मधेसको माग : द्वन्द्व होइन एकता, विभेद होइन विकास

|

रौतहट : गतवर्ष (२०७४) मंसिरमा सम्पन्न संघीय र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी मधेसमा सार्वजनिक आमसभा गर्न लागेको छ।

नेकपा प्रदेश २ कमिटीको आयोजनामा रौतहटको गरुडामा कार्यक्रम आयोजना हुन लागेको हो। भोलि शनिबार हुने कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेकपा प्रदेश २ कमिटी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले जानकारी दिए।

मधेसमा झन्डै डेढ वर्षपछि आयोजना हुन लागेको सत्ताधारी दल नेकपाको आमसभालाई ‘नेकपा सरकारले गरिरहेका काम जनतामाझ पुर्‍याउने र सरकार तथा पार्टी नेतृत्वसँग जनतालाई जोड्न’ उपयोग गरिने साहले बताए।

‘विगतमा कम्युनिस्ट र वामपन्थीहरूबारे यहाँका जनतामा भ्रम फिँजाइएको थियो। त्यो भ्रमलाई हटाउन यो कार्यक्रम आयोजना गरिन लागेको हो’, कार्यक्रमस्थल निर्माण र कार्यक्रमको संयोजनका लागि गरुडामा भेटिएका साहले भने, ‘मधेसीमाथि भएको विभेद हटाउन, यहाँको गरिबी हटाउन, पछौटेपन हटाउन कुनै पार्टीले काम गर्छ भने त्यो नेकपाले मात्रै गर्नसक्छ भन्ने यो जनसभामार्फत सन्देश दिन लागेका हौँ। सरकारले मधेसको, यो क्षेत्रको विकासका लागि गरेका काम र गर्ने काम जनतामाझ राख्न पनि यो कार्यक्रम आयोजना गर्न लागिएको हो।’

२०६३ चैत ७ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालिन माओवादीको मधेसी राष्ट्रिय मुक्ति मोर्चा र उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेसी जनअधिकार फोरमबीच गौरमा भएको हत्याकाण्डस्थलको१७ किलोमिटर उत्तरतर्फ हुन गइरहेको कार्यक्रमले ‘मधेसमा द्वन्द्व होइन एकता चाहिएको छ, विभेद होइन विकास चाहिएको छ’ भनेर जनतालाई सम्झाउन खोजिने पनि साहले बताए। नेपालको संविधान जारी भएपछि भारतले नेपालमाथि लगाएको नाकाबन्दीताका हालका प्रधानमन्त्री ओलीको पनि मधेससँग तिक्त सम्बन्ध थियो। जुन अहिले मत्थर भइसकेको भान हुन्छ। पार्टी र जनताबीचको सम्बन्ध थप सुमधुर बनाउन पनि आमसभा आयोजना गरिएको नेताहरू बताउछन।

रौतहटलाई मधेसमा कम विकास भएको जिल्ला पनि मानिन्छ। यो जिल्लालाई अर्को भाषामा ‘मधेसको कर्णाली’ भनेर पनि सम्बोधन गरिन्छ। सरकार र पार्टीको नेतृत्वलाई यहाँ ल्याएर वास्तविकता देखाउने अनि आर्थिक समृद्धिमा जिल्ला र प्रदेशलाई जोड्ने उद्देश्य रहेको साहको भनाइ थियो। उनले प्रदेश २ लाई नेकपा सरकारले विकासमा सबैभन्दा अगाडि उभ्याउने बताए।

रौतहट मधेस आन्दोलनको मुख्य स्थल हो। उपेन्द्र यादवदेखि महन्थ ठाकुर र राजेन्द्र महतोहरूले यो जिल्लालाई आधार बनाएर विगतमा सरकारविरुद्ध आन्दोलन चर्काएका थिए। अहिले यादव उपप्रधानमन्त्रीसहित ओली नेतृत्वको सरकारमा छन् भने ठाकुर-महतोले हालैमात्र सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आन्दोलनको चेतावनी दिइरहेका छन। यस्तो अवस्थामा नेकपा नेतृत्व र सरकारको नेतृत्वले मधेसमा आमसभा गर्नुलाई ‘सरकार मधेसप्रति संवेदनशील छ। सरकार चुप लागेको छैन, क्रियाशील छ भन्ने देखाउनु पनि हो’ भन्छन् साह।

यहाँ कार्यक्रम गर्नुको अर्को उद्देश्य अन्तर्राष्ट्रिय सन्तुलन बुझ्नु पनि रहेको साहको भनाइ थियो। उनले कुनै देशको नाम नलिए पनि भारतलाई इंगित गरेका थिए। भारतीय सीमानासँग जोडिएको जिल्ला भएकाले र नेपालको क्षेत्रीय राजनीतिक परिस्थिति परिवर्तन हुन गइरहेकाले आमसभामार्फत सन्देश दिन खोजिएको नेकपा नेताहरूको दाबी छ।

शुक्रबारमात्रै मधेसमा पृथकतावादी अभियान चलाइरहेका डा. सिके राउत र सरकारबीच ११ बुँदे सहमती भएको छ। यसले पनि नेकपाको कार्यक्रममा सकरात्मक प्रभाव पर्ने यहाँका नेताहरूले आँकलन गरेका छन। कार्यक्रममा जनताको र मुख्यगरी युवा सहभागिता बढ्ने अपेक्षा रहेको नेकपाका नेता तथा नेकपाका प्रदेश २ संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए।

शनिकार १२ बजे शुरु हुने कार्यक्रमका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ। जसका लागि काठमाडौंबाट पनि ठूलो संख्यामा सुरक्षाकर्मी रौतहट आउँदैछन्। प्रधानमन्त्रीका निजी सुरक्षा अधिकारी केही दिनयता रौतहटमै छन। यातायात, ट्राफिक व्यवस्थान चुस्त पारिएको साहले जानकारी दिए। नेकपाका प्रदेश २ का नेता, सांसद र मन्त्रीहरू कार्यक्रम सफल बनाउन खटिएका छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.