|

काठमाडौं : जिनियस म्युजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक जिनियस म्युजिक अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ। दशौं वार्षिकोत्सवको अवसरमा कम्पनिले नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरूलाई ‘जिनियस म्युजिक अवार्ड–२०७५’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै उक्त अवार्डका लागि आवेदन फाराम खुला भएको जानकारी गराएको छ। अवार्डमा सहभागिता जनाउनका लागि कम्पनीको आधिकारिक वेबसाइट gmnepal.com मा गएर अनलाइनमार्फत पनि देशैभरीबाट आवेदन फाराम भर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका प्रबन्ध निर्देशक रमेश पाठकका अनुसार २०७५ साल वैशाख १ गतेदेखि चैत मशान्तसम्म सार्वजनिक भएका नेपाली गीत–संगीतले यो अवार्डमा आवदेन दिन सक्ने छन्। २०७६ साल जेठ ११ गते शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा यो अवार्ड वितरण गरिनेछ।

पहिलोपटक आयोजना हुन लागेको यो अवार्डमा विभिन्न ४१ विधामा संगीतकर्मीहरूलाई पुरस्कृत गरिने छ। अवार्डमा राष्ट्रिय भावनाको गीत (सर्वोत्कृष्ट गीतकार, संगीतकार, गायक तथा गायिका), चलचित्र गीत (सर्वोत्कृष्ट गीतकार, संगीतकार, संगीत संयोजक, गायक र गायिका), लोक तथा दोहोरी (सर्वोत्कृष्ट शब्द, लय, संगीत संयोजक, गायक, गायिका, भिडियो छायांकार, भिडियो सम्पादक, निर्देशक, मोडल, नव मोडल) तामाङ गीत (सर्वोत्कृष्ट गीतकार, संगीतकार, संगीत संयोजक, गायक र गायिका) विधामा संगीतकर्मीहरूलाई पुरस्कृत गरिने छ।

त्यसैगरी, पप तथा आधुनिक (सर्वोत्कृष्ट गीतकार, संगीतकार, संगीत संयोजक, गायक, गायिका, यूगल तथा समूह गायन, रेकर्डिष्ट, ध्वनी मुद्रण, नव गायक, नव गायिका, भिडियो छायांकार, भिडियो सम्पादक, निर्देश्ँक, मोडल, नव मोडल), चाडपर्व विशेष गीत (सर्वोत्कृष्ट तीज गीत गायिका, तीज गीत नव गायिका, सर्वोत्कृष्ट दशैं गीत, सर्वोत्कृष्ट देउसी–भैलो गीत), सर्वोत्कृष्ट बाल गीत, सर्वोत्कृष्ट म्युजिक कम्पनि तथा सर्वोत्कृष्ट पब्लिक च्वाइस अवार्ड विधामा संगीतकर्मीहरूलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागिताका लागि हरेक सिर्जना २०७५ साल भित्र सार्वजनिक गरिएको हुनु पर्ने नियम बनाइएको छ। यसबाहेक अवार्डका नीति तथा नियमहरू आयोजक संस्थाले निर्धारण गरेबमोजिम मान्य हुनेछ। अवार्डमा सहभागिता जनाउनका लागि २०७६ साल वैशाख ६ गतेभित्र बुझाइएका फारामहरूलाई मात्र आधिकारिक मानिने समेत आयोजक संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.