो वर्षको सात महिनाको अवधिमा करिब दोब्बर व्यक्ति लागुऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

सुर्खेतका प्रहरी नायव निरीक्षक प्रदीपबहादुर क्षेत्रीले आर्थिक वर्ष २०७३/०७४ सालमा ५२ ग्राम ७७४ मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको थियो। सोही आर्थिक वर्षमा कोरेक्स ५ लिटर लागुऔषध २५२ ट्याब्लेट बरामद गरेको थियो। उक्त आर्थिक वर्षमा ३३ जना पुरुष तथा २ जना महिला पक्राउ परेका थिए।

यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा प्रहरीले ५१ जना पुरुष र पाँच जना महिलालाई लागुऔषध ओसारपसार तथा कारोबारको अभियोगमा पक्राउ गरिएको थियो। यो झन्डै अघिल्लो आर्थिक वर्षको भन्दा करिब दोब्बर हो। सोही आर्थिक वर्षमा प्रहरीले ४८ केजी चरेस बरामद गरेको थियो भने ५८.७२४ ग्राम ब्राउनसुगर बरामद गरेको थियो।

यता, चालु आर्थिक वर्षको शुरुवातका सात महिनामा गत वर्षको भन्दा दोब्बर व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन्। लागुऔषध मुद्दामा अहिलेसम्म ९७ जना पुरुष तथा ११ जना महिला चालु आर्थिक वर्षमा पक्राउ परेको उपरीक्षक क्षेत्रीले जानकारी दिए। हालसम्म ६४.५४० ग्राम ब्राउनसुगर, चरेस ४.७० ग्राम, गाँजा १८१.५ ग्राम र लागुऔषध निट्राभेट–१० नामक १५७ ट्याब्लेट बरामद भएको हो।

प्रहरी सक्रियता!

सुर्खेत प्रहरीले आपराधिक क्रियाकलापका विरुद्ध जनचेतला मूलक कार्यक्रम गदै आएको छ। विषेशगरी लागुऔषध, सामाजिक सञ्जालको दुरुपयोग, ट्राफिक तथा यौनजन्य अपराधविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्दै आएको हो। तर अपराधकर्म भने घटेको छैन। 

सामुदायिक प्रहरी साझेदारीता कार्यक्रम अर्न्तगतका जनचेतनामुलक तथा अन्तर्क्रिया कार्यक्रमहरू गरिँदै आएको सुर्खेत प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। प्रहरीले स्कुलका बालबालिकादेखि अभिभावक तथा समुदायमा जनचेतनाका कार्यक्रम गर्दैआएको छ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरीका ३० वटा इकाईबाट आ-आफ्नो वडा तथा एरियाहरूमा बालविवाह, सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसा, लागुऔषध दुर्व्यासन, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण, मानव बेचबिखन, बाल हिंसा र साइबर अपराधसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्दैआएको छ। सुर्खेत प्रहरी प्रमुख वसन्त राजौरेले ३ हजार  ९ सयको हाराहारीमा जनचेतनामूलक कार्यक्रम गरिएको बताए।  

लागुऔषध दुर्व्यसनी तथा कारोबारी बढे पनि प्रहरीले भने उनीहरूको संजाल तोडेको दाबी गरेको छ। प्रहरी उपरीक्षक रजौरेले लागुऔषधविरुद्ध अप्रेसन तीव्र पारेको जनाए। उनले दुर्व्यसनीलाई ठाउँको ठाउँमा कारबाही गरेको बताए। उनले भने- 'पहिले बाटो बाटोमा बसेर लागुऔषध लिने गरेको रिपोर्टहरू आउँथे तर अहिले त्यस्तो छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.