|
क्यासमिरी साप्ताहिककी संवाददाता मुना कालिराज विके

तनहुँ : व्यास १ भादगाउँकी विमला कँडेल तीन वर्षीय काखे छोरा च्यापेर समाचार संकलनमा समेत खटिन्छिन्। तनहुँबाट प्रकाशित व्यासश्री साप्ताहिककी सम्पादक उनी समाचार संकलनदेखि सम्पादनसम्मको काममा जुट्छिन्।

उनी जस्तै पत्रकारितामा संलग्न महिला पत्रकार तनहुँका विभिन्न सञ्चारमाध्ययममा उल्लेख्य संख्यामा छन्। ‘पत्रकारिता क्षेत्र पहिले रहर थियो अहिले पेशा मात्रै होइन जिम्मेवारी पनि बनेको छ,’ उनले भनिन्, ‘अचेलबाबुको रेखदेखसँगै पत्रिकाको काममा व्यस्त हुन्छु।’ घरायसी काममा खटिनुपर्ने भएकोले आफूले पत्रकार निकट विभिन्न संघसंस्थामा समय दिन नसकेको उनले बताइन्। 

कँडेल जस्तै मुना कालिराज विके क्यासमिरी साप्ताहिककी पत्रकार हुन्। पत्रिकाको सेटिङ गर्नेदेखि छोरी हुर्काउने जिम्मेवारी उनको काँधमा छ। छोरी प्राञ्जली सात वर्षकी भइसकेकीले अहिले पत्रिकामा सहज भएको उनको भोगाइ छ। ‘पहिले बच्चालाई दूध चुसाएरै पत्रिकाको सेटिङ गर्नुपर्थ्यो,’ उनले भनिन्, ‘तर अहिले धेरै सजिलो भएको छ।’ छोरी नहुँदा पत्रिकामा मात्रै समय दिन पाइने भए पनि अहिले पत्रिका, छोरी र घरपरिवारलाई समेत समय दिनुपर्ने भएको उनले बताइन्। 

एक त पत्रकारिता पेशा चुनौती र जोखिमपूर्ण छ। विशेष गरी महिलाहरू चुनौतीको सामना गर्न समेत डराउने प्रवृत्तिका हुन्छन्। महिला पत्रकारले आबद्ध भएको संस्थामा पारिश्रमिकका विषयमा खुलेर आवाज उठाउन समेत नसक्नुले गर्दा पनि आर्थिक समस्या अझ बढी झेलिएका छन्।

पुरुष पत्रकारको तुलनामा महिला पत्रकारहरूको संख्या कम हुँदा प्राथमिकतामा नपरेको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य बताउँछन्। संख्या कम हुनुको साथै लाज र धक मान्ने हुँदा महिला पत्रकारहरूको संख्या कम भएकोले पत्रकार महासंघमा समेत आबद्धता कम भएको उनी बताउँछन्। ‘पत्रकार महासंघको केन्द्रदेखि जिल्ला तहसम्म महिला पत्रकारहरूलाई समावेश गर्ने पद्धति बसालिएको छ,’ उनले भने, ‘महिलालाई अगाडि बढ्न प्रेरणा दिने र नेतृत्वमा पुर्‍याउन यसले सघाउ पुग्नेछ।’ विभिन्न सञ्चारमाध्यममा नियमित पत्रकारिता गर्ने महिलाहरूको संख्या कम भएपनि पत्रकारितामा उनीहरूको आकर्षण भने बढ्दो रहेको अध्यक्ष आचार्यको भनाइ छ। ‘महिला पत्रकारलाई अवसर प्रदान गर्ने र नेतृत्वमा पुर्‍याउन सहयोग गर्न सके महिला पत्रकारको पनि क्षमता विकास हुन्छ,’ उनले भने। 

यो पेशालाई शुरुमा महिलाले सोखको रुपमा लिने र पछि  व्यावसायिक रुपमा आफूलाई अघि बढ्न चाहे पनि पारिश्रमिक कम हुँदा जीवन गुजारामा  समस्या भएपछि विस्थापित हुने गरेका छन्। विभिन्न सञ्चार माध्यममा महिलाहरूलाई प्रवेश गराउने र सक्षम भइसकेपछि पनि कम पारिश्रमिक दिइने प्रचलन कायमै रहेकोले महिला पत्रकारको संख्या कम हुन पुगेको ठान्छिन्, नेपाल पत्रकार महासंघ तनहुँकी उपाध्यक्ष सोनी शर्मा। ‘महासंघको निर्वाचनको समयमा भागवण्डाले गर्दा महिलाहरू विशेष गरी नेतृत्व तहमा पुग्नबाट वञ्चित हुन्छन्,’उनले भनिन्,‘पुरुषको तुलनामा महिलाको संख्या कम हुँदा नेतृत्व तहमा पुग्न नसकिएको हो।’

महिलालाई नेतृत्वमा पुर्‍याउन पुरुष पत्रकारहरूको समेत सोच परिवर्तन हुन जरुरी भएको उनले बताइन्। केन्द्रदेखि जिल्ला तहसम्म सक्षम महिला पत्रकार नभएका होइनन्। तर घरधन्दा समेत सक्नुपर्ने र सञ्चारमाध्यममा समेत समय दिने महिला पत्रकार धेरै छन्। पुरुष पत्रकारहरूमा पनि महिलाले नै घरव्यवहार धान्नुपर्छ भन्ने सोच अझै व्याप्त छ। जसको कारण क्षमता भएर पनि महिला पत्रकार पत्रकारिता क्षेत्रमा अघि बढ्न सहज अवसरबाट वञ्चित हुन्ग्छन्। 

महिला पत्रकारको संख्या बढाउन आफूहरूले विगतदेखि विभिन्न छलफल र पैरवी गर्दै आएकाले अहिले महिला पत्रकारको संख्या बढ्दै गएको नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष अनिता विन्दु बताउँछिन्। महासंघको तथ्याङ्कमा पहिले भन्दा महिला पत्रकारहरूको संख्या बढे पनि सन्तोषजनक भने नभएको उनको भनाई छ। मोफसलका सञ्चारमाध्यममा पारिश्रमिक कम हुने, समयमा तलब नपाउने लगायतका समस्या भएकोले महासंघमा आबद्ध भई आवाज उठाउनुपर्ने उनी बताउँछिन्। ‘पत्रकारिता क्षेत्रमा महिला पत्रकारको संख्या बढाउन आवश्यक छ,’ उनले भनिन्, ‘नेतृत्व तहमा पुर्‍याउन सबै क्षेत्रबाट सकारात्मक सहयोग आवश्यक छ।’ पत्रकार महिला क्षमतावान भए पनि संख्या कम हुँदा पुरुषसँग प्रतिस्पर्धा गर्ने अवस्था तत्काललाई नरहेको उनी बताउँछिन्। 

पुरुष प्रधान सोच, महिला आफैँ पनि क्षमता बाहिर ल्याउन नचाहनु, कामको सिलसिलामा आइपर्ने पारिवारिक उल्झनले गर्दा नेतृत्व तहमा पुग्न नसकेको क्रियाशील पत्रकार महिला तनहुँकी अध्यक्ष अञ्जना तिमल्सेना बताउँछिन्। उनले जिल्लाको महिला पत्रकारको नेतृत्व विकासका लागि तालिम, अवसरको आवश्यकता रहेको बताउँछिन्। पुरुष पत्रकारले महिलाहरूलाई अवसर प्रदान गर्नुका साथै पुरुष प्रधान सोचको त्याग्नुपर्ने उनको भनाइ छ। महासंघले महिला पत्रकारलाई सहकार्य गर्दै कामलाई सम्मान र अवसर प्रदान गर्नुपर्ने उनी बताउँछिन्। ६५ प्रतिशत आदिवासी जनजातिको बाहुल्यता रहेको जिल्ला तनहुँमा आदिवासी महिला पत्रकारको उत्साहजनक छैन। पत्रकारिता पेशामा रहन चाहेपनि उचित पारिश्रमिकको व्यवस्था नहुँदा विस्थापित हुने गरेका छन्। 

पत्रकार महिलाको अवस्था सन्तोष जनक नभएको आदिवासी जनजाति पत्रकार महासंघ तनहुँकी उपाध्यक्ष सुनिता थापा मगरले बताइन्। महासंघका केन्द्रसम्म महिला पत्रकारहरूको पहुँच नपुगेको उनको भनाइ छ। महिला पत्रकारहरूको क्षमता विकासका लागि केन्द्रबाट योजना अनुरुपको कार्यक्रम ल्याएर पत्रकारीतामा रहने बनाउनु आवश्यक रहेको उनको धारणा छ। तालिम र क्षमता विकासले सहज बनाएर अगाडि बढ्ने वातावरण बनाउन सकिने उनको भनाइ छ। उनले तालिम पछिको अभ्यास र क्षमता अनुसारको रोजगारी ग्यारेन्टी गर्नुपर्ने र राष्ट्रिय सञ्चार माध्यममा अवसर प्रदान गर्नुपर्ने बताइन्। ‘अवसर छ तर पारिश्रमिक आवश्यक पर्ने आर्थिक समस्याले गर्दा पत्रकारिताबाट पलायन हुनुपर्ने अवस्था नआओस्’, उनले भनिन् ‘सुरक्षाको ग्यारेन्टी हुनुपर्छ।’ 

जिल्लाका १० वटा एफएम रेडियो, दैनिक र साप्ताहिक पत्रिका गरी १५ वटा गरी २५ वटा सञ्चार संस्थामा ५५ महिला पत्रकार छन्। जिल्लामा जनजाति पत्रकार महिलाको संख्या भने २५ छ। नेपाल पत्रकार महासंघ तनहुँमा महिला पत्रकार ५० जना छन्। त्यस्तै नेपाल पत्रकार महासंघमा करिब दुई हजार १०० महिला पत्रकारको सदस्यता लिएको पाइएको छ। महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि स्वयं महिला पत्रकार नै जागरुक हुनुपर्छ। 

महिला पत्रकारको क्षेत्रमा सक्रिय नेपाल पत्रकार महासंघको महिला विभाग, क्रियाशील पत्रकार महिला र सञ्चारिका समूह लगायतका संघसंस्था विशेष सक्रिय हुन आवश्यक छ। कम संख्यामा रहेका महिला पत्रकारलाई अग्रसर गराउन पत्रकार महासंघको जिल्लादेखि केन्द्रसम्मको संयन्त्रमा महिलालाई नेतृत्व तहसम्म पुर्याउन गरिएको निर्णय कडाइका साथ कार्यान्वयन  गर्नुपर्छ। तब मात्र महिला पत्रकारको सही पहिचान र क्षमता अनुसारको उपस्थिति वृद्धि हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.