|

काठमाडौं : भगवान शिवको विशेष पूजा आरधनासहित आज शिवरात्रि मनाइँदै छ। यस दिन शिवका भक्तहरूले भगवान शिवको प्रसाद भन्दै गाँजा, भाङ तान्ने गर्दछन्।

कानुनले गाँजा सेवनलाई अवैध माने पनि शिवरात्रिका दिन भगवान शिवको प्रसादको रूपमा गाँजा सेवन गर्ने चलन छ। गाँजा सेवन गर्नेमा साधु सन्तदेखि सर्वसाधारण पर्छन्। नशालु पदार्थ भाङ, गाँजा धेरै सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन। धेरै सेवन गरे स्मरण क्षमता कम हुने मात्र हैन मस्तिष्कमा समेत गम्भीर असर गर्ने चिकित्सकहरु बताउँछन्।

गाँजा, भाङमा ६० भन्दा धेरै प्रकारका क्यानाबिनोइड हुने गर्दछन्। गाँजा सेवन गर्दा यस्ता रसायनहरू हाम्रो मस्तिष्कमा पुग्ने हुँदा यसले हाम्रो शरीरलाई नै असर पुर्‍याउने गर्छ।

 किन एकोहोरो हुन्छन्?

गाँजा, भाङजस्तो पदार्थ सेवनपछि मानिसले एक किसिमको अनौठो व्यवहार देखाउँछन्। त्यसैले गाँजा सेवनपछि कोही हाँसेको हाँस्यै गर्छन् भने कोही रोएको रोयै। चिकित्सकीय भाषामा यसलाई युफोरिया भन्ने गरिन्छ। नियमित गाँजा सेवनको शरीर लठ्ठ हुने गर्छ भने कहिले काहीँ मात्र सेवनलाई विनाकारण नै रमाइलो लाग्ने हुँदा मानिसहरू हाँसिरहने रहने गर्छन्। कोही भने विनाकारण रुने गर्छन्।  

तर धेरै गाँजा सेवन गर्नेहरूलाई अत्यधिक बान्ता हुने, टाउको दुख्ने हुने हुँदा मानिसलाई नकारात्मक असरसमेत गर्ने गर्छ।  यस्तै,

गाँजामा हुने क्यानाबिनोइड र टोफानिन् नामक तत्त्वले मस्तिष्कमा असर गर्छ। जसले निद्रा, भोक, प्यासमा पनि असर गर्ने हुँदा गाँजा सेवनपछि मानिसलाई निद्रा लाग्ने, कसैकसैलाई अत्यधिक भोक लाग्ने गर्छ।

गाँजाको प्रभाव प्राय: सेवन गरेको तीन मिनेटदेखि सुरु हुने गर्छ भई ३० मिनेटभित्र प्रभाव चरम विन्दुमा पुग्ने गर्छ।

क्यानाबिनोइड र टोफानिन् तत्वले यही बेलामा मानिस हाँसिरहने वा लठ्ठ हुने गर्दछ। तर गाँजाको प्रभाव सबै मानिसमा एकै समयमा हुन्छ भन्ने हुँदैन। मानिसको शारीरिक अवस्थाका कारण यसको प्रभाव फरकफरक समयमा हुने गर्दछ। यसबाहेक गाँजा सेवनले मुटुको चाल बिगार्ने, रक्तचाप बढाउने हुँदा हृदयाघातसम्म गराउन सक्छ। तर गाँजामा हुने क्यानाबिनोइड तत्त्वलाई चिकित्सकहरूले औषधि उपचारका रूपमा पनि प्रयोग गर्ने गर्दछन्।

गाँजा र भाङको असर कसैकसैलाई दीर्घकालीनरुपमा पनि देखिने गर्छ। नियमित गाँजा सेवन गरे कान नसुन्ने , हातखुट्टा झम्झमाउने, धेरै टाउको दुख्नेलगायतका समस्या देखा पर्छ।

विशेषगरी क्यान्सरका बिरामीहरूलाई गाँजामा हुने क्यानाबिनोइड तत्त्वबाट बनेको औषधि दिने गरिन्छ। यसले शरीलाई लट्ठ बनाउने भएकाले दुखाइ कम गर्न अन्तिम स्टेजमा पुगेका क्यान्सरका बिरामीहरूलाई यस्तो औषधि प्रयोग गरिने  गरिन्छ। यस्तै क्यानाबिनोइड तत्त्वबाट बनेको औषधि प्रयोग गर्नाले खुसी अनुभव गराउने, आनन्द महसुस गराउने, तनाव घटाउने, निद्रा लगाउने, भोक लगाउने हुँदा यस्तो औषधि बिरामीलाई दिने गरिन्छ।

 गाउँघरतिर अझै पनि पशुमा अजीर्ण भएमा वा कोही मानिसलाई खानाका कारण पेटमा समस्या देखिएमा पनि गाँजा खुवाउने गरिन्छ। २०३३ सालसम्म नेपालमा गाँजा अवैध मानिँदैनथ्यो। अमेरिकाका कतिपय राज्यमा प्रतिबन्धित गाँजा हाल खुला गरिँदै छ। युरोपमा पनि यसलाई केही मात्रामा खुला गरिँदैछ। 0

(यो सामग्री शिक्षण अस्पतालका मानसिक विभागका प्रमुख बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. सरोजराज ओझासँगको कुराकानीको आधारमा तयार पारिएको हो।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.