|

भद्रपुर (झापा) : झापा र इलामको सीमासँग जोडिएको चुरे क्षेत्र र नदी आसपासका क्षेत्रमा अवैध रुपमा गिट्टी र बालुवा उत्खनन् गर्नुका साथै क्रसर उद्योग सञ्चालन भइरहेका छन्। केही स्थानमा सञ्चालनको तयारी छ।

इलामसँग जोडिएको झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पर्ने चुरे क्षेत्रका नदी तथा खोलामा विकास निर्माणको नाममा गिट्टी र बालुवा उत्खनन् भइरहेको छ। इलामको चुरे क्षेत्र हुँदै आउने बिरिङ खोला झापा झर्दा अर्जुनधारा र बुद्धशान्तिलाई छुन्छ। झापामा १९ हजार १२४ दशमलब ६ हेक्टर भू–भाग चुरे क्षेत्र पर्छ। 

सरकारले चुरे क्षेत्रअन्तर्गतको भू–भागलाई वातावरण संरक्षण क्षेत्र घोषणा गरी राष्ट्रपति चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापन गर्न २० वर्षीय गुरूयोजना तयार पारिसकेको छ। सरकारले विकास समिति ऐन, २०१३ अन्तर्गत रहेर राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति (२०७१)गठन गरी वातावरण संरक्षण ऐन २०५३, बमोजिम पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्मको ३६ वटा जिल्लालाई वातावरण संरक्षण क्षेत्र घोषणा गरिसकेको छ।

यही योजनाअनुसार बिरिङखोला बग्ने पश्चिमतर्फ अर्जुनधारा–१ र पूर्वतर्फ बुद्धशान्ति–१ को करिब डेढ किलोमिटर क्षेत्रभित्र नदी÷खोलाजन्य सामग्री उत्खन्न नगर्न भनी निषेधित क्षेत्र तोकेको छ। तर, त्यसै क्षेत्रमा क्रसर उद्योग स्थापना गर्नुका साथै जेसिभी र स्काभेटर प्रयोग गरी खुलेआम गिट्टी र बालुवा उत्खनन् गर्ने काम भइरहेका छ।

जनप्रतिनिधिकै सिफारिसमा उद्योग

निषेधित क्षेत्रभित्रै विकास निर्माणको काम देखाउँदै जनप्रतिनिधिकै सिफारिसमा क्रसर उद्योग सञ्चालनमा रहेको पाइएको छ। जिल्ला अनुगमन तथा समन्वय समिति झापाले ती उद्योग बन्द गराएको छ।

बुद्धशान्ति–१ स्थित कुमार आशिष जेभीले सोही वडा १ र २ मा पर्ने गिदे, बिर्ता मुल पैनी निर्माण कार्यको ठेक्का लिएको छ। सिँचाइ विकास डिभिजन कार्यालय झापाबाट ठेक्का स्वीकृत गरेका कुमार आशिष जेभीले पैनी निर्माण कार्यको नाममा चुरे क्षेत्रभित्रै पर्ने बिरिङखोलाको बगरमा गिट्टी बालुवा चाल्ने तथा धुने वासिङ मेशिन (क्रसर) उद्योग सञ्चालनको तयारी गरेको छ।

८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको सो क्रसर उद्योगको निर्माण कार्य तत्काल बन्द गर्न जिल्ला अनुगमन तथा समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले निर्देशन दिएका छन्। यता निर्माण कम्पनीका फिल्ड प्रतिनिधि कमलप्रसाद पोखरेलका अनुसार बुद्धशान्ति–१ वडा कार्यालयको अनुमतिमा क्रसर उद्योग स्थापना गर्न लागेको बताए।

उद्योग सञ्चालनका लागि वडा अध्यक्ष भीमकुमार नेवारले अनुमती दिएका छन्। वडाध्यक्ष नेवारले स्थानीय निर्मलकुमार चापागाईँको जग्गामा क्रसर उद्योग सञ्चालनका लागि सिफारिस दिएका हुन्। सिफारिस पत्रको बोधार्थ वडा कार्यालयले बुद्धशान्ति गाउँपालिका र इलाका प्रहरी कार्यालय बुद्धशान्तिलाई पठाएको उल्लेख छ।

निर्माण कम्पनीले स्थानीय तहकै सिफारिसमा क्रसर उद्योग निषेधित क्षेत्रमा खोल्न लागेपछि बन्द गराएको जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए। ‘चुरे निषेधित क्षेत्रमा नदीजन्य सामग्रीको उत्खन्न गर्न पाइँदैन,’ उनले भने, ‘निषेधित क्षेत्रमै क्रसर राख्नु कानुनीको धज्जी उडाउनु हो, त्यसैले यस्ता गैरकानुनी गतिविधिलाई अनुगमन समितिले कडाइका साथ रोकथाम र नियन्त्रण गर्छ।’ 

चालक बेपत्ता, स्काभेटर बाँस झाडीमा 

चुरे निषेधित क्षेत्रमा गिट्टी, बालुवा, ढुंगा उत्खन्नका लागि प्रयोग गर्न राखिएको स्काभेटर बाँस झाडीमा लुकाएर राखिएको अनुगमन टोलीले फेला पारेको छ। अर्जुनधारा नगरपालिका– १ मातेगाउँ नजिकैको बाँस झाडीमा नम्बर प्लेट नभएको स्काभेटर लुकाएर राखिएको अवस्थामा भेटिएको जिल्ला अनुगमन तथा समन्वय समिति झापाका अध्यक्ष पोर्तेलले बताए। 

शनिवार बिरिङ खोला क्षेत्रमा अनुगमन टोली आएको खबर पाउन साथ चालकले स्काभेटर बाँस झाडीमा लुकाएर फरार भएका थिए। स्काभेटर लुकाएर राखेको ठाउँ नजिकै एउटा जेसिभी मेसिन पनि भेटिएको छ। खेतमै राखिएको को १ क १०२७ नम्बरको जेसिभीले नदी उत्खन्न गर्दै आइरहेको स्थानीयको दाबी छ।

स्काभेटर र जेसिभी कसले र कहिलेदेखि प्रयोगमा ल्याइएको भन्ने नखुलेको अनुगमन टोलीका एक सदस्यले बताए। स्काभेटर र जेसिभी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन्।
सशस्त्र प्रहरी बल हेक्वा २ गण नम्बर झापाका एसपी रमेशकुमार थाक्सुका अनुसार क्रसर उद्योग र स्काभेटरको कागजात नभेटिए पनि स्काभेटर धरानको व्यवसायीको भन्ने जानकारी आएको बताए। 

वडा सदस्यकै जेसिसी

नदीजन्य वस्तु उत्खननका लागि वडा सदस्यकै जेसिभी प्रयोग भएको खुलेको छ। अर्जुनधारा नगरपालिका–१ का वडा सदस्य माधव आचार्यको नाममा रहेको  बा २ क २९८६ नम्बरको जेसिभी बिरिङखोलामा बालुवा, गिट्टी उत्खन्न गरिरहेको भेटिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.