|

हिन्दु धर्मको बहुलता रहेको विभिन्न जाति र भाषाभाषीको बसोबास रहेको नेपालमा हरेक दिनजसो कुनै न कुनै पर्वहरू परिरहेका हुन्छन्। किन मनाइन्छ त चाडपर्व? चाडपर्वका सामाजिक, धार्मिक, सांस्कृतिक र मानव स्वास्थ्य रक्षाका दृष्टिले हेर्न सकिन्छ।

सामाजिक महत्त्व

चाडपर्व पारिवारिक वा सामाजिक सम्बन्धलाई मजवुत पार्ने तथा नविकरण गर्ने सेतु हो। यस्तै जीवनरूपी उकालीओरालीको बीच आउने चौतारी हुन् चाडपर्व। उकाली चढ्दा वा ओराली झर्दा लागेको थकाइ मेट्न चौतारी सहायक भएजस्तै मानिसको व्यस्तताबीच आउने चाडपर्वले चौतारीकै काम गर्छन्। चाडपर्वका अवसरमा घरका सदस्य वा आफन्त एकै ठाउँमा भेला हुने खानपान, मनोरञ्जन गर्दै सुखदुःख बाँड्ने चलन छ। 

वर्ष दिनसम्म टाढा रहे पनि दशैँमा घर जाने बाबुआमा वा मान्यजनको आशीर्वाद थाप्नेजस्ता कार्य नेपालीहरूको वर्षौँदेखिको परम्परा हो। तिहारलाई बिहाबारी गरेर टाढा भएका दिदीबहिनी र दाजुभाइबीच मिलन हुने आत्मीयता बढ्ने पर्व मानिन्छ। दशैँतिहारलाई वर्ष दिनसम्म नभेटिएका साथीसंगी इष्टमित्र भेट्ने अवसर मानिन्छ। शहरिएका र परदेशिएकाहरू जम्मा हुने र आफूले पाएका ज्ञान बाँड्ने, सामाजिक कार्यमा उपस्थित हुने र सकेको सहयोग गर्ने कार्यले समाज जोड्ने सूत्रलाई कसिलो पारेको हुन्छ।

अझ काठमाडौंलगायतका स्थानमा चाडपर्वका अवसरमा निकालिने जात्रा, नाच त समाजका विभिन्न तह र तप्काका व्यक्तिहरूको एकताविना त कल्पनै गर्न सकिन्न। पेशा व्यवसायमा तल्लीन भइरहँदा निरस भएको मानव जीवनलाई चाडपर्वमा हुने आफन्त भेटघाट, खानपान, मनोरञ्जन आदिले पुनर्ताजगी दिन मद्दत गर्छन्।

धार्मिक महत्त्व

हामीले मनाउने अधिकांश चाडपर्वसँग धार्मिक मान्यताहरू जोडिएका रहेका  पाइन्छन्। दशैं, तिहार, इद, बुद्धपूर्णिमालगायतका पर्वहरूसँग आ–आफ्नै धर्मका मान्यताहरू जोडिएका हुन्छन्। दशैँमा मातृशक्ति भगवतीको आराधना गर्ने सन्दर्भ जोडिएको छ। यसैगरी यमपञ्चक भनिने तिहारमा मृत्युदेव यमराज, चतुर्मासमा भगवान् विष्णु, शिवरारात्रिमा भगवान् शिव, कृष्णाष्टमीमा भगवान् कृष्ण, रामनवमीमा भगवान् राम, बुद्धपूर्णिमामा गौतम बुद्ध लगायतको पूजा आराधना वा ती देवताहरूको गुणस्मरण गर्ने परम्परा छ। अत्यन्त व्यस्त रहने अरुबेला धार्मिक कार्यमा संलग्न हुन नपाउने कारणले यसबेला शारीरिक र मानसिक शुद्धता कायम गरी आध्यात्मिक शान्तिको बाटो खोज्ने गरिन्छ। घरैमा पूजा आराधना ध्यान आदि गरेर होस् या विभिन्न तीर्थस्थल, शक्तिपीठ लगायतको यात्रा, दर्शन गरेर होस्। चाडपर्वहरूले धार्मिकतातिर मात्र नभई आध्यात्मिकताको बाटोतर्फ समेत उन्मुख गराउँछन्।

सांस्कृतिक महत्त्व

चाडपर्वमा आउने विभिन्न सन्दर्भहरू अर्को समुदायका वा विश्वकै लागि अनौठो र आकर्षणको केन्द्र बन्ने गर्दछन्। दशैँमा लगाइने टीका जमरा वा खेलिने पिङको संस्कृति हुन् वा तिहारमा लगाइने सप्तरंगी टीका र कहिल्यै नओइलाउने मखमली फूलको माला यी संस्कृति विदेशीहरूका लागि आकर्षणको विषय बन्ने गरेका छन्। नेवारहरूले मनाउने बिस्केट जात्रा जिब्रो छेड्ने जात्रा वा भक्तपुरको ठिमीमै बैशाख २ गते मनाउने सिन्दुरे जात्रा वा टोलका सबैभन्दा कान्छा सदस्यको प्रतिनिधित्वमा निक्लिने काठमाडौंको खड्ग जात्रा होस् अन्य समुदाय वा संस्कृतिका लागि नौलो हुने गर्दछ। हाम्रा कतिपय चाडपर्व र संस्कृतिहरू विश्व समुदायका लागि आकर्षणको विषय बन्ने गरेका छन्।

स्वास्थको दृष्किोणबाट

चाडपर्वलाई मानव स्वास्थ्य र वातावरणका दृष्टिले पनि हेर्न सकिन्छ।  चाडपर्वका बेला घरकोठा र शरीरको पनि शुद्धि गर्ने चलन छ। यो पक्ष धर्मसँग पनि जोडिएको छ। दशैँअगाडि घर पोत्ने वा सरसफाइ गर्ने, फोहोर ठाउँमा लक्ष्मीको बास हुन्न भन्ने मान्यताअनुरूप सरसरफाइ गर्ने परम्परामा धार्मिक भावनासँगै स्वास्थप्रति सचेत भएको मान्न सकिन्छ। साउने संक्रान्तिका दिन लुतो फाल्नेलगायतका सन्दर्भ पनि स्वास्थ्यसँग जोडिएका छन्।

चतुर्मासको सुरुवातमा  तुलसी रोप्ने संस्कृति पनि स्वास्थ्यमैत्री देखिन्छ। कुन चाडपर्वका बेला के खाए स्वास्थ्य रक्षा हुन्छ भन्ने आधुनिक विज्ञानको प्रादुर्भाव हुनुभन्दा धेरै अगाडि पत्ता लागिसकेको थियो। माघेसंक्रान्तिमा घ्यु चाकु खाएर शरीरलाई ताप प्रदान गर्ने गर्मीको मध्यमा पर्ने अक्षयतृतीयामा सर्वत सातु खाएर शीतलता प्राप्त गर्ने, खेतीपातीका क्रममा लागेको सर्दी भगाउन जनैपूर्णिमाका दिन क्वाँटी खाने परम्परा स्वास्थ्यका दृष्टिले पनि अनुकूल नै देखिन्छन्।

प्रकृतिसँगको निकटता

प्रकृति वा यस वातावरणमा पाइने जीवजन्तुमैत्री बनाउन पनि चाडपर्वहरूले ठूलो भूमिका खेलेका हुन्छन्। साउनमा पर्ने नागपञ्चमीमा गरिने सर्प नाग आदि विषालु जीवको पूजा होस् या तिहारमा गरिने काग कुकुर, गाई गोरुको पूजा होस् यिनले हाम्रै वातावरणमा रहेका जीवजन्तुको पहिचान एवं संरक्षण गरी तिनबाट फाइदा लिन प्रेरित गरिरहेका हुन्छन्। नागपञ्चमीमै गरिने पानीको मुहानको पूजा होस् या तिहारमा गरिने गोबर्धनपूजा यिनले प्रकृतिको संरक्षण गर्न निर्देश गरिरहेका हुन्छन्। दशैंमा फूलपातीको रूपमा प्रयोग हुने वनस्पतिको पूजाले पनि तिनको महत्त्वबारे बुझ्न र तिनको संरक्षण गर्न प्रेरित गरिरहेका हुन्छन्।

चाडपर्व र समय

नेपाली चाडपर्व सौर र चान्द्र गरी दुई प्रकार चल्ने गर्दछन्। चान्द्रमानको पात्रो चैत्रशुक्ल प्रतिपदामा सुरु हुन्छ भने सौरमानको पात्रोको सुरुआत वैशाखबाट हुने गर्दछ। सनातन मान्यताअनुसार धार्मिक कार्य गर्दा सौरमानसापेक्ष चान्द्रमान पात्रोअनुसार गर्नुपर्दछ। यसो भनिए पनि व्यावहारिक रूपमा धेरैजसो चाडपर्वहरू चान्द्रमान अनुसार मनाइन्छन्। यसैगरी केही चाडपर्व सौरमानअनुसारको पात्रोअनुसार चल्ने गर्दछन्।

अर्वाचीन ज्योतिषअनुसार तिथिमा हुने घटबढका कारण सौर र चान्द्रमानको मेल नखान सक्छ। अक्षय तृतीया, जनैपूर्णिमा, दशैं तिहार लगायतका चाडपर्व चान्द्रमानअनुसार चल्ने गर्दछन् भने  संक्रान्ति र बारबाट आउने चाडपर्व सौरमानअनुसार चल्ने गर्दछ। वैशाख, साउन लगायतका संक्रान्ति, साउनको सोमबार, पुसको आइतबार, माघको मंगलबार, असार पन्ध्र, साउन १५ जस्ता चाडपर्वहरू सौरमानअनुसार चल्ने गर्दछन्।   

चाडपर्वका प्रकृति

श्रावणशुक्ल पूर्णिमाका दिन पर्ने रक्षाबन्धन अर्थात् जनैपूर्णिमा वैदिक परम्परा अनुसार उपाकर्म भनिन्छ। प्रत्येक पूर्णिमामा देवताको उद्देश्य गरी गरिने कार्य र औंशीमा पर्ने पितृकार्य वैदिक स्वरूपका पर्व हुन्। यी बेला गरिने धार्मिक कृत्यहरू कर्तव्यका लागि हुने गर्दैछन् अर्थात् आफूलाई सनातन धर्मावलम्बी हुँ भन्ने अनिवार्य रूपमा गर्नैपर्ने हुन्छ। यी कार्यहरू कुनै कामना राखेर भन्दा पनि कर्तव्यपालना देवऋण, ऋषिऋण पितृऋण तिर्ने उद्देश्यका साथ गरिन्छन्। पौराणिक मान्यताअनुसार दशैँ, तिहार, शिवरात्रि, रामनवमी, कृष्णष्टमी, एकादशी माघेसंक्रान्ति आदि रहेका पाइन्छन्।

यी चाडपर्व पुराणका आधारमा मनाइने र यी चाडपर्वहरूमा पुराणले बताएअनुसारका कर्म गर्नाले मनोकामना सिद्ध हुने विश्वास गरिन्छ। यी चाडपर्वहरू विशेष कामना लिएर व्रततीर्थ आदि गरेर मनाउने चलन छ। परिवारको सुख समृद्धि, विद्या–बुद्धि र सम्पत्ति लगायतका भौतिक प्राप्ति तथा आध्यात्मिक शान्तिको कामना गर्दै चाडपर्वसँग सम्बन्धित देवीदेवताको आराधना गर्ने परम्परा रहेको छ।

लौकिक चाडपर्वहरू लोकविश्वास अनुसार चलेका हुन्छन्। साउने संक्रान्तिमा लुतो फ्याँक्ने, असार १५ मा दही च्युरा खाने, साउनमा खीर खाने जस्ता चाडपर्व यिनै लोकविश्वासमा आधारित छन्। साउनमा लुतो फ्ँयाक्ने विधान शास्त्रमा पाइदैन। यसैगरी नेवारी परम्पराअनुसार चलेका जात्रामात्राहरू विभिन्न किंवदन्तीलाई आधार मानेर चलेका हुन्छन्। केही चाडपर्वहरू पुराणका घटनासँग सम्बन्धित हुने भएपनि यिनमा लोक विश्वास प्रबल रूपमा हुन्छ। भक्तपुरको बिस्केट जात्रा होस् या काठमाडौ र ललितपुरमा निकालिने मच्छिन्द्रनाथको जात्रा यी सबै किंवदन्ती र लौकिक विश्वासअनुसार नै चलेका हुन्छन्। यस्ता चाडपर्वहरूमा एकातिर धार्मिक पक्षलाई पनि जोड दिइएको हुन्छ भने अर्कोतिर मनोरञ्जनको पक्ष पनि उत्तिकै महत्त्व रहेको हुन्छ। 

जेहोस्, चाडपर्वहरूले मानिसलाई सत्कर्मतर्फ डाहोर्‍याउने, पारिवारिक तथा सामाजिक सूत्र मजबुत पार्ने काम गरेका हुन्छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.