|

काठमाडौं : चलचित्र लिली बिलीबाट निकै रुचाइएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको नयाँ चलचित्र 'लभ स्टेशन' आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। चलचित्र 'लभ स्टेशन'को ट्रेलर मंगलबार काठमाडौंको क्युज सिनेमा हलमा एक समारोहबीच सार्वजनिक गरिएको छ।

ट्रेलरमा चलचित्रमा अभिनेता प्रदीप खडका र अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्धमा अर्का अभिनेता प्रकाश शाह बाधक बनेका छन्। जसिता र प्रकाश बीचको विवाहको तयारी पनि ट्रेलरमा देखाइएको छ। तर, विवाहसँगै प्रदीप र जसिताको प्रेमले कुन रूप लिन्छ त्यो बुझ्न भने फिल्ममै हेर्नु पर्नेछ।

ट्रेलर बूढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ। ट्रेलरलाई साहिल खानले काटेका हुन्। ट्रेलर रिलिज कार्यक्रममा बोल्दै प्रदीप अग्रज निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा धेरैकुरा सिक्न पाएको बताए। आफू र जसिताले लभ स्टेशनमा राम्रो काम गरेको जिकिर गरे।

यस पटक चलचित्र लभ स्टेशनमा आफैंले स्वरांकन गरेकी जसिताले पनि चलचित्र लभ स्टेशनसम्म आइपुग्दा आफ्नो काम अझ परिपक्क भएको प्रतिक्रिया पाएको बताइन। आफू यो फिल्मबाट थप उत्साहित भएको र आउँदा दिनमा प्रदीपसँगै अरू अभिनेताहरूसँग समेत काम गर्न इच्छुक बताइन्।

यही चलचित्रबाट खल भूमिकामा डेब्यु गरेका प्रकाश शाहले पनि राम्रो टिम पाएका कारण लभ स्टेशनमा आफूले खुलेर काम गर्न पाएको अनुभव सुनाए। अग्रज अभिनेता रमेश बूढाथोकीले पनि फिल्ममा अभिनेता प्रदीप र अभिनेत्री जसिताको कामको प्रसंसा गर्दै समग्र टिमले यसमा राम्रो काम गर्न सकेको बताए।

लभ स्टेशनका निर्देशक उज्ज्वल घिमिरेले नयाँ पुस्तालाई लक्षित गरेर फिल्म तयार गरेको बताए। प्रदीप र जसितासँग काम गर्दा यी दुई कलाकारले आफूलाई पूर्ण साथ दिएकाले निकै रमाइलोसँग सुटिङ सम्पन्न भएको बताए। वरिष्ट संगीतकार शम्भुजित बाँसकोटाले त बलिउडका उत्कृष्ट लभ स्टोरी फिल्मकै लेवलको चलचित्र लभ स्टेशन बनेको बताए। उनले यो फिल्म हिट हुनेसमेत दाबी गरे।

चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले आफ्नो होम प्रोडक्सन काफिया फिम्सले लभ स्टेशनलाई राम्रो बनाउनका लागि कुनै कुरामा कम्प्रमाइज नगरेको बताए। चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कवीर विक्रम शाहीले निर्माण गरेका हुन्। आलोक शुक्लाको छायांकन रहेको लभ स्टेशनमा शम्भुजित बाँसकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ।

चलचित्रमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस राईको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र रावलको निर्माण व्यवस्थापन रहेको छ। फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.