|

गोरखा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको रक्षा गर्नुपर्ने बताएका छन। गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकमा शहीद सप्ताहको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले सरकारमा बस्नेले विकास निर्माणका कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने र सरकार बाहिर रहेका नेता कार्यकर्ताले सरकारको कामलाई जनतासम्म पुर्‍याउन प्रतिबद्ध भएर लाग्नुपर्ने बताए।

सरकारको नेतृत्वमा पुगेर पार्टी परिचालन गर्ने काम प्रभावकारी हुन नसके जनतासँगको सम्बन्ध टुट्न सक्ने भन्दै श्रेष्ठले सरकार, पाटी र जनतालाई सँगसँगै जोडर अघि बढ्नुपर्नेमा जोड दिए। ‘पार्टीले आवश्यकताअनुसार कार्ययोजना बनाएर जनतासँग जोडिरहनुपर्छ’, प्रवक्ता श्रेष्ठले भने, ’सरकारको तर्फबाट के आयो त्यसको रक्षा गर्ने, प्रचारप्रसार गर्ने र भ्रष्टाचार हुन नदिने काम आम कार्यकर्ताको पनि हो।‘

विकास निर्माणका काममा सरकारसँग मागपत्र बुझाउने, योजना निर्माण गरी तल्लो तहसम्म पुर्‍याउने काममा पनि पार्टीका सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा उनले जोड दिए। सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पठाएको बजेट सही ठाउँमा खर्च भएको छ कि छैन त्यसको अनुगमन गरी सचेत गराउने कार्य सबै नागरिकको कर्तव्य हुने उनको भनाइ छ।

नेपाली जनताको भाग्य र भविश्य निर्माण गर्ने काम वर्तमान सरकारले मात्र पूरा गर्न सक्ने बताउँदै श्रेष्ठले अहिले गरेर देखाउनसके कम्युनिस्टले मात्रै साच्चै विकास गर्नसक्ने रहेछन् भन्ने प्रमाणित हुने उल्लेख गरे। ‘अहिले सरकारले बढी नै मेहनत गर्नु आवश्यक छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अनिमात्र सामाजिक न्यायसहितको समाजवादको लक्ष्य प्राप्त गर्न सजिलो हुन्छ।‘

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.