|
फाइल फोटो

काठमाडौं : संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा नेपथ्य फेरि प्रस्तुत हुने भएको छ। आगामी मार्च १५ गते शुक्रबारको दिन त्यहाँस्थित अल नासर लेजर ल्याण्डमा कन्सर्ट आयोजना गरिनेछ।

अरब जगतको यो व्यस्त व्यापारिक केन्द्रमा ब्यान्ड दोस्रोपटक पुग्न लागेको हो। यसअघि भुइँचालोलगत्तै नेपथ्य त्यहाँ पुगेको थियो। पूर्वनिर्धारित कार्यक्रमको बाध्यताले त्यहाँ पुगेको नेपथ्यले सो कन्सर्टबाट उठेको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको थियो।

‘आइस स्केटिङ खेलिने त्यसै मैदानमा प्रस्तुत हुनेगरी यसपटक हामी फेरि पुरै जोस र जाँगरका साथ दुबई आउँदैछौं,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने ‘श्रोता दर्शकलाई नचाउने रमाइला गीतहरू यस पटक प्राथमिकतामा परेका छन्।’

खाडी राष्ट्रहरूमध्ये साउदी अरब र कतारपछिको उल्लेख्य नेपाली कामदार सङ्ख्या संयुक्त अरब इमिरेट्समै छ। घर परिवारबाट टाढा रहेका नेपाली त्यहाँ पुग्दा पनि नेपालीपनको स्वादमै रमाएर बाँचेका हुन्छन्। रेमिट्यान्सका माध्यमबाट मुलुकको अर्थतन्त्रमै महत्त्वपूर्ण योगदान दिने ती तन्नेरीहरूका सामु ब्याण्डलाई पुरै क्षमतामा प्रस्तुत गर्ने धेरै पहिले देखिको योजना बल्ल पुरा हुन लागेको भन्दै गुरुङले सन्तुष्टि व्यक्त गरेका छन्। 

‘यसअघिको कन्सर्ट शोकको क्षणमा आयोजित भए पनि झन्डै दुई हजार दर्शकको उपस्थितिले हौस्याएको थियो,’ अमृत भन्छन्, ‘त्यतिबेलै हामीले नयाँ रेकर्डिङ भएको गीत ‘कोसीको पानी यो जिन्दगानी’को म्युजिक भिडियो पनि त्यहीँ खिचेका थियौँ।’ दुबईको यसै स्थलमा कन्सर्टको बेला खिचिएको त्यो गीत नेपथ्यको आधिकारिक म्युजिक भिडियोका रूपमा युट्युबमा उपलब्ध छ।

‘नेपथ्य उसका श्रोता दर्शकहरूको मायाकै जगमा अडिएको छ,’ अमृत भन्छन्, ‘अघिल्लोपटक जाँदा पाइएको आत्मीयताले नै यसपाला दुबईलाई हामीले फेरि प्राथमिकतामा राखेका हौँ।’  यसअघि पनि नेपथ्यको कन्सर्ट दुबईको यसै अल नासेर लिजर ल्याण्डमै भएको थियो।

‘दुबई फेरि नेपथ्यलाई स्वागत गर्न तयार छ,’ आयोजक मोहन लिम्बु भन्छन्, ‘अघिल्लोपटक जस्तै उही आयोजनास्थलमा उत्तिकै स्तरीय प्रकाश तथा साउण्ड सिस्टमको प्रबन्ध मिलाएका छौँ।’

कार्यक्रममा सधैँजस्तै दुबईमा पनि अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.