|

काठमाडौं : वासु शशी स्मृति परिषद्को २५ औं रजत जयन्ती अवसरमा पाँच अग्रज स्रष्टाहरूलाई सम्मान प्रदान गर्ने भएको छ। परिषद्को निर्णय अनुसार वरिष्ठ साहित्यकारहरू श्रीधर खनाल, ज्ञान उदास, भागीरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थरलाई 'वासु शशी साहित्य सम्मान-२०७५' प्रदान गर्ने भएको छ।

साहित्यकार खनाल विगत छ दशकदेखि नेपाली भाषा साहित्यक्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। उनको उपन्यास, हास्यव्यङ्ग, चलचित्र र टेलिपिल्मका कथा, केही साप्ताहिक पत्रिका सम्पादनसहित दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्। उनी 'भैरव अर्याल पुरस्कार', 'वासुदेव लुईटेल पुरस्कार', 'त्रिनेत्र सम्मान'–सिक्किम, 'गोरखादक्षिणबाहु चौथो', 'शुभराज्यभिषेक पदक', चलचित्र कलाकार संघबाट कदरपत्रलगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भएका छन्।

साहित्यकार उदास विगत पाँच दशकदेखि नेपाली भाषा साहित्यक्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आएका छन्। उनका कविता, गीत, गजल, मुक्तक, वाल कथासङ्ग्रह, साहित्यकार–कलाकारहरूको हस्ताक्षर र केही साप्ताहिक पत्रिका सम्पादन सहित दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्। उनी 'नेपाली साहित्य संस्थान स्वर्ण पदक', 'केदारमान व्यथित राष्ट्रिय प्रतिभा पुरस्कार', 'नवक्षितिज वाणी साहित्य पुरस्कार', 'महाकवि देवकोटा शताब्दी सम्मान', 'वनिता साहित्य सेवा सम्मान' लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भएका छन्।

साहित्यकार भागीरथी श्रेष्ठ विगत पाँच दशकदेखि नेपाली भाषा साहित्यक्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आएका छन्। उनका कथा, उपन्यास, लघुकथा, र केही साहित्यिक पत्रिका सम्पादनसहित डेढ दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्। उनी 'लुम्बिनी अञ्चलस्तरिय गद्यतर्फ प्रथम भई स्वर्ण पदक', 'रत्नश्री स्वर्ण पदक', सर्वोत्कृष्ट कथाकार (टेलिफिल्म, प्रतियोगिता), मैनाली कथा पुरस्कार, प्रतिभा पुरस्कार, नुरगङ्गा साहित्य पुरस्कार, दायित्व वाङ्गमय पुरस्कार, पाल्पा वाङ्गमय सम्मान लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भएकी छन्।

वाल साहित्यकार प्रधान विगत पाँच दशकदेखि नेपाली भाषा साहित्यक्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएकी छन्। उनको वालकथा, कविता, उपन्यास, कथासहित दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्। उनी 'नुरगंगा प्रतिभा सम्मान', 'रत्न वालकोष साहित्य पुरस्कार', 'वालसाहित्य समाज पुरस्कार', 'समाज कल्याण वाल पुरस्कार', 'शव्दयात्रा वाल पुरस्कार', 'अस्वीकृत वाल साहित्य पुरस्कार' लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भएकी छन्।

साहित्यकार श्रेष्ठ प्रिया विगत तीन दशकदेखि नेपाली भाषा साहित्यक्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएकी छन्। उनका कविता, गजल, उपन्यास, र केही साहित्यिक पत्रिका सम्पादनसहित एक दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्। उनका 'राष्ट्रिय प्रतिभा पुरस्कार', 'रामराज पन्त स्मृति पुरस्कार', 'सुदूर पश्चिमाञ्चल साहित्य सम्मान', 'केवलपुरे जनमत साहित्य सम्मान', 'साहित्य श्री मानद अलङ्करण सम्मान'–(हिन्दी साहित्य परिषद) लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भएकी छन्।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले साहित्यकार खनाल, उदास, श्रेष्ठ, प्रधान, पत्थरलाई सर्वसम्मतिले सम्मान दिने निणर्य गर्‍यो। उक्त सम्मान वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८३ औं जन्मजयन्तीको अवसरमा आगामी चैत्र १२ गते प्रदान गरिने परिषद्का सचिव प्रद्युम्न जोशीले बताए। सम्मानको राशी दश हजार रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.