|

पर्सा : नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने प्रचार भइरहेको गायत्री अश्वमेध महायज्ञको सबै तयारी पूरा भएको छ। वीरगन्जको आदर्शनगरस्थित रंगशालामा नेपालका राष्ट्रपतिबाट आइतबार उद्घाटन हुने प्रचार भइरहेको गायत्री अश्वमेध महायज्ञको सबै तयारी पूरा भएको हो।

फागुन १९ गतेबाट २२ गतेसम्म चल्ने अश्वमेध महायज्ञमा उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने र ४० देशबाट गायत्री परिवारका सदस्यहरू पनि आइरहेको आयोजक महायज्ञ समितिका संयोजक तथा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताए। 'गायत्री महायज्ञमा ७५३ जना मुख्य जजमान रहने छन्। चार दिनमा झण्डै ५ लाख मानिस आइपुग्ने अनुमान रहेको छ,' उनले भने।

'आगन्तक तथा भक्तजन जो वीरगन्जमा नै बसोबास गर्छन् उनीहरूका लागि बस्ने, खाने र आवत­जावत गर्ने व्यवस्था मिलाइएको आयोजक समितिका सहसंयोजक ओमप्रकाश शर्माले भने। 

उनका अनुसार महायज्ञको समयमा आउने आगन्तुकहरुलाई बस्न खानका लागि स्थानीय सबै धर्मशाला, ठाकुरराम बहुमुखी क्याम्पसको छात्रावास तथा स्थानीय पार्टी प्यालेसहरू पनि बुक गरिएको छ। महायज्ञ सम्पन्न गर्नका लागि आवास समिति, विशिष्ट पाहुना सत्कार सिमित, मिडिया संयोजन समिति गठन गरी कार्य सम्पादन भइरहेको छ।

महायज्ञमा ५ हजार स्वयमसेवक परिचालन गरिने महायज्ञ आयोजक समितिका महासचिव छोटेलाल प्रसादले बताए। 'आगन्तुकहरूका लागि भनी १५० शौचालय पनि निर्माण भइसकेका छन्। मानिसको व्यवहारमा सुधार ल्याउन विभिन्न प्रकारका गोष्ठी र स्वास्थ्य शिविर समेत महायज्ञसँगै संचालन गर्ने तयारी रहेको छ', उनले भने।

समापन प्रधानमन्त्रीबाट

गायत्री परिवारले नेपालमा नै पहिलोपटक गर्न थालेको अश्वमेध महायज्ञको समापन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले प्रचार प्रसार गरिरहेका छन्। देशको हित, उन्नति र समृद्धि तथा शान्तिका लागि गर्न थालिएकोले भनिएको गायत्री महायज्ञको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि लामो समय पछिको प्रम ओलीको मधेश आगमन पनि हुनेछ। यो कार्यक्रमका क्रममा आउने प्रम ओलीले मधेशको केही प्याकेज पनि घोषणा गर्छन् कि भन्ने पनि राजनीतिक वृत्तका मानिसले अड्कलवाजी गरिरहेका छन्।

उद्घाटन र समापनमा भिभिआइपीको सवारी हुने हल्लाले स्थानीय सुरक्षा व्यवस्थालाई निकै चुश्त पारिरहेको पर्साका जिल्ला शिक्षा अधिकारी नारायण प्रसाद भट्टराईले बताए। हरेक दिन कुनै न कुनै भिआइपी पाहुनाको आगमन हुने भएकोले उनीहरूको सत्कार र सेवाका लागि छुट्टै सत्कार समिति बनाइएको सत्कार समितिका संयोजक अशोक वैद्यले बताए ।

छ सय सुरक्षाकर्मी, ३२ सिसी क्यामेराबाट निगरानी

सुरक्षाको दृष्टिले नगर क्षेत्रमा जिल्लाका सुरक्षाकर्मीबाहेक थप ६ सय सुरक्षाकर्मी बाहिरबाट मगाइएको छ। महायज्ञस्थल वरिपरी अतिरिक्त स्वयम्सेवक पनि व्यापक रुपमा खटाइने आयोजकले घोषणा गरेको छ। यज्ञस्थलको सुरक्षा जिम्मेवारी लिएको सेक्युरिटी कम्पनी जि­फोर्सले सुरक्षा सर्तकता अपनाउँदै ३६० डिग्रीमा घुम्ने सिसी क्यामरासमेत जडान गर्दै छ। यसले महायज्ञ वरिपरिको हरेक गतिविधि सुक्ष्मरुपमा नियाल्न सक्ने छ।

महायज्ञमा सहभागी हुने क्षमताभन्दा बढी मानिस सहभागी हुन खोजे आधुनिक प्रविधियुक्त  क्यामराको माध्यमले स्वतः भित्र प्रवेष निशेध गर्न आफैँ मेन गेट बन्द हुने आयोजक समितिका महासचिव छोटेलाल प्रसादले बताए। बाहिर जानको लागि भने गेट खुल्ला रहिरहने छ।

होमादीका लागि २५१ कुण्ड निर्माण

शास्त्रका अनुसार अश्वमेध महायज्ञमा १००८ कुण्ड हुनुपर्ने भनिए पनि त्यसलाई घटाएर २५१ वटा कुण्डहरु बनाइएका छन्। जसमा ब्रम्ह कुण्ड, लक्ष्मी कुण्ड, शिव कुण्ड ग्रह कुण्ड योनी कुण्ड ग्रह कुण्ड लगायत ९ प्रकारका रहेका छन्। अश्वमेध महायज्ञमा घोडा नछोडे पनि घोडाको आकार बनाएर अश्वमेध महायज्ञमा राखिने तयारीसमेत भएको समितिका संयोजक सरावगीले बताए। यो महायज्ञमा जिवित घोडाभन्दा पनि विचारको घोडा दौडाइने उनले तर्क गरे।

पूर्णाहुतीका लागि कर्ताले अपनाइनु पर्ने विधिका बारेमा संचारकर्मीले राखेको जिज्ञासामा भने उनले गायत्री परिवारका सदस्यले आफ्नो घर घरमा पहिलेदेखि नै विधि गर्दै आएको बताए। यो कुरालाई जोड दिँदै उनले अझ ३ वर्षबाट गायत्री परिवारका सदस्यले गर्दै आएको दावी गरे।

अश्वमेध महायज्ञ ‘अश्मेधिक' मात्र

वीरगन्जमा आइतबारबाट हुने अश्वमेध महायज्ञ अश्वमेधिक मात्र भएको कार्यक्रमस्थलमा आइपुगेका गायत्री परिवारकै विज्ञ सदस्यले बताएका छन्। गायत्री परिवारले सुरुदेखि गर्दै आएका महायज्ञमा २४ वटा भने अश्वमेध महायज्ञ नै गरेको र त्यसपछिका भने अश्वमेधिक मात्र भएको उनीहरूको भनाइ छ। कुण्डको निर्माण गराइरहेका प्रमुख व्यक्ति कान्ता प्रसादले पनि खासमा यो अश्वमेधभन्दा पनि अश्वमेधिक मात्र भएको बताए। 

'वर्तमानमा पूरै कुण्डको संख्या र विधि पुर्‍याउन कठिन हुन्छ। मेरो भाषामा म यसलाई अश्वमेधिक नै भन्छु,' कान्ता प्रसादले भने। कुण्ड निर्माण गर्दा त्यसको संख्या, डिलको साइज र कर्ताले समेत विधि नपुर्‍याए त्यो ठाउँ वा देशमा अशुभ हुने महायज्ञस्थलमा आइपुगेका भक्तजनले बताए।

नेपाल सरकारका पर्यटन मन्त्री लगायतका व्यक्तिको दुखद् घटना पनि अशुभको संकेत भएको हुन सक्ने उनीहरूको तर्क छ। दैलेखबाट वीरगन्जको महायज्ञमा आइपुगेका धर्म आचार्यले पनि कुण्डको संख्या र आकारप्रकार तथा विधिमा त्रुटी भएकोले अशुभ संकेत देखा परेको तर्क गरे।

पर्यटन मन्त्रीको मृत्युले छटपटिदै आयोजक समिति

अश्वमेध महायज्ञका लागि ५० लाख सहयोग गर्छु भनेका नेपाल सरकारका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दूर्घघटनामा भएको मृत्युपछि उनले महायज्ञका लागि दिने भनेको पैसा मन्त्रालयबाट आउँछ कि भन्ने झिनो आश मात्र आयोजकले गरेको छ। 'यो पहल उपेन्द्र महतोजीले गरिरहनु भएको छ। निश्चित छैन', आयोजक समितिका संयोजक सरावगीले भने।

महानगरका सबै विद्यालय बन्द हुने 

महायज्ञ अवधिभरी वीरगन्जका सम्पूर्ण सामुदायिक तथा नीजि विद्यालयहरू पनि बन्द हुने भएका छन्। जाडो बिदामा कटौती हुने गरी ४ दिन अर्थात् महायज्ञ अवधिभर सार्वजनिक बिदा दिने व्यवस्था मिलाइएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख तथा महायज्ञ आयोजक समितिका संयोजक सरावगीले बताए।

तामसी भोजन पनि चारदिन बन्द हुने

महायज्ञ अवधिभर नगर क्षेत्रमा माछा, मासु तथा मदिरा बिक्री वितरणमा पनि प्रतिबन्ध लगाइने छ। धार्मिक यज्ञ भएकोले महानगर, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको समन्वमा नगरक्षेत्रमा संचालित माछा, मासु तथा मदिरा बिक्री वितरण गर्ने सम्पूर्ण पसलहरू पूर्णरूपमा बन्द गरिने आयोजकले जनाएको छ। अटेरी गर्नेलाई स्थानिय सरकारको कानुनबमोजिम  कारवाही समेत गर्ने नगर प्रमुख सरावगीले दावी गरे।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.