|

मनाङ : अन्नपूर्ण पदमार्गमा आएका पर्यटक बीच बाटोबाटै फर्किन थालेका हुन्। यस वर्षको अत्यधिक हिमपातले सर्वसाधारणदेखि पर्यटकलाईसमेत असर गरेको हो।

लम्जुङको सदरमुकाम बेशीशहर हुँदै मनाङ जिल्लाको थोरङ्ला पास गरेर मुस्ताङको मुक्तिनाथ मन्दिर निस्कने र जोमसोम हुँदै पोखरासम्मको पैदल यात्रा मार्ग नै अन्नपूर्ण पैदलमार्ग हो। मनाङ जिल्ला भई जाने यस पदमार्ग विश्वकै प्रशिद्ध पदमार्गको रूपमा परिचित छ।

विशेष गरी लम्जुङ जिल्लाको बेशीसहरबाट सुरु गरिने यो पैदल मार्गमा मुस्ताङबाट पनि आन्तरिक तथा बाह्य पर्यटकहरू मनाङ जिल्ला हुँदै लम्जुङ आउने गर्छन्। तर, धेरैमात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरू लम्जुङको बेशिसहरबाट नै जाने गर्छन्।

यस पटक मनाङमा परेको भारी हिमपातका कारण मुस्ताङतिरबाट मनाङ आउने पर्यटक मुस्ताङ तिरबाटै फर्किएका छन् भने यता मनाङ जिल्ला हुँदै मुस्ताङ जाने पर्यटकहरू पनि मनाङबाट नै फर्किने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र पर्यटन सहायक आशिस विश्वकर्मले बताए। उनका अनुसार धारापानी चेकपोष्टबाट इन्ट्री भएर गएता पनि कोही पिसाङ, कोही हुम्डे र कोही भ्रताङबाट फर्किने गरेको छन्। हाल मनाङ जिल्लाको सदरमुकाम चामेसम्म सवारी साधन र पैदल यात्राबाट पर्यटकहरू आइपुगेता पनि माथिल्लो मनाङमा भने जान सकेका छैनन्।

 चामेभन्दा माथिका भेगहरूमा बाक्लो हिउँ जमेका कारण सवारी साधनसमेत जान नसकेको र पैदल यात्रा गरेर जाने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि जान नसकेपछि आन्तरिक तथा बाह्य पर्यटकहरू आफ्नो गन्तब्य पूरा नगरिकन 'नेक्स्ट टाइम' भन्दै फर्किन थालेका छन्।

कोरियन पर्यटक ल्याएका  गाइड  रामु अधिकारीले गन्तव्यमा पुग्न नसक्ने भएपछि बीच बाटोबाटै फर्किएको बताए। 'बल्ल-बल्ल पिसाङसम्म त पुग्यौँ तर, त्यसभन्दा माथि पर्यटकहरू जान नसकेपछि फर्कियौँ' उनले भने, 'बाटोमा जता टेके पनि चिप्लिएर लडेकै छ। माथिबाट ढुंगा खसेको खसेकै छ। ज्यान जोगाउनै गाह्रो। हिम पहिरो उतिकै। गन्तब्यमा पुग्न नसक्ने भएपछि सबै टिम लिएर पर्किएँ।

हिमपातको समयमा पनि पर्यटकहरूको आवगमनले निरन्तरता पाएको भएता पनि पहिलेको सिजनमा जस्तो पर्यटक नआएको धारापानी चेकपोस्टले बताएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्ष्ण कार्यालय मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाका अनुसार बाक्लो हिमपात भएकोले मनाङको थोरङगला पास गरी मुस्ताङ पुग्न नसकिने हुँदा पर्यटकहरू बीच बाटोबाटै फर्किन थालेका हुन्। भारी हिमपातका कारण मनाङ जिल्लाको अपर मनाङसम्म पनि पर्यटकहरू पुग्न धौ-धौ रहेको छ।

कति पर्यटकहरू मनाङका माथिल्ला भेगका होटलमै रोकिन परेको पनि होटल व्यवसायीहरूले बताए। उनीहरू मौसमको अनुकूलता मिलाएर फर्कने गरेका छन्। केही पर्यटक भने मनाङबाट फर्किएर पोखराको घोडेपानी, पुनहिल लगायतका ठाउँमा जाने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.