|

  • जीवराज चालिसे-

बुटवल : प्रदेश ५ को औद्योगिक विकासको कोशेढुंगो मानिएको मोतिपुर औद्योगिक कोरिडोर निर्माणको काम सुस्ताएको छ। कोरिडोरको वातावरणीय प्रभाव मूल्यांकन अर्थात् इआइएको काम अगाडि बढ्न नसक्दा निर्माण कार्य ठप्प भएको हो। 

वातावरणीय प्रभाव मूल्यांकनपछि मात्रै बस्ती व्यवस्थापन हुने हुँदा अहिले कार्यगति सुस्त हुन पुगेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महानिर्देशक नन्दकिशोर बस्नेतले बताए। वातावरण प्रभाव मूल्यांकनको प्रतिवेदन नआउँदासम्मका लागि काम रोकिएको महानिर्देशक बस्नेतले बताए। औद्योगिक क्षेत्रमा बस्ती व्यवस्थापनको कामलाई चुनौतीपूर्ण मानिएको छ। यसो त उद्योग मन्त्रालयले इआइएका लागि पहिले नै एक पटक कार्यसूचीसहित आवश्यक कागजातहरू वन तथा वातावरण मन्त्रालयमा पठाइसकेको थियो। तर कार्यविधिअनुसार सूचना प्रकाशन नगरी कार्यसूची पेश गरेकाले वन मन्त्रालयले त्यसलाई सोझै फर्काइ दियो।
त्यस पछि पुनः कार्यसूची आफ्नो टेबलमा आइनसकेको वन मन्त्रालयअन्तर्गतको वातावरण तथा जैविक व्यवस्थापन विभागले बताएको छ । यसैका कारणले  समयमै डीपीआरको काम सकिएको भएपनि इआइए अगाडि बढ्न सकेको छैन। ‘कार्यविधिअनुसार नभएपछि पुरानो कार्यसूचीलाई फर्काइ दिएका हौं। पछि फेरि पेस भएको  कुरा सुन्नमा आएपनि हाम्रो टेबलसम्म आएको छैन’ विभागका कर्मचारी सुवास शर्माले बताए, ‘त्यो आएपछि इआइएको लागि वातावरण विज्ञसहितको अध्ययन टोली फिल्डमा खटाउँछौं।’  

पुससम्ममा इआइएको काम सकेर भौतिक पूर्वाधार निर्माणको थालनी गर्नेभन्दै गत कार्तिकमा मोतिपुर औद्योगिक क्षेत्र परियोजना कार्यालयको स्थापना गरी उद्घाटनसमेत गरिएको थियो तर समयानुसार कामले गति लिन नसकेपछि हाल कार्यालय पनि कामविहीन हुन पुगेको छ। तर यता इआइएको लागि प्रक्रिया अगाडि बढाउन कार्यसूचीसहित आवश्यक कागजात वन मन्त्रालय पठाइसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको दावी रहेको छ।

वन मन्त्रालयले ढिला सुस्तीले इआइएको काम रोकिएको लिमिटेडका महानिर्देशक बस्नेतले बताए। ‘हामीबाट कार्यसूची वन मन्त्रालयमा पुगिसेको छ। फिल्ड अध्ययनमा वन मन्त्रालयले ढिला सुस्ती नगरेमा आउँदो चैतसम्ममा इआइएको काम सकिन्छ।’ महानिर्देशक नन्दकिशोर बस्नेतले बताए। अन्तिम विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेपछि गत जेठबाट नेपाल इन्भारोमेन्टल एण्ड साइन्टिफिक सर्भिसेज (नेस) ले इआइए प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको थियो। पुससम्मको समय पाएको नेसले समय सीमाभित्र इआइएको काम पूरा गर्न सकेन। 

बढ्दो सहरीकरणसँगै जग्गाको भाउ बढ्दै गएपछि धेरै उद्योगीकोलागि आसाको केन्द्र बनेको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य सुस्त हुनुले फेरि निराशा थपिएको छ। तिव्र औद्योगिक विकास हुँदै गरेको रुपन्देही जिल्लामा जग्गाको भाउ धेरै भएको भन्दै लगानीकर्ताले विकल्पका रुपमा अन्य जिल्लाहरूमा जान थालेको प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। 

रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले मोतीपुर औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया आशातीत रुपले अगाडि नबढेको भन्दै स्थानीय निकायसहित उद्योग सम्बद्ध संघ तथा प्रतिष्ठानहरूको एक समिति बनाई समयमै औद्योगिक क्षेत्र निर्माण गर्न दवाव दिनुपर्ने बताए। यसका लागि स्थानीय निकाय प्रमुख, प्रदेश सरकारलगायतका यहाँका उद्योगीहरूले समयमै काम सक्न संयुक्तरुपमा लविङ गर्नुपर्ने बताए। ‘रुपन्देहीमा जग्गाको भाउ आकाशिएको छ। यो देखेर लगानीकर्ताहरू हच्किएका छन्’ अध्यक्ष अधिकारीले भने, ‘प्रदेश सरकारले पनि मोतीपुर औद्योगिक क्षेत्रको द्रूत गतिमा निर्माण गर्न लविङ गर्नुपर्छ।’ 

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले औद्योगिक क्षेत्रको निर्माण प्रक्रियाकालागि आफूहरूले दवाव दिइरहेको बताए। प्रमुख सुवेदीले यसकालागि प्रदेश सरकारसँग छलफल समेत भएको जानकारी दिए। ‘औद्योगिक क्षेत्र निर्माणको विकल्प छैन। प्रदेश सरकार,उद्योग संघलगायतका सरोकारवालाहरुसँग समन्वय गरी तीव्र रुपमा यसको निर्माणको लागि पहल जारी राखेका छौं’ प्रमुख सुवेदीले बताए। 

कस्तो बन्दै छ मोतिपुर औद्योगिक क्षेत्र?

८१३ विगाहा क्षेत्रफलमा पाँच वर्षभित्र अनुमानित ८ अर्वको लागतमा निर्माण हुन लागिरहेको मोतिपुर औद्योगिक क्षेत्रमा ५४४ औद्योगिक प्लट हुनेछन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको जग्गालाई तीन सेक्टरमा विभाजन गरेर काम अघि बढाएको छ। रुपन्देही जिल्लाको बुटवल उप–महानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिको क्षेत्रफललाई समेट्ने गरी बन्न लागेको औद्योेगिक क्षेत्र २०४१ साल यताको पहिलो हुनेछ।

तिलोत्तमा नगरपालिकालाई ‘ए’ वर्ग, मोतीपुर क्षेत्र ‘बी’ वर्ग र फर्साटिकर क्षेत्रलाई ‘सी’ वर्गमा राखेर ती प्लटको निर्माण गरिने मोतिपुर औद्योगिक क्षेत्र परियोजना कार्यालयका कार्यालय प्रमुख अशोक अर्यालले जानकारी दिए। ‘ए’ सेक्टरमा १३० प्लट निर्माण हुनेछन्। त्यस्तै सबैभन्दा ठूलो ‘बी’ सेक्टरमा १६२ प्लट र  ‘सी’ सेक्टरमा १५२ प्लट बन्नेछन्। एउटा प्लटको आकार पाँच बिघादेखि २१ बिघासम्म रहन सक्ने कार्यालय प्रमुख अर्यालले बताए।

औद्योगिक क्षेत्रभित्र चार लेनको मुख्य सडक, दुई लेनको सहायक सडक, साइकल लेन र फुटपाथ निर्माण हुनेछ। त्यस्तै विद्युत् आपूर्ति चौबीसै घण्टा हुनेछ, जसका लागि औद्योगिक क्षेत्रभित्र ४० मेगावाटको फिडरसमेत बन्ने छ। औद्योगिक क्षेत्रमा वाटर ट्रिटमेण्ट प्लाण्ट र स्वास्थ्य केन्द्रको समेत सुविधा हुने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.