|

काठमाडौं : दार्चुला खार, गोधानीकी जोगेनी मान्यालको दिन सदरमुकाम खलंगामा गिटी कुटेरै बित्थ्यो। दिनभरी कुटेको गिटी बेचेर कहिले दुई सय त कहिले तीन सय हात पर्थ्यो। उनी कहिले बालुवा बोक्न पनि जान्थिन्।

ज्यालादारी काम गर्न उनी सदरमुकाम खलंगा र भारतको धार्चुलासम्म पुगिन्। यसरी कमाएको पैसा दाल, चामल र छोराछोरीको कापीकलम किनेरै सकिन्थ्यो। बचत हुने त कुरै थिएन। 

२०६९ सालमा गाउँमा धागो कारखाना खुलेपछि उनको दैनिकी फेरियो। गोधानीमा भूमिराज अल्लो प्रशोधन तथा बुनाइ साझा सुविधा केन्द्र खुलेपछि जोगेनीले अल्लो पकाउने, त्यसबाट धागो निकाल्ने काम गर्न थालिन्। गिटी कुट्ने र बालुवा बोक्ने काम भन्दा यो सजिलो र कम दुखको काम थियो उनका लागि। 

उक्त संस्था मार्फत नै उनले अल्लोबाट धागो निकाल्ने र कपडा बुन्ने तालिम लिन पाइन्। मंसिर दोश्रो हप्ता काठमाडौंमा हस्तकला व्यापार मेलामा भेटिएकी जोगेनीले भनिन्,'पहिले मरीमरी काम गर्दा पनि बेलुकीको छाक टार्न मात्र पुग्थ्यो, अहिले सजिलो र राम्रो काम गरेर घरखर्च चलाउनुका साथै बचत गर्न सकिएको छ।'  

जोगनीले कारखानामा अल्लो प्रशोधन गर्नुअघि पनि घरमा कम्मरे तानमार्फत कपडा उत्पादन गर्थिन्। तर भूमिराज अल्लो प्रशोधन तथा बुनाइ साझा सुविधा केन्द्रले कपडा बुन्ने आधुनिक तान ल्याएपछि उनले पहिले १० दिन र पछि १ महिने तान बुन्ने सीप सिकिन्। अनि कोट, सल, साडी, मफलर, बन्याल लगायतका लागि राम्रो कपडा उत्पादन गर्न जानिन्। पछि कपडा सिलाइको सीप पनि सिकिन्। अहिले जोगनीले धागो उत्पादनदेखि कपडा बुन्ने र सिलाइको सीपले दैनिकी चलाउदै आएकी छन्। छोरी पढाएकी छन्, आमालाई पालेकी छन् अनि बचत पनि गरेकी छन्। 

जोगेनीकै गाउँका हुन् दामा ठगुन्ना र बेलमती ठगुन्ना। उनीहरुले घरेलु तान चलाउन जानेका छन्। उनीहरु ४ दिनको तालिम लिएर सीपलाई झन् तिखार्ने अनि गाउँका दिदी बहिनीलाई सिकाउने बताउँछन्।  

दार्चुलामा अल्लो प्रशोधन केन्द्र खुल्दा समूहमा ११ जना थिए, त्यसमा पनि धेरैजसो पुरुष। अल्लो प्रशोधनको काम जानेका त ४ जना मात्र रहेका केन्द्रका संयोजक नरेन्द्रसिंह धामीले बताए। अहिले उक्त संख्या बढेर काम गर्ने मात्र ७८ जना पुगेको छ। जसमा महिलाहरु मात्रै ६७ जना छन्। अल्लोबाट बनेको कपडाको माग बिस्तारै बढिरहेको धामीको भनाइ छ।

'अहिले समूहमा आवद्ध भएर काम गर्नेको संख्या बढेकोले सिलाई बुनाइबाट उत्पादन बिस्तारै बढिरहेको छ', नरेन्द्रले भने, 'गाउँमा कामप्रति लगाव बढोस् भनेर बजारमा दिने ज्याला भन्दा बढी गाउँमा दिइरहेका छौं र सीप पनि सिकाइरहेका छौं। यसले गर्दा माग अनुसारको उत्पादनमा सहयोग मिल्ने छ।' स्थानीय महिलाले घरको काम गरेर बचेको समयमा काम गरेर पनि राम्रो कमाइ गरिरहेको र घरखर्च, पढाइमा लगानी गर्नुका साथै बचत गर्ने गरेको नरेन्द्रले बताए।

नवलपरासीमा मुडा र चकटीबाट स्वरोजगार

नवलपरासी हरखपुरा ५ कुडियाकीलकी ४७ वर्षकी क्षेत्रकुमारी चौधरी ६ वर्षअघि सम्म घरको काममै सीमित थिइन्। तरकारी लगाउने, खेती किसानी गर्ने र गाइवस्तु पालनमै अल्झेकी थिइन्। जसबाट नगद आम्दानी हुँदैनथ्यो। आफूलाई रहर लागेको चीज किन्न होस् या घरखर्च चलाउन सबैका लागि पति सँग पैसा माग्नुपर्थ्यो।

सरकारसँगको सहकार्यमा एक अष्ट्रेलियन संस्थाले मुडा, चकटी, ढकिया, किस्ती बनाउने सीपमूलक तालिम दिएपछि उनको जीवन फेरियो। उनले सीप सिकेर काम गर्न थालिन्। गाउँमा तीनवटा संस्था बनाए र महिलाहरुले काम गर्न थाले। पछि तीनवटै संस्था एक भए र निर्माण गरे त्रिवेणी पटेर अन्तरलघु उद्यमी समूह कुडिया ५ हरखपुरा नवलपरासी। जसमार्फत उनीहरुलाई बढीभन्दा बढी सामान उत्पादन गर्न बिक्री गर्नुका साथै सीपमूलक तालिम दिन लिन सहज बन्यो।

क्षेत्रकुमारीले गाउँमा महिलाहरु नै बढी यो सीपमूलक काममा संलग्न रहेको बताइन्। उनले भनिन्, 'घरको कामबाट फुर्सद मिलेपछि यी घरेलु सामान बनाउछौं। गाउँघरमा दिदीबहिनीहरुले महिनामा १२ हजारदेखि २५ हजारसम्म कमाइ गरिरहनुभएको छ।'

उनी आफुले प्रौढ मात्र पढेकी छन् तर सीपमूलक तालिम दिने भएकी छन्। मुढा बनाउनुका साथै तालिम दिएर उनले मासिक ३० हजार सम्म कमाइ भइरहेको बताइन्। 'घरमा काम भएको बेला १० हजार जति पनि कमाइ हुन्छ, दुई तीन वटा तालिम महिनाममा दिन पाइयो भने ३० हजारसम्म पनि कमाइन्छ', उनले भनिन् 'छोराछोरी पढाउने, घरखर्च चलाउनेदेखि लिएर बचत गर्नसमेत पुगेको छ। पहिला सानो सामान किन्न पनि श्रीमानसँग पैसा माग्नुपर्थ्यो तर अहिले आफ्नै कमाइबाट चाहेको चीज किन्न पाइएको छ।' उनले आफूले नपढेपनि एक छोरी १० मा पढाइरहेकी छन् भने २ छोरीहरु १२ कक्षामा पढाइरहेकी छन्। त्यस्तै १ छोरालाई स्नातक भर्ना गरेकी छन्।

क्षेत्रकुमारीले गाउँमा सबै मिलेर संस्थाको आफ्नै भवन बनाएको बताइन्। जसमा सबैले उत्पादन गरेका सामाग्री त्यहीँ जम्मा गरेर बिक्रेताकहाँ पुर्‍याउने गरेका छन्।

क्षेत्रकुमारीलाई आफूले सीप सिकाएका दिदीबहिनीले त्यही सीपबाट राम्रो काम गरिरहेको देख्दा खुसी लग्दो रहेछ। उनले बुन्दै गरेको मुढालाई देखाउदै भनिन्, 'थारु महिलाको सीप र कामप्रति लगनशिलता छ। र, हामी महिलाले आफ्नै सीपबाट आम्दानी गरिरहेका छौं।'

ब्रिकेटको आधा पैसा महिलाको हातमा 

सिन्धुपाल्चोक अत्तरपुर गाविस सिक्रेका महिलाले भने ब्रिकेट बनाएर राम्रो आम्दानी गरिरहेका छन्। वनमा खेर गइरहेका झिंजा, झाडी, छेस्का, वनमारा आदिबाट उत्पादन गरिने एक वैकल्पिक ऊर्जा हो ब्रिकेट। यो बाल्दा धुँवा नआउने भएकोले चिसोको मौसममा यसको उपयोग गरिदै आएको छ।

गतवर्ष भारतीय नाकाबन्दीको समयमा यसको उपयोग र ब्यापार निकै बढेको थियो। काठमाडौंमा ग्यास अभाव हुँदा ब्रिकेटमा नै काठमाडौंबासीले खाना पकाएका थिए। 

हिमालयन बायो ब्रिकेट प्रालिले काठमाडौं ललितपुर भक्तपुर नुवाकोट र सिन्धुपाल्चोकका बिभिन्न ठाउँमा ब्रिकेट उत्पादन गर्दै आएको उत्पादन अधिकृत मनिष निरौलाले बताए। उनका अनुसार काठमाडौंमा वर्षेनी १० देखि १२ लाख ब्रिकेट खपत हुन्छ। जसको उत्पादनमा आधाभन्दा बढी महिलाहरु संलग्न रहेका छन्। 'ब्रिकेट मात्र बनाउने महिलाले दिनको पाँच सय भन्दा बढी आम्दानी गरिरहेका छन्', मनिषले भने, 'सिक्रेका महिलाहरु घरको काम गरेर पनि दिनको ३ सयसम्म कमाइ गर्छन्।'

स्थानीय स्तरमा समिति बनाएर ब्रिकेट उत्पादन गरिरहेको मनिषले बताए। वर्षेनी माग बढिरहेकोले यसबाट प्रत्यक्ष लाभ स्थानीय महिलालाई हुने उनले बताए। निरौला भन्छन्, 'हामीले सामुदायिक वनसँग सहकार्य गरेर स्थानीयलाई रोजगारी दिइरहेका छौं भने वैकल्पिक ऊर्जाको उत्पादन गरिरहेका छौं' खाना पकाउन, पानी तताउन, चिसोमा आगो ताप्न, हिटर र ग्यासको विकल्पमा प्रयोग हुने मनिषले जानकारी दिए। वनमा डढेलो लाग्नबाट बच्ने र स्थानीय महिलालाई घरको काम बाहेकको समयमा सीपमूलक रोजगारीमा लागेर राम्रो आम्दानी भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.