|

मिला दरै

तनहुँ : १४० मेगावाट क्षमताको तनहुँ हाइड्रोपावर लिमिटेडले सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरी हाल नयाँ ठेक्का प्रक्रियाको लागि तयारी सुरु गरिएको छ। अहिले नयाँ टेण्डर आह्वान गर्न बोलपत्र कागजात तयारीको काम अन्तिम चरणमा पुगेको छ। कम्पनीले चैतको दोस्रो हप्ता (मार्च २०१९)भित्रमा नयाँ बोलपत्र आह्वान गर्ने लक्ष्यका साथ कामअघि बढाइएको छ।

तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने र बाँध निर्माणलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। यसअघि तनहुँ हाइड्रोपावर लिमिटेडले २०७५ माघ ४ गते (१८ जनवरी २०१९)मा ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो।

७ फागुन २०७५ (१९ फेब्रुअरी २०१९)मा  ठेक्का तोड्नका लागि सूचना दिइएकोमा सिएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले २२ फागुन २०७५ (६ मार्च २०१९)मा ठेक्का सम्झौता रद्द गरेको जानकारी सिएमएसीलाई गराएको सूचना विज्ञ सचेन गौतमले जानकारी दिए। 

खरिद सम्झौता रद्द गर्नुपर्ने कारणहरूमा खरिद सम्झौतामा भएको व्यवस्थाअनुसार २८ दिनभित्र आयोजना स्थलमा आएर काम सुरु गर्न दिइएको आदेश सिएमसीले नमानेको, अग्रिम भुक्तानीका लागि बैकले ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायतका कारणले गर्दा सम्झौता रद्द गरिएको गौतमले जनाए।

तनहुँ हाइड्रोपावर लिमिटेड र सिएमसीबीच १५ असोज २०७५ (१ अक्टोवर २०१८)मा रु.२० अर्ब ६४ करोड ५२ लाख (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता भएको थियो। तनहुँ हाइड्रोपावर लिमिटेडले ठेक्का सम्झौता रद्द भएको सूचना जारी गरी सिएमसीले कार्यसम्पादन जमानतवापत राखेको ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख रुपैयाँसमेत जफतको लागि दावी गरेको छ। साथै सिएमसीकातर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडले यही हप्ताभित्रमा दावी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएको छ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजना स्थलमा काम सुरु गरिसकेको छ। 

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता सम्पन्न भइसकेको छ। कम्पनी आयोजनास्थलमा परिचालन भइसकेको छ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख(प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक(एडीबी)ले १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी)ले ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८७ मिलियन अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ। यसको लागि सम्बन्धित दातृ निकायहरू र नेपाल सरकारबीच ऋण सम्झौताहरू तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनी बीच सहायक ऋण सम्झौताहरू सम्पन्न भइसकेको छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.