|

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका १ स्थित मणिलेक माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामा बेहोस हुने समस्या देखिन थालेको छ।

विद्यालयका अध्ययनरत कक्षा ७ देखि माथिका छात्रामा यो समस्या देखिएको विद्यालयले जनाएको छ। छात्रामा  बेहोस हुने, छट्पटाउने, काम्ने समस्या रहेको प्रधानाध्यापक त्रिभुवनसिंह रावलले बताए। साथै उनीहरूले अरुलाई लखेट्ने  पनि गरेका छन्। केही महिनाबाट विद्यालयमा यो समस्या रहेको छ प्रधानाध्यापक रावलले भने,'विद्यालयका ५ जना भन्दा बढी छात्राहरुमा यो समस्या देखिने गरेको छ। उनीहरू कोही न कहिले कोही बेहोस हुने गरेका छन्। विशेष गरी छात्रामा किन यस्तो समस्या छ भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। यस्ताे समस्याले छात्राको पढाईमा बाधा पुगेको छ।'

कहिले विद्यालयमा पुगेर कहिले घरमै र कहिले विद्यालय आउदै गर्दा बाटोमै छात्रा एक्कासी बेहोस भइदिँदा उनीहरूका अभिभावकलाई पनि समस्या भएको छ। छात्रा बेहोस हुने समस्या जिल्लाका अन्य विद्यालयमा पनि बेला बेलामा देखिने गरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए। 'यो समस्या जिल्लाका अधिकांश विद्यालय र अन्य जिल्लामा पनि रहेको भन्दै यसको कारण पत्ता लागेको छैन,' उनले भने, 'यस्तो समस्या निरन्तर भइरहे मनोविमर्शकर्ता बोलाएर देखाउछौं।'  

स्वास्थ्यकर्मीले पनि यो समस्याको समाधान गर्न नसकेको अभिभावक बताए। छात्रामा मानसिक तनावले यो समस्या हुने स्वास्थ्यकर्मीको भनाई छ। एकजनालाई हुँदा अरुले डर मान्दा उनीहरूलाई पनि यो समस्या देखा पर्ने गरेको जिल्ला अस्पताल बैतडीका मेडिकल अधिकृत डाक्टर देवेन्द्र लेखकले बताए। यो समस्या समाधानको लागी धेरै नसोच्ने, भीडभाड भएको ठाउँमा नजान लेखकको सुझाव पनि छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.