|

लहान : सिरहाको धनगढीमाई नगरपालिका १३ ढुंगाना टोलनजिकै पर्ने बाबुराम खोला किनारमा माटोको ढिस्कोले पुरिएर एक स्कुले विद्यार्थीको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय धनी यादवका दुईमध्ये कान्छो छोरा करिब १७ वर्षीय विश्वम्भर यादव रहेको इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीले जनाएको छ। धनगढीमाई नगरपालिका १३ का वडा सदस्य हरि साहको स.१ त ३५२५ र सुरेश साहको स.१ त ६९२१ नम्बरको ट्रयाक्टरमा माटो भर्न गाउँदेखि दक्षिण पूर्व पर्ने स्थानीय बाबुराम खोला किनार गएका यादवको शनिबार बिहान साढे ११ बजेतिर माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीका इञ्चार्ज प्रहरी नायव निरीक्षक चक्रबहादुर खत्रीका अनुसार शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको छ। प्रहरी नायव निरीक्षक खत्रीले बिहान करिब साढे ११ बजेतिर घटना भएपनि आफूहरूलाई एक घण्टापछि दिउँसो करिब साढे १२ बजेतिर खबर आएलगत्तै गाउँ पुगेको बताए।

गाउँ पुग्दा शव घटनास्थलबाट निकालेर आफन्तले धनगढीमाई १० जिरोमाइलस्थित महाबौद्ध हेल्थकेयर सेन्टर पुर्‍याएर मृत्यु भइसकेको अवस्थामा घरमा ल्याएको भेटिएको प्रहरी नायव निरीक्षक खत्रीले उल्लेख गरे।

आर्थिक समस्याका कारणले कही वर्षदेखि पढाई छोडेका मृतक यादवले चालु शैक्षिक शत्रमा कक्षा ८ मा नाम दर्ता गरी पढिरहेका थिए। शनिबारको छुट्टीमा पढाई खर्च जुटाउन ट्याक्टरमा माटो भर्न गएको हुन सक्ने स्थानीय महेश्वर श्रेष्ठले बताए। श्रेष्ठका अनुसार मृतक यादव धनगढीमाई नगरपालिका १२ स्थित तुलसी सत्यभामा डाटेल माविमा कक्षा १० मा अध्ययन गरिरहेको र यो वर्ष एसइई परीक्षा दिने तयारीमा थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.