|

सोलुखुम्बु : बुधबार ताप्लेजुङमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनामा सोलुखुम्बुको एउटा खम्बा पनि ढलेको छ। सोलुखुम्बुको मात्र नभई देशकै खम्बाको रूपमा रहेका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको निधनले सोलुखुम्बु स्तब्ध बनेको छ।

सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपलिका १ मा जन्मिएका आङ छिरिङ शेर्पा पर्यटन क्षेत्रको एक सफल व्यवसायी थिए। उनको निधनले समग्र जिल्ला र देशकै पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै सोलुखुम्बु प्रतिनिधि सभा सदस्य हेमकुमार राई (शुरवीर)ले दुःख व्यक्त गरे।

'परिवारनै पर्यटन क्षेत्रमा भएका कारण उहाँको योगदान सोलुखुम्बुले कहिल्यै भुल्दैन' सांसद राईले भने, 'जिल्लाको समग्र पर्यटन प्रवर्द्धन गर्ने सन्दर्भमा महत्वपूर्ण योजना निर्माण गरेका थियौँ, तर उहाँको लागि त्यो योजनामै सीमित भयो।'

यति एयरलाइन्सका अध्यक्षसमेत रहेका शेर्पालाई खुम्बुको लुक्लासम्म सडक नपुर्‍याउनुमा उनी प्रमुख बाधक बनेको समेत झुठो आरोप लाग्दै आएको थियो। 'यो वर्ष नै उहाँले दिलो ज्यान दिएर लुक्लासम्म सडक पुर्‍याउने भनेर लाग्नुभएको थियो' सांसद राईले भने, 'उहाँको त्यो सपनालाई हामी पूरा गरेर छाड्छौँ।'

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को दारेभिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटना हुँदा पर्यटन व्यवसायी शेर्पासहित सात जनाको ज्यान गएको छ। 'मन्त्री सवार हेलिकोप्टर दुर्घट्ना हुँदा नेपालले ठूलो नोक्सानी बेहोर्नुपरेकामा सोलुखुम्बु स्तब्ध छ', सांसद राईले भने, 'पर्यटन प्रवर्द्धनको क्षेत्रमा उहाँसँग राम्रो ज्ञान थियो ।'

विभिन्न कम्पनी सञ्चालन गरेर हजारौँलाई रोजगारीसमेत दिएका आङ छिरिङको मृत्युको खबर सुनेपछि सोलुबासी स्तब्ध भए। सोलुबासीले सामाजिक सञ्चाल फेसबुकमार्फत दुःख व्यक्त गरेका छन्। 

पर्यटनसँग आङ छिरिङको सम्बन्ध

 आङ छिरिङ शेर्पा चर्चित सगरमाथा आरोही स्व. पासाङ ल्हामु शेर्पाका साहिला देवर हुन्। भाउजूले सगरमाथा आरोहण गर्दा आङ छिरिङ ट्रेकिङ व्यवसायमा जोडिएका थिए। गाउँबाट भरिया बन्न काठमाडौं आएका शेर्पाको चार दशकको यात्राले पर्यटन क्षेत्रमा सिंगो देशलाई नै महत्वपूर्ण फाईदा पुगेको थियो।

हिमाली पर्यटन व्यवसायमा लागेका आङ छिरिङ २० वर्षको छोटो अवधिमा यति एयरलाइन्स, तारा एयरलाइन्स अनि हिमालय एयरको मालिकसमेत बन्न सफल भए। काठमाडौंको गोकर्ण रिसोर्ट, भैरहवाको कसरा रिसोर्ट, सोलुखुम्बुको यति होम लगायतका सुविधा सम्पन्न होटल र रिसोर्टमा उनको पनि लगानी छ।

सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्वर्गीय पासाङ ल्हामु शेर्पाको सगरमाथा आरोहण गरेर फर्कने क्रममा ज्यान गएको थियो। उनको भाइ टेण्डि शेर्पाको पनि २०५५ सालमा सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिकास्थित अँधेरीखोलामा हेलिकोप्टर दुर्घटनामै परेर ज्यान गएको थियो। 

धेरै नेताहरूसँग निकट सम्बन्ध राख्ने उनी पर्यटन व्यवसाय अनुकूल कानुनी वातावारण तयार गर्न पनि पहुँच राख्ने सोलुखुम्बु प्रतिनिनिधि सभा सांसद राई बताउँछन् । सर एडमण्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले साँढे ६ दशक अघि सगरमाथाको प्रथम पटक आरोहणपछि खुम्बु क्षेत्रमा विदेशीहरूको चहलपहल सुरु भएको बताइन्छ । त्यही अवसरमा आङ छिरिङको परिवार पनि विदेशीहरूलाई घुमाउँदै पर्यटन व्यवसायमा लागेको हो।

आफ्नै दिदीको ट्रेकिङ कम्पनीबाट भरिया काम शुरु गरेका आङ छिरिङ सबैको आँखामा लगाउदा नबिझाउने उनीसँग काम गर्नेहरूको अनुभव छ। परिवारनै पर्यटन क्षेत्रमा संलग्न रहि देशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएका आङ छिरिङका जेठा दाजुको पहिले नै निधन भएको थियो अरू तीन जना दाजुभाइ नै पर्यटन व्यवसायमा संलग्न भए।

आङछिरिङ शेर्पा २० वर्षमै देशको नमुना हवाई जहाज कम्पनीको रुपमा लिइने यति एयरका प्रबन्ध निर्देशक थिए। तारा एयर उनकै समूहको हो भने संखुवासभा दुर्घटनामा परेको एयर डाईनेष्टी हेलिकोप्टरको पनि उनकै समूहको ठूलो शेयर छ। पछिल्लो समयम उदाएको हिमालय एयर पनि उनकै समूहको हो।

नजिकबाट हेर्नेको लागि आङछिरिङ

'शेर्पासँगको संगत गर्ने जो कोहीको यतीबेला हृदय रोएको छ', पर्यटन व्यवसायी हिमाल केसीले भने, 'हामी सानै भए पनि आङ छिरिङ दाइको त्यो हौसला कहिल्यै बिर्सदैनौ, हाम्रो लागि फागुन १५ गते कालो दिन भयो।'

आङ छिरिङलाई नजिकबाट चिन्ने व्यक्ति मध्येको लुक्लाका विजय तामाङ पनि एक हुन् । उनका अनुसार आङछिरिङ उच्च ओहदाका व्यक्तिलाई मात्र नभई तल्लो स्तरका व्यक्तिहरूको लागि पनि सहयोगी र विकासप्रेमी थिए। तामाङले भने, 'जे भन्नु छ सिधै भन्ने तर उहाँमा सकरात्मक सोचाइ थियो।'

'पर्यटकलाई सुरक्षा, प्रशिक्षित गाइड, गुणस्तरीय सेवा प्रदान गर्नुपर्छ भन्ने मान्यता उहाँमा थियो' तामाङ थपे, 'धेरै विदेशीहरू उहाँकै कम्पनीबाट खुम्बु भ्रमणमा आउने गरेको पाइन्छ।' व्यवसायमा अपार सफलता प्राप्त गरेका उनी कुनै पनि क्षेत्रमा विवादित बनेको रेकर्ड छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.