|

कुनै पनि कलाको मर्म शाब्दिक अर्थमा भन्दा पनि उपयोगितामा हुन्छ। अध्यात्म भन्नु नै आनन्दसँग जिउने कला हो। अध्यात्ममा ध्वनिको निक्कै महत्त्व छ। मानिसलाई रूपान्तरण गर्ने सन्दर्भमा ध्वनि कसरी उपयोगी हुनसक्छ भनेर प्राचीन ऋषिमुनीहरूले गहिरो अनुसन्धान गरेका थिए। उनीहरूले ‘मन्त्र शान्त्र’को नाममा विभिन्न ध्वनिको प्रयोग सम्बन्धी विज्ञान नै विस्तार गरेका थिए। आधुनिक समयमा मानिसले बोल्ने कुरामा ध्वनिको उपयोगिता खोज्ने भन्दा पनि शब्दलाई अर्थ दिने अभ्यास गरेका कारण समग्र ‘मन्त्र शास्त्र’को पछाडिको विज्ञानबारे हामी बेखबर हुँदै छौँ।

केही समयअघि भारतीय सञ्चारमाध्यमले गायत्री मन्त्रले मस्तिष्कमा पार्ने सकारात्मक प्रभावको अनुसन्धानको विषयमा बनाएको समाचार भाइरल भएको थियो। आज हामीलाई मन्त्रले हाम्रो मनलाई शान्त र शरीरलाई स्वस्थ बनाउँछ भन्ने कुरा आश्चर्यको विषय लाग्ने गरेको छ। 

मन्त्र के हो?

मानिसको सुन्ने क्षमता २० हर्ज र २० किलोहर्ज भएको सन्दर्भमा उल्लेख गरिएको सीमा भन्दाका सुक्ष्म र चर्को थुप्रै प्राकृतिक ध्वनिहरू उसले सुन्न सक्दैन। उदाहरणका लागि ‘ओम’ सूर्यको ध्वनि हो। तर मानिसले वातावरणमा गुञ्जयमान यो ध्वनि सुन्न सक्दैन। प्राचीन समयमा ऋषिमुनीहरूका साधना सिद्ध हुँदै गर्दा तिनले आममानिसको क्षमताभन्दा परको कुराहरू अनुभूति गर्न सक्दथे। ती ऋषिमुनीहरूले आममानिसले सुन्न नसक्ने केही प्राकृतिक ध्वनि नक्कल गरेर उतारे र केही ध्वनि अनुसन्धानबाट आविष्कार गरे। त्यस्ता ध्वनिलाई समायोजन गरेर मन्त्रहरूको आविष्कार गरे।

मन्त्र सुन्ने मात्रै नभई आफैँले जप गर्ने विषयसँग समेत सरोकार राख्दछ। सामान्यतया कुनै पनि तालबद्ध ध्वनिको संयोजन कण्ठबाट भन्ने वा आफ्नो अवचेतन मनमा रहेको शब्दहरू जस्तै आस्था गरिएको भगवानको नाम, आफ्नै नाम आदि आवाज ननिकाली मनैदेखि भन्नु पनि मन्त्रै हुन्। अनि जप गर्ने तरिका अनुरूप तिनको प्रभाव पनि फरक फरक हुन्छन्।

मन्त्रहरूको जप गर्दा उत्पन्न हुने ध्वनिको तरङ्गीय क्षमता निक्कै धेरै हुन्छ। मन्त्रको अर्थ शाब्दिक भावमा नभई जप गर्ने मानिसको शरीर र मानसमा ध्वनिका तरङ्गले पार्ने प्रभावका सन्दर्भमा भएको हुँदा मन्त्रमा ध्वनि समायोजनको विशेष महत्त्व हुन्छ। यस अर्थमा लिपिबद्ध नगरेर श्रुती परम्पराबाट गुरुले शिष्यलाई मन्त्रदान दिँदै आउने गरेको हो। लिपिबद्ध गर्दा कुन ध्वनिलाई बढी तान्ने र कुन ध्वनिलाई कम उच्चारण गर्ने भन्ने कुरा लेख्न नमिल्ने भएका कारणले गुरुले नदिएर लेखेको मन्त्र पढेमा त्यति उपयोगी हुँदैन।  

मन्त्रको जपबाट कयौँ मानिसहरूले सजिलैसँग निर्वाण प्राप्त गरेको तथ्यका आधारमा ऋषिमुनीहरूले ‘शब्द ब्रह्म’ भने अर्थात् ब्रह्मभन्दा उच्च कुनै अनुभव छैन र शब्दभन्दा गहिरो कुनै साधना छैन, जसको उपयोगले सजिलैसँग ब्रह्मको अनुभूति गर्न सकियोस्।

विशेषतः श्रेष्ठतम रूपमा मन्त्रको उपयोगिता आध्यात्मिक रूपान्तरण कै लागि हो। तथापि मन्त्रहरूको बहुआयामिक उपयोग हुन्छन्। शरीर बलवान बनाउन, कार्य सफल बनाउन, मानसिक तेज वृद्धि गर्न, वातावरणलाई शुद्ध बनाउन, खडेरीमा पानी पार्न आदि आदि। मन्त्रको प्रयोग जेसुकै प्रयोजनका लागि पनि हुनसक्छ। केही विशेष ध्वनिहरू र तिनका तरङ्गले मानिसमा सकारात्मक प्रभाव पर्छ। अनि केही ध्वनिहरू र तिनका तरङ्गले मानिसलाई हानी पनि पुर्‍याउँछ। यसै परिवेशमा मन्त्रहरूको दुरुपयोग पनि भएका छन्। पराई स्त्री वा पुरुषलाई बसमा राख्न, शत्रु नाश गर्न, अरूको सम्पत्ति वा रूपको क्षय गर्न आदिमा मन्त्रहरूको दुरुपयोग भएका छन्। कालाजादुमा पनि प्रशस्त मन्त्रहरू प्रयोग भएका हुन्छन्।

मन्त्रले कसरी काम गर्छ?

मन्त्रको प्रभावका सन्दर्भमा एकाधबाहेक खासै गहिरो वैज्ञानिक अनुसन्धान भएका छैनन्। तथापि ध्वनिको प्रभावका सन्दर्भमा चाहिँ केही शताब्दी अघिबाटै अनुसन्धानहरू भएका छन्। चर्को र कर्कस ध्वनिहरू वा वैराग्य खालका सङ्गीतले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर गर्छ। अनि सुमधुर सङ्गीत वा तालबद्ध भएका प्राकृतिक आवाजहरू जस्तै चराको चिरबिर र खोला बगेको आवाज आदिले मानसिक र शारीरिक रूपमा सकारात्मक प्रभाव पार्छ।

थुप्रै अध्ययनहरूले नियमित सङ्गीतको धुन बजाएको स्थानमा बोटबिरुवा छिटो बढ्ने, धेरै फल लाग्ने, गाईबस्तुले धेरै दूध दिने, सुत्केरी महिलाको दूध नआएमा आउने जस्ता प्रभावहरू देखिएका छन्। त्यस्तै सङ्गीत वा तालबद्ध भएका प्राकृतिक ध्वनिहरूले मानिसमा विभिन्न खालका शारीरिक, मनोवैज्ञानिक, भावनात्मक, मानसिक र व्यावहारिक आचरण आदिमा सकारात्मक प्रभाव पार्ने गरेको अध्ययनहरूले देखाएका छन्। 

जहाँसम्म मन्त्रको सबल छ, मन्त्र सुन्ने मात्रै नभई आफैँले जप गर्ने विषयसँग समेत सरोकार राख्दछ। सामान्यतया कुनै पनि तालबद्ध ध्वनिको संयोजन कण्ठबाट भन्ने वा आफ्नो अवचेतन मनमा रहेको शब्दहरू जस्तै आस्था गरिएको भगवानको नाम, आफ्नै नाम आदि आवाज ननिकाली मनैदेखि भन्नु पनि मन्त्रै हुन्। अनि जप गर्ने तरिका अनुरूप तिनको प्रभाव पनि फरक फरक हुन्छन्। तथापि प्राचीन कालदेखि प्रचलनमा आएका मन्त्रहरूको विज्ञान केही फरक छ। ती मन्त्रहरूमा भएका ध्वनि समायोजन विशेष प्रकारले गरेका हुन्छन् ताकि मन्त्र जप गर्दा साधकको मन र शरीरका तरङ्हरूलाई ती ध्वनिका तरङ्गले प्रभाव पारेर उसमा आध्यात्मिक रूपान्तरण आओस्। 

हरेक भौतिक वस्तुमा सुक्ष्म रूपमा तरङ्ग नै हुन्। एकातिर शरीरको हरेक कोशिकाहरूको छुट्टै तरङ्ग छन्। अर्कोतिर शरीरमा विभिन्न केन्द्रहरूको पनि छुट्टै तरङ्ग हुन्छन्। मानव शरीरका केन्द्रका (चक्र) सन्दर्भमा विभिन्न धार्मिक मान्यता अनुरूप कहीँ एघार, कहीँ नौ, कहीँ सात केन्द्र छन् भनेर उल्लेख गरेको पाइन्छ। तथापि मानव शरीरमा तीन मूलभूत केन्द्रहरू छन्। ती हुन्, तेस्रो नेत्र (चेतना केन्द्र), हृदय केन्द्र (भावना केन्द्र) र नाभी केन्द्र (अस्तित्वगत वा प्राकृतिक केन्द्र)। जसरी रेडियो एन्टेनाले तरङ्ग फालेको हुन्छ, त्यस्तै प्रकारले यस्ता केन्द्रहरूबाट फरक फरक क्षमताका तरङ्गहरू शरीरभन्दा बाहिर टाढाटाढासम्म फैलिएर गएका हुन्छन्। अनि शरीरका कोशिकाको तरङ्ग नै शरीरका विभिन्न केन्द्रको तरङ्गहरूको श्रोत भएका सन्दर्भमा शरीरको कोशिका र शरीरका सबै केन्द्रको फ्रिक्वेन्सी मापन उही हुनुपर्ने हो।

गुरुले मन्त्र कानमै फुक्नुको तात्पर्य के हो भने सिद्ध गुरुहरूले शिष्यको शरीर, विचार, भावना आदिका तरङ्ग अनुभूत गरेर मन्त्रको कुन ध्वनिलाई कसरी उच्चारण गर्दा मन्त्रको फ्रिक्वेन्सी साधकको शरीरको फ्रिक्वन्सीसँग मेल खान्छ, त्यही अनुरूपको हिसाबकिताब गरेर गुरुहरूले मन्त्र दिने गर्दथे। व्यक्तिपिच्छे एउटै मन्त्रका उच्चारण फरक फरक रूपमा गर्नुपर्ने अवस्थाका कारण पनि गुरुहरूले आफ्ना शिष्यहरूलाई अरूले नसुन्ने गरी कानमै आएर मन्त्रदान गर्दथे।

तर हाम्रो शरीरमा भएका विशुद्ध तरङ्गलाई बहिरी वातावरणको तरङ्गहरूले, जस्तै अरू मानिसका तरङ्गहरू, आफ्नै विचार वा भावनाका तरङ्गहरूलगायतले शरीरको शुद्ध तरङ्गलाई प्रभावित पारेका हुन्छन्। यसरी प्रभावित पार्दा हाम्रा शरीरका विभिन्न केन्द्रका तरङ्गहरूको फ्रिक्वेन्सी एक आपसमा मेल नखाए र एकअर्कोसँग जुधेर कमजोर हुने हुन्छ। तर यदि बाहिरिए तरङ्गहरूको अतिक्रमण नभएको सन्दर्भमा शरीरका केन्द्रहरूको फ्रिक्वेन्सी मापन एउटै हुने कारण एकअर्काे केन्द्रको तरङ्ग एकअर्कासँग मिसिएर अर्थात् रिसोनेन्स (जब कुनै एउटा भाइब्रेटिङ सिस्टमले अर्को छुट्टै भाइब्रेटिङ सिस्टममा प्रभाव गरेर फ्रिक्वेन्सीमा परिवर्तन नगरी बढोत्तरी एम्पिच्यूटमा भाइब्रेसन हुने प्रक्रियालाई रिसोनेन्स भनिन्छ।) हुन गई शक्तिशाली हुने हुन्छ। यस्तो बाहिरी अतिक्रमण नभएको विशुद्ध अवस्थामा शरीरका केन्द्रहरूको तरङ्ग धेरै नै शक्तिशाली हुन्छ। मन्त्र जपको उद्देश्य नै शरीरमा अतिक्रमण गरेर बसेका विचारका तरङ्ग, भावनाका तरङ्ग, रोगको तरङ्ग र वातावरणबाट आएका अन्य तरङ्गबाट शरीरलाई मुक्त गर्नु हो। 

गुरुले मन्त्र कानमै फुक्नुको तात्पर्य के हो भने सिद्ध गुरुहरूले शिष्यको शरीर, विचार, भावना आदिका तरङ्ग अनुभूत गरेर मन्त्रको कुन ध्वनिलाई कसरी उच्चारण गर्दा मन्त्रको फ्रिक्वेन्सी साधकको शरीरको फ्रिक्वन्सीसँग मेल खान्छ, त्यही अनुरूपको हिसाबकिताब गरेर गुरुहरूले मन्त्र दिने गर्दथे। व्यक्तिपिच्छे एउटै मन्त्रका उच्चारण फरक फरक रूपमा गर्नुपर्ने अवस्थाका कारण पनि गुरुहरूले आफ्ना शिष्यहरूलाई अरूले नसुन्ने गरी कानमै आएर मन्त्रदान गर्दथे। अनि जब साधकले गुरुले दिएको मन्त्र बारम्बार जप गर्दैगर्दा मन्त्रको उच्चारणबाट निस्कने तरङ्ग साधकका शरीरको तरङ्गबीच ‘रिसोनेन्स्’ हुन गई ‘एम्पिलिच्यूट’ बढ्नाले कोशिकाहरूमा जोडको कम्पन आई ती कोशिकाहरूमा रहेका अतिक्रमण तरङ्गहरू हट्न जाने हुन्छ। अतिक्रमण तरङ्ग अर्थात् विचार, भावना, रोग र शरीरमा समाहित अन्य बाहिरिया कुराहरूको तरङ्गहरू हराएर जान्थे। 

विचार, भावना र शारीरिक अनुभूतिको संयुक्त रूप भनेको ‘म’ भाव वा अहंता अर्थात् ‘म’ यो र यस्तो हुँ भनेर अवधारण बनाउनु नै हो। तसर्थ मन्त्रद्वारा सिद्ध हुनुको अर्थ भनेको अहंताको त्याग नै हो। त्यसैले साधक अतिक्रमण तरङ्गबाट छुटकारा पाएर विशुद्ध प्राकृतिक तरङ्गको अवस्था प्राप्त गर्दा बिल्कुलै नयाँ मान्छे भएर निस्कन्थे। 

मन्त्र जपको कस्तो प्रक्रियाका कारण साधक बिल्कुलै नयाँ मानिसमा रूपान्तरित हुन्छ भन्ने सन्दर्भमा, जब साधकले बारम्बार एउटै मन्त्र जपी रहन्छ, एउटा यस्तो अवस्था आउँछ, जहाँ साधकले जप्नु जरुरी हुँदैन। उसले अनुभूति गर्छ कि उसको शरीरका हरेक कोशिकाहरूले र अन्तरमनले आफसेआफ त्यो मन्त्र जपिरहेको छ। निन्द्राको अवस्थामा समेत निरन्तर रूपमा जपिरहको छ। यस्तो अवस्थालाई अजपा जप भनिन्छ। हो यस्तो अवस्थामा साधकमाकर्ता भावको अन्त्य हुन्छ। अब उप्रान्त जे हुनु छ आफसेआफ हुन्छ। साधकमा कर्ताभाव हराएको अवस्था नै अहंताको अन्त भएर बिलकुलै नयाँ मानिसमा रुपान्तरित भएको अवस्था हो। अनि यसपछिको अवस्थामा उसले आफ्नो शरीरमा र जगत जहीँतहीँ ओम् ध्वनि गुञ्जिरहेको सुन्छ। यहीकारण ओम ध्वनिलाई अजापा मन्त्र भनिएको हो।    

मन्त्र सिद्धिको प्रयोगशाला मन्दिर

मन्दिरहरूको केही निश्चित उपयोगिता छन्। तीमध्ये प्रमुख उपयोगिता मन्त्रको सिद्धि गर्ने प्रयोगशाला हो। खुल्ला आकाशमा जप्दा मन्त्रहरू प्रतिध्वनित नहुने हुन्छ। तर बन्द कोठामा जप्दा प्रतिध्वनित भएर फर्कन्छ। पुरानो समयमा मन्दिरको संरचना यसरी विकास गरेको हुन्थ्यो कि साधकले मन्दिरमा मन्त्र जप्दा ती मन्त्र मन्दिरका भित्तामा ठोक्किएर अझ शक्तिशाली रूपमा प्रतिध्वनित भएर फर्कन्थ्यो। अनि जपको फलोउत्पादन शक्ति ह्वात्तै बढ्ने हुन्थ्यो।

पहिला पहिला मन्दिरहरूमा मूल प्रवेशद्वार निक्कै सानो आकारका हुन्थ्यो। झ्याल हुँदैन थिए। मन्दिरको भित्रपट्टिको छानो भकुन्डो जस्तो गोलाकार आकारको हुन्थ्यो। मन्दिर बनाउन प्रयोग हुने गरेको ढुङ्गामाटो लगायतका वस्तुहरू पनि प्रतिध्वनि निस्कनु अनुकूल हुने खालका हुन्थे। मन्दिरको बाहिरी बनावट छतमा चुच्चो हुनु जपले गर्दा मन्दिरमा भएको चार्जलाई, रेडियो एन्टेनाले जस्तै वरिपरि फैलाएर मन्दिर वरपरको स्थललाई पनि शुद्ध पार्नका लागि थियो। त्यस्तै चुच्चो छत सकारात्मक तरङ्गलाई तानेर मन्दिरलाई चार्ज गराउन सहयोगी थियो। बाहिरबाट मन्दिरमा आउने भक्तजनहरू नुहाएर, निराहार आउनुपर्ने, रेसमको कपडा लगाएर आनुपर्ने, आउँदा बाहिरी द्वारमै भएको घण्टी बजाउनुपर्ने आदि सबै कुरा मन्दिरमा भएको चार्ज अनुकूलका नियम हुन्।

त्यस्तै जब कुनै मन्त्र सिद्ध हुन्छ। साधकले अन्तर शरीरमा दीप बलिरहेको अनुभूति गर्छ। र, साधकको शरीरबाट विशेष प्रकारको गन्ध निस्कने हुन्छ। तर यसरी अन्तरशरीरको दियो र साधकको शरीरको गन्ध मन्त्र अनुसार फरकफरक हुन्छ। यस कारण मन्दिरमा जप्ने मन्त्रको आधारमा कुन फूल चढाउने, कस्तो धूप जलाउने र कुन तेलमा कतिवटा दियो जलाउने भन्ने नियमहरू बनाएका कारण मन्दिरैपिच्छे नियमहरू फरक भएको पाइन्छ। मन्दिरका यस्ता नियमहरू रुढीवादी नभएर मन्त्रहरूका सिद्धि गर्ने सन्दर्भमा अनुकूल हुने गरी बनाइएको हुन्थ्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.