|

चितवन : ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरूको सम्झनामा चितवनमा दीप प्रज्ज्वलन गरिएको छ। हाम्रो दृष्टि राम्रो दृष्टिले युवा क्लब वडा ४ भरतपुर डाइनामिक युथ क्लबको सहकार्यमा बिहीबार साँझ भरतपुरको चौविसकोठीमा दीप प्रज्ज्वलन गरेको हो।

दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जलि सभामा युवा, विद्यार्थी, शुभचिन्तक, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखलगायत स्थानीयको सहभागीता रहेको थियो। उनीहरूले भुइँमा हेलिकोप्टरको चित्र बनाई मैनबत्ती बालेका थिए। सभामा वक्ताहरूले दुर्घटनाबाट राष्ट्रलाई अतुलनीय क्षति पुगेको बताएका थिए।  बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो।

यसैबीच हेलीकप्टर दुर्घटनाबाट निधन भएकामा दुःख व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ ले शोक वक्तव्य जारी गरेको छ।

बिहीबार प्रदेश ३ का अध्यक्ष नारायण दाहाल र सचिव आनन्द प्रसाद पोखरेलद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ 'हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा हाम्रा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र अधिकारी, यति एअरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको खबरले हामी अत्यन्तै स्तब्ध भएका छौँ। यस दुर्घटनाबाट मुलुकमा अपुरणीय क्षती भएको छ। मुलुकमा स्थापित विकासप्रेमि संघीय लोकतान्त्रित गणतन्त्रप्रति सदा समर्पित योग्य र कुशल जनप्रतिनिधि गुमाएका छौँ। मृतक सबै प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तहरु प्रति गहिरो समवेदना प्रकट गर्दछौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.