|
सवारी लाइसेन्सका लागि ट्रायल सेन्टर बनाइँदै

डडेल्धुरा : डडेल्धुराबाटै नयाँ सवारी चालक अनुमति पत्र वितरण गर्ने तयारी थालिएको छ। सवारी चालक अनुमति पत्र (लाइसेन्स) निकाल्न सकिने भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई सहज हुने भएको छ। डडेल्धुरामा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालये जिल्लामै सावारी लाइसेन्सको परीक्षा सञ्चालन गरी लाइसेन्स वितरण गर्ने भएपछि ७ वटै पहाडी जिल्लाका नागरिकहरुलाई सहज हुने यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुराले जनाएको छ।

सुदूरपश्चिमका ७ पहाडी जिल्लाका नागरिकले तराईका जिल्ला कैलाली र कञ्चनपुर  गएर नयाँ सवारी चालक अनुमति पत्र निकाल्नु पर्ने बाध्यताको अन्त्य हुने भएको छ। यसभन्दा अगाडि सवारी चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता (ब्लुबुक) नविकरण सेवा, सवारी जाँचपास सेवा शुरु गरेको डडेल्धुरा यातायात व्यवस्था सेवा कार्यालयले बताएको छ।

अब निर्माणाधीन ट्रायल सेन्टर भाडामा लिई लाइसेन्स वितरण गर्ने तयारी थालेको डडेल्धुरा यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख दिलीप लामाङले जानकारी दिए। ‘स्थापना भएको झण्डै ३ वर्षसम्म अस्थायी रुट पर्मिट जारी गर्ने काम गर्यौं, अहिले चालक अनुमति पत्र नविकरण, ब्लुबुक नवीकरण सेवा, सवारी साधनको प्रदूषण जाँचको काम सुरुवात गरिसकेका छौँ।’ उनले भने, ‘अब हामीले मुख्य काम–स्मार्ट लाइसेन्स जारी गर्ने, सवारीको नामसारी र दर्ता गर्ने कामको लागि तीव्र गतिमा कार्य भइरहेको छ।’

करिब १ करोडको लगानीमा निर्माण भइरहेको ट्रायल सेन्टरमा करिब ५० लाख बराबरको काम भइसकेको छ। ३ महिना अघिबाट निमार्ण कार्य थालीएको उक्त ट्रायल सेन्टर चैतसम्म सञ्चालन भइसक्ने जनाइएको छ। डडेल्धुराबाटै नयाँ सवारी चालक अनुमति पत्र निस्किने भएपछि पहाडि जिल्लावासीलाई सहजतासँगै यहाँको व्यापार व्यवसाय समेत फस्टाउने उग्रतारा ड्राइबीङ एण्ड ट्रेनिङ सेन्टर, सञ्चालक तेजबहादुर ऐरले बताए।

गत आर्थिक वर्षमा नेपाल सरकारको सुन्दर र सुविधा सम्पन्न शहर निमार्ण गर्ने योजनाअनुरूप नै सुदूरपश्चिम प्रदेश सरकारले कार्य गरेको जानकारी दिइएको छ।

स्थापना भएको ३ वर्षसम्म पनि सुस्तगतिमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाटै स्मार्ट कार्ड छाप्ने र वितरण गर्ने योजना रहेको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार तथा योजनामन्त्री  पठानसिंह बोहराले बताए। ‘यसमा प्रदेश सरकारको पनि महत्वपूर्ण भूमिका हुन्छ।’ उनले भने, ‘अब हामी छिट्टै बैठक बसेर स्मार्ट कार्ड छाप्ने र  वितरण गर्ने तयारीमा छौं।’ अहिले डडेल्धुरा बाहेकका सुदूरपश्चिमका पहाडि जिल्ला बैतडी, बझाङ, दार्चुला, बाजुरा, डोटी, अछामवासीले नयाँ सवारी चालक अनुमति पत्र लिन तराई झर्नुपर्ने बाध्यता रहेको छ।

सवारी चालक अनुमति पत्रका लागि सुरुमा फोटो खिच्न, लिखित परीक्षा र ट्रायल गरी ३ पटक कैलाली तथा कञ्चनपुर जाँदा हजारौँ खर्च हुने गरेको छ। अब डडेल्धुराबाटै सवारी चालक अनुमति पत्र लिन सकिने भएपछि यहाँका नयाँ सवारी चालक हर्षित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.