|

काठमाडौं : आख्यानकार मीनराज बसन्तद्वारा लिखित दोस्रो उपन्यास 'पिपिरी'को शनिबार कुञ्ज कुञ्ज थियटरमा सार्वजनिक भएको छ। कार्यक्रमको शुरुवात कवि हाँगयुग अज्ञातले पुस्तकमाथि आफ्नो धारणा राखेर राखे। कविले 'पिपिरी' उपन्यास एकै दिनमा पढिसकाएको भन्दै मीनराजले यस उपन्यास मार्फत आफ्नो छुट्टै छवि निर्माण खोजेको बताए। उहाँले नेपाली साहित्य र आख्यानको ईतिहास धेरै लामो नरहेको तर विश्व साहित्य र आख्यानको ईतिहास झण्डै एक हजार वर्ष पूरानो रहेको बताउँदै जापान र चीन जस्ता मुलुकले साहित्य र आख्यान लेख्न शुरु गरेको स्मरण गराए।

एशियाबाट नै आख्यान लेख्न शुरु भएकोमा गर्व गर्दै, कविले मानव सभ्यताको बारेमा कथाले बोल्ने बताए। मानिसको जीवन पनि कथा नै हो र यस्ता कथाहरु सुन्न, बुझ्न र पढ्न सबैलाई मन पर्छ। 'पिपिरी'मा एउटा बाल मनोविज्ञानले समाजलाई कसरी हेर्दछ भन्ने कुरा समेटिएको छ। कथा पढ्दै गर्दा हरेक पाठकले कथालाई आफ्नो अनुकुलतामा बुझ्ने भएकोले, कथाले यही कुरा बुझ्नुपर्छ भनेर सिकाउन सक्दैन।

'पिपिरी'ले आफ्नो मनलाई छोएजस्तै अन्य पाठकको मनलाई पनि छुने कुरामा विश्वस्त रहेको कुरा उनले बताए। तर पुस्तक लेखी सकाउनमा लेखकले अलि हतार गरेजस्तो लागेको र दोस्रो संस्करणमा प्रकाशकले पनि यो कुरामा मनन गर्नुपर्ने धारणा राखे। 
लोकार्पण कार्यक्रममा वक्ता सगुना शाहले 'पिपिरी' उपन्यास पढ्न शुरु गर्नु अगाडि 'पिपिरी'को अर्थ आफूलाई थाहा नभएको र लेखकलाई नै सोधेको भन्दै आफ्नो धारणा राखिन्।

आफू हुर्केको र यस उपन्यासको परिवेश भिन्न हुँदाहुँदै पनि वक्ताको रुपमा लेखकले आफूलाई किन छनौट गरेको होला भन्ने प्रश्न लेखकलाई सोधेपनि त्यसको उत्तर पुस्तक पढिसिध्याउँदा मात्र पाएको उनले बताइन्। पुस्तक पढ्न शुरु गर्दा 'पिपिरी' मीठो धुन मात्र होला भन्ने सोचेकी शाहले पुस्तकलाई 'करुण रसले भरिएको मीठो धुन'का रुपमा वर्णन गरिन्।

यो उपन्यास आमा र बालकको कथा हो र सबैभन्दा रोचक त के भने, पुस्तकमा पात्रहरुको नाम केवल दुई ठाउँमा मात्र लेखिएको हुँदा यो शैली उहाँलाई फरक लागेको उनले बताइ। पुस्तकमा सामान्य मानिसको सामान्य जीवनलाई उजागर गरिएको छ र पुस्तक पढ्दा हरेक मानिसले आफूलाई यसको कथाभित्र प्रतिबिम्बित गराउन सक्छन् भन्दै शाहले 'पिपिरी'लाई मीनराजको चिन्तनशील लेखनको नमूनाको रुपमा प्रष्ट्याइन्।

कार्यक्रममा अर्का वक्ता आख्यानकार तथा मदन पुरस्कार बिजेता लेखक अमर न्यौपानेले 'पिपिरी'लाई आख्यानको रुपमा व्याख्या गरे। सबै उपन्यास आख्यान हुन् तर सबै आख्यान उपन्यास होइनन् भन्दै न्यौपानेले यस पुस्तकलाई एकदम कम उपन्यासको रुपमा व्याख्या गरे। उनले यो एउटा आख्यानभित्र दुईवटा कथाहरु रहेका छन् र पुस्तक घटना र अनुभवको असाध्यै मीठो सँगालो रहेको बताए।

सगुना शाहले जस्तै न्यौपानेले पनि यस पुस्तकभित्र कैयौँपटक आफूले आफैँलाई प्रतिबिम्बित गर्न सकेको कुरा बताउँदै 'पिपिरी' एक आख्यानात्मक डायरी रहेको बताए। हाल नेपाली साहित्यमा आञ्चलिक, प्रादेशिक, स्थानिय लवजको प्रयोग भिन्न र मीठो ढंगबाट हुन थालेको हुँदा त्यस्ता लेखन पढ्दा पाठकलाई छुट्टै स्वादको मजा लिन सक्ने वातावरण बनेको भन्दै उनले लेखकलाई यो पुस्तकमा प्रयोग गरिएका स्थानिय लवज र गाउँले उक्तिहरुको उपयुक्त संयोजन रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.