|

धनगढी : कैलालीको गोदावरी नगरपालिका–८ मजगाउँका ३९ वर्षीय भरतविक्रम शाहको सबैभन्दा नजिकको साथी साइकल हो। उनी सबैभन्दा बढी समय आफ्नै साइकलसँग समय बिताउँछन्। उनको सामाजिक सञ्जाल पनि साइकलमय छ। तस्बिर साइकलको, स्टाटस साइकलकै र सेयर पनि तिनैसँग सम्बन्धित मात्रै। उनका समकक्षीहरू अहिले पनि बुलेट बाइकमा हुँइकिदा भरत भने आफ्नो सहयात्री साइकल नै हो भन्छन्।

‘मलाई पागल भन्थे’ उनले ती दिन सम्झँदै भने, ‘सबै मोटरसाइकल किन्न हत्ते गर्दा म भने भिन्न–भिन्न साइकल किन्न र त्यसैमा यात्रा गर्न रुचाउँथे।’ भरत अब साइकलबाटै आफ्नो भविष्य बनाउने योजनामा छन्। ‘सबैका आ-आफ्ना सोच र सोख हुन्छन्, मेरो साइकलसँग सम्बन्धित छ। यसैबाट म आफूलाई र मेरो राष्ट्रलाई चिनाउन चाहन्छु’ उनले रहर पोखे।

प्राण बचाउने साइकल

नेपालगन्जमा भएको प्रथम मेयर कपमा एक सय ९० जनालाई उछिने। ‘मलाई अतिथिको रूपमा बोलाइएको थियो तर, साइकल देखेपछि नचलाइरहन सकिन उनले भने, म प्रतिस्पर्धीका रूपमा सहभागी भइन तर, त्यो प्रतियोगितामा प्रथम भएका व्यक्तिलाई मैले ५ किलोमिटर पछाडि छोडेको थिए।’

सानैदेखि साइकलप्रति लगाव भए पनि उनी त्यति मरिहत्ते भने गर्थेनन्। १० वर्ष पहिले उनलाई प्यारालाइसिस भयो। वयस्क उमेरमा उठबस गर्नै नसक्ने भएपछि परिवार र आफन्त सबै चिन्तित भए। गरिखाने उमेरमा न गर्न न खान सक्ने भए भरत। चिकित्सकले पुरानो अवस्थामा फर्कन निकै कठिन रहेको बताए।
उनी र उनको परिवारमा भने भरत निको हुने झिनो आशा बाँकी नै थियो। ‘बैसाखी सहारा बन्ने बेला मेरो साइकल सहारा भयो। त्यहीमा बिस्तारै विस्तारै सवार हुन थाले भरत। असम्भव पनि सम्भव भयो। प्रसन्न हुँदै भरत भन्छन्- 'केही वर्षभित्रै म पहिले भन्दा बढी स्वस्थ र तन्दुरुस्त भए.’

साइकलले उनको ज्यान मात्रै बचाएन उनका लागि नाम र दाम कमाउने माध्यम पनि बन्यो। आफैले त्यो घटनाबाट जुधेका कारण भरत स्वास्थ्यका लागि साइकल सबै भन्दा उत्तम भएको बताउँछन्। उनी भन्छन्, ‘हामी रोगी भयौँ भने उपचार सुरु गर्छौँ तर, रोग नै लाग्न नदिन केही गर्दैनौँ हाम्रै दिनचर्या र दैनिकीमा केही सुधार ल्याउन सके रोगबाट टाढा रहन सकिँदो रहेछ।’ 

साइकल मोह

सन् २०१७ मा ‘काठमाडौँ कोरा साइकल च्यालेन्ज’ मा भरत सहभागी भए। संसारका उत्कृष्ट साइकलिस्टहरूसँग एक सय किलोमिटर साइकल नचलाएका भरतले यसैलाई आफ्नो गन्तव्य बनाउने सोचे। उनले भने, ‘त्यो नै मेरो पहिलो ठुलो कदम थियो।’ स्थानीय क्षेत्रमा सामान्य रूपमा साइकल चलाइरहने भरत त्यही बेलादेखि यसैमा समर्पित भएका हुन्।

त्यसपछि २०१८ मा हेटौँडामा ७५ किलोमिटर साइकल चलाए। त्यो बेला उनले पहाडी क्षेत्रमा साइकल चलाएका थिए। नेपालगन्जमा भएको प्रथम मेयर कपमा एक सय ९० जनालाई उछिने। ‘मलाई अतिथिको रूपमा बोलाइएको थियो तर, साइकल देखेपछि नचलाइरहन सकिन उनले भने, म प्रतिस्पर्धीका रूपमा सहभागी भइन तर, त्यो प्रतियोगितामा प्रथम भएका व्यक्तिलाई मैले ५ किलोमिटर पछाडि छोडेको थिए।’

नेपालगन्जबाट कोहलपुर हुँदै फेरि त्यहीँ पुग्नेगरी ३७ किलोमिटरको साइकल यात्रा सुरु गरिएको थियो। भरतले त्योभन्दा पहिले सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा साइकल पुर्‍याएका थिए। स्थानीय विवेश शर्मा र खगेन्द्रसिंह धामीसँग उनले खप्तडमा पहिलो पटक साइकल पुर्‍याएका हुन्। धनगढीबाट खप्तडको दूरी तीन सय किलोमिटर छ। उनीहरू चार दिनमा खप्तड पुगेका थिए।

मसिंर १ गते उनी आफ्नै घरबाट साइकलमा डोटीको बडिकेदार गाउँपालिकास्थित बडिकेदार धामको दर्शन गर्न पुगे। उनी भन्छन्, ‘म पहिलोपटक २ हजार ९ सय फिटको उचाइमा साइकलबाट पुगे। त्यहाँ पुग्न मलाई ४ दिन लाग्यो।’ कैलालीको अत्तरियादेखि बडिकेदारको दूरी १३० किलोमिटर छ। दुरी धेरै नभए पनि भौगोलिक विकटताले त्यहाँसम्म पुग्न सहज छैन। चार दिनमा खप्तड पुगेका उनी संसारको सबैभन्दा सुन्दर ठाउँमा पुगेको जस्तो लागेको बताउँछन्। निकै कठिन यात्रा गरेर खप्तड पुगेका उनले त्यहाँ पुगेपछि स्वर्गको भूमि पुगेको आभास गरेको बताए।

त्यसपछि उनी डोटीको विपिनगरबाट गड्सेरा हुँदै जोरायल बुडर पुगेका थिए। त्यसलगत्तै उनी डडेलधुरा पुगे। उनले भने- ‘रावलतोली गुफा, घटाल बाबा, अमरगढी किल्ला, सबै ठाउँमा साइकल पुर्‍याएको छु। साइकलमा धार्मिक क्षेत्रमा पुग्नुको मज्जा नै बेग्लै हुँदो रहेछ।’

उनी तीर्थराज अवस्थी र युधीर गुरुङसँग डडेलधुराको आलितालसम्म साइकलमा पुगे। आफ्नो साइकल यात्रा सम्झँदै उनी भन्छन्‘ खप्तडमा कहिल्यै साइकल पुगेको थिएन। हामीले पहिलो पटक पुर्‍यायौँ। बडिकेदारसम्म अझै धेरै वर्ष अरूले साइकल पुर्‍याउने सोच पनि गर्दैनन् जस्तो लाग्छ। सारै जोखिम छ। ५ घण्टा ठाडो उकालो छ। हिँड्न नै कठिन छ। त्यसैमाथि साइकल बोकेर हिँड्नु कहाँ सजिलो छ र।'

उनलाई अब बाजुराको बडिमालिका पुग्ने रहर छ। ‘७ दिनसम्म साइकल चलाएर बाजुरा पुगिन्छन्’ उनले भने, ‘त्यहाँबाट साइकल बोकेर ४ दिनभित्रै बडिमालिका पुग्ने रहर छ।’

पर्यटन प्रवर्द्धनमा साइकलको साथ 

अहिले सुदूरपश्चिम प्रदेशमा साइकलको माध्यमबाट पर्यटन प्रवर्द्धनका प्रयासहरू भइरहेका छन्। सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुदूरपश्चिम साइकल यात्रा २०७५’ आयोजना हुने भएको छ। फागुन २३ देखि २५ गतेसम्म ‘टुर दि फारवेष्ट २०७५’ नाम दिइएको साइकल यात्रामा विश्व साइकल यात्री पुष्कर शाहलगायतका देशभरिबाट उत्कृष्ट ४० जना साइकल यात्रीले सहभागिता जनाउने छन्।

फागुन २३ गतेबाट सुरु हुने अभियान २५ गते सकिने छ। यो अभियानमा सहभागीहरूलाई कैलाली र कञ्चनपुरका पर्यटकीय क्षेत्रसम्म पुर्‍याइने छ। ‘टुर दी फारवेष्ट २०७५’ युथ स्पोर्टस् क्लब धनगढीले आयोजना गर्न लागेको हो। भरत त्यसका सदस्य हुन्। उनी साइकलको माध्यमबाट सुदूरपश्चिमलाई चिनाउन सकिने बताउँछन्। उनी भन्छन्, ‘यहाँका मठ मन्दिरसम्म पुग्ने सबैभन्दा गतिलो साधन साइकल नै हो। यसको माध्यमबाट तीर्थयात्री बढाउन सकिन्छ।’ सुदूरका ठुला तीर्थस्थलसम्म ठुला साधन जान नसक्ने हुँदा यसको गतिलो माध्यम साइकल बन्न सक्ने भरतको विश्वास छ। 

‘अहिले पनि देशमा विभिन्न क्षेत्रबाट साइकल टुरको माग बढिरहेको छ। तर, यहाँ त्यसको पूर्ण व्यवस्थापन हुन सकिरहेको छैन’ उनी भन्छन्, ‘सबै निकायका सहयोग भए सुदूरपश्चिम प्रदेश साइक्लिङको लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ। भगवानको दर्शन पनि गर्न मिल्ने एडभेन्चर पनि हुने सुदूरका सबै मन्दिरमा पुग्ने हो भने दुवै फाइदा लिन सकिन्छ।’

पहिलो चरणमा देशभित्र प्रदेश चिनाउने र त्यसपछि परदेशमा देश चिनाउने भरतको लक्ष्य छ। आगामी योजनाबारे बताउँदै भरतले भने, ‘सुदूरपश्चिम प्रदेशको सबै जिल्ला र ठाउँमा पुग्छु। १५–२० दिन लगाएर साइकलमै सुदूरपश्चिम भ्रमण गर्ने हो भने पुरै देश घुमेको भन्दा बढी आनन्द आउँछ।’

व्यवसायिक रूपमा सुदूरपश्चिममा साइकल रुट छैन। कतिपय रुटको पहिचान भरतले गरिसकेका छन्। यसबारे सरकारी निकायबाट कुनै पहलकदमी भएकै छैन। भरत भने रुट पहिचानको कामलाई निरन्तरता दिने योजनामा छन्।

कैलालीको अत्तरिया हुँदै डोटीको बुडर बाट डडेलधुराको परशुराम हुँदै कञ्चनपुरको बेटकोट, दैजी र त्यहाँबाट पुनः कैलालीको अत्तरिया पुग्न सकिने उनले पहिचान गरेको रुट हो। ३ दिनको लागि यो सबैभन्दा उत्तम रुट हुने भरतको ठम्याइ छ। यसको दूरी करिव १९० किलोमिटर छ। उनी भन्छन्- 'यसलाई अन्तर्राष्ट्रिय रुट बनाउन सके सबैभन्दा सुन्दर र एडभेन्चर हुन्छ।’

भतरले विश्व साइकल यात्री पुष्कर शाहसँगको भेटमा सुदूरपश्चिममा साइकल पर्यटन विकासका लागि पहल गर्न आग्रह गरेका थिए। पोखरामा हुने ‘विश्व साइकल सम्मेलन २०२०’को समापन पछि त्यहाँ सहभागीमध्ये केही स्वदेशी र केही विदेशी साइकल यात्रीलाई सुदूरपश्चिम ल्याउन पहल गर्ने उनले बताए। 

अन्तर्राष्ट्रिय खेलाडी जन्माउने धोको 

माउण्टेन बाइकर नारायण गोपाल महर्जनको श्रीलङ्कामा निधन भएपछि नेपालले ठुलो क्षति व्यहोर्नु परेको छ। जेठ ३० गते ‘रम्बल इन जङ्गल’ मा सहभागी महर्जनको महाबेली नदीमा खसेर निधन भएको थियो। ३३ वर्षीय महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई १४ स्वर्ण, १३ रजत र १२ कास्य पदक जितेका थिए। 

फेरि पनि त्यस्ता खेलाडी उत्पादनमा सरकारले चासो दिएन भने अन्तर्राष्ट्रिय साहसिक प्रतियोगितामा नेपालको सहभागिता शून्य हुने भरत बताउँछन्। उनी सुदूरपश्चिमबाट पनि त्यस्ता खेलाडी उत्पादन गर्न सकिनेमा विश्वस्त छन्। ‘समय लाग्ला तर, त्यो सम्भव छ ’ उनले भने ‘सरोकारवाला निकायहरू गम्भीर भए रमाउने र कमाउने साइकल यात्रीहरू थुप्रै जन्माउन सकिन्छ।’

भरतको बुझाइमा 'एडभेन्चर्स' र 'एक्स्पेन्सिभ' भएकाले धेरैलाई यो क्षेत्रमा रुचि भने छैन। तर, थोरै भए पनि चासो देखाउनेहरू छन्। तिनीहरूलाई सिकाएर खेलाडीको रुपमा विकास गर्न सकिने उनले बताए। भरतको विश्वास छ- 'खेलाडीका लागि साइकल र अन्य लजिस्टकमा सहयोग भए अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सकिन्छ।'

यो क्षेत्र अलि खर्चिलो पनि छ। एउटा साइकलको मूल्य ५० हजारदेखि ६ लाख रुपैयाँसम्म पर्छ। भरतको आग्रह छ- 'अन्य खेलमा जस्तै साइकलमा पनि सरकारले लगानी बढाओस्। निजी क्षेत्र पनि यसतर्फ आकर्षित हुनुस्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.