पक्राउ परेका चौपाया लिन कोही नआउँदा महानगरलाई समस्या

|

जनकपुरधाम : विश्वकै हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जनकपुरधाम हो। प्रसिद्ध धार्मिक, सांस्कृतिक तथा पर्यटकीय शहर जनकपुरधाम मिथिलाको प्राचीन राजधानी तथा प्रदेश २ को अस्थायी मुकाम समेत रहेको छ। तर यहाँ सडकमा चौपाया छाडा छोडिएको छ।

मरेको गाइवस्तु, सुँगुर, कुकुर लगायत फोहर व्यवस्थापन नहुँदा जनकपुरधामको प्रवेशद्वारसँगै नगरको विभिन्न ठाउँ दुर्गन्धित हुने गरेको छ। यसरी सडकमा छाडिएका छाडा चौपायाका कारण सवारी आवागमनमा अवरोध हुने गरेको छ। जनकपुर नगरभित्र छाडा सुँगुर, छाडा चौपाया र कुकुरको आतंक धेरै पुरानो समस्या हो। त्यसैले यहाँ पटक-पटक गाइवस्तु पनि सवारीको ठक्करले मर्ने गरेका छन्।

मरेको गाइवस्तु जनकपुर उप–महानगरपालिकाले नउठाउँदा अधिकांश ठाउँमा सर्वसाधारण आफैले कुनै सडकपेटी अथवा खुल्ला स्थानमा फाल्ने गरेका छन्। मरेको जीव जन्तुलाई जथाभावी फालेपछि सडेर गन्हाउँदा दुर्गन्धको सामना नगरबासीले खेप्नु परेको जानकी चोकका स्थानीय बीरेन्द्र कर्ण बताउँछन्। जनकपुर उप–महानगरपालिका क्षेत्रमा पर्ने ढल्केबर–जनकपुर राजमार्ग, परिक्रमा सडक, एयरपोर्ट मुरलीचोक, रामचोक, जनकचोक, शिवचोक, भानुचोक, मिल्सएरिया रेलवे स्टेसन लगायत सहरको व्यस्त सडकमा जताततै गाई गोरु, भैंसी, बाख्रा, खसी, घोडा लगायत घरपालुवा चौपायाले सवारी आवागमनमा अवरोध हुने गरेको छ।

जनकपुरधाम उप–महानगरपालिका, प्रहरी, प्रशासनले छाडा चौपाया नियन्त्रण र व्यवस्थापन गर्न सकेका छैनन्। छाडा चौपाया नियन्त्रण गर्ने पहिलो जिम्मेवारी भएकोले जनकपुरधाम उप–महानगरपालिकाले कार्यालय हाताभित्र कान्जी हाउस बनाएको छ। तर जनकपुरमा यति धेरै छाडा चौपाया छन् की नियन्त्रण गरेर ल्याउँदा कान्जी हाउसमै नै अट्दैनन् र पछि बाध्य भएर छोडनुपर्ने बाध्यता रहेको उपप्रमुख रिझा मिश्र झा बताउँछिन्। 

छाडा चौपायाबीच सडकमा सुत्ने, हिँड्ने, उभिने र यताउता हिँडदा सवारी दुर्घटना पनि हुने गर्छ। सवारीले ठक्कर दिँदा मृत्यु भए सवारी धनीले मूल्य भन्दा धेरै जरिवाना तिर्नुपर्छ। सडकमा छाडा छाडिएका घरपालुवा जनावर नियन्त्रणमा लिएर कान्जी हाउस पुर्‍याएमा चौपायाका धनीलाई उप–महानगरपालिकाले ५ हजार जरिवाना तिराउने व्यवस्था गरेको छ। तर पक्राउ परेका गाईवस्तुलाई जरिवाना तिरेर लिनै नआउने गरेको उपमेयर मिश्र बताउँछिन्। उनी भन्छिन्, ‘छाडा चौपाया नियन्त्रण प्रयास गरे पनि असफल जस्तै भयौं।

'छाडा चौपायाले हैरान पारिसक्यो। सडकमा सवारी आवागमनमा बाधा पुर्‍याउँछ। घरपालुवा चौपायाको धनीले वास्तै दिँदैन। नगर प्रहरीले नियन्त्रणमा लिएका गाई गोरु भैंसी बाख्रा घोडा लिन पशुपालक चौपाया धनीहरू लिनै आउँदैनन्। अनि फेरि नगरपालिकालाई नै गाइवस्तुलाई खुवाउन राख्न समस्या हुन्छ। अर्को कुरा मर्ने डर पनि हुन्छ। त्यसैले छोडनु पर्ने बाध्यता छ।’

उपप्रमुख मिश्रले आफ्नो छाडा चौपाया लिन नआएपछि नगरपालिकाले उल्टै पालिदिनुपर्ने, घाँस र जनशक्ति उल्टै खर्च हुने गरेको बताउँदै उप–महानगरपालिकाले नियन्त्रणमा लिएका चौपायाधनी लिन नआए लिलाम बिक्री गर्ने व्यवस्था भए मात्र सडकमा छाडा चौपायाको संख्या घटन सक्ने उपप्रमुख मिश्रले बताइन्। मिश्रले धनीहरू कान्जी हाउसमा नियन्त्रणमा रहेका दुहुना गाई भए मात्र लिन आउने गरेको बताए। 

यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणदेखि भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणका लागि छाडा चौपाया प्राय नियन्त्रणमा लिएर सफा र चिटिक्क पारिएको जनकपुरधाम पुरानै अवस्थामा फर्किएको छ। पहिले भन्दा फोहर व्यवस्थित भए पनि चोक–चोकमा गाई वस्तुको गोबर तथा अन्य मलमूत्रसहित फोहोर थुप्रिएको छ। मिथिला चित्रकलाले चिटिक्क देखिएका भित्ताहरू समेत फोहोर भइसकेका छन्। भ्रमणका बेला फिनेल राखेर दुर्गन्ध हटाइए पनि अहिले नगर नै फोहोरको दुर्गन्धले ढाकेको छ। 

यता जनकपुरधाम उप–महानगरपालिकाकी उपप्रमुख झाले अब छाडा चौपाया तथा सुँगुर र कुकुरको नियन्त्रण अभियान नै थाल्ने बताए। यस विषयमा उप–महानगरपालिकाको बैठकमा छलफल भइरहेको बताए पनि हालसम्म कुनै ठोस पहल हुन सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.