|

रौतहट : मधेस विरोधीको आरोप खेपिरहेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटको गरुडाबासीले ‘ग्रयाण्ड’ स्वागत गरेका छन्। प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न रौतहट आएका प्रधानमन्त्री ओलीलाई बिभिन्न जिल्लाका गाउँ गाउँबाट झाँकीसहित र्‍याली गर्दै हजारौं जनताहरू कार्यक्रमस्थल पुगेका थिए। मधेस आन्दोलनमा ज्यान गुमाएकाहरूलाई २/४ वटा आप झरेको संज्ञा दिएपछि प्रधानमन्त्री ओली मधेसमा आलोचित भएका थिए।

प्रदेश २ का ८ जिल्लाका नेता तथा कार्यकर्ता पुगेको सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटै मन्चबाट पार्टी एकता केही दिनमै तल्लो तहमा आइपुग्ने बताएका छन्। रौतहटको गरुडामा आयोजित प्रदेश २ को प्रदेशस्तरीय भेलालाई सम्बोधन गदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अब पार्टी एकतामा कसैले पनि शंका नगर्न आग्रह गरेका छन्। देशलाई समृद्ध बनाउने काम नेकपाको मात्रै भएकोले यो एकता अटुट रहने हुनाले ढुक्क भए स्थानीय तहहरूमा विकाशको लहर ल्याउने काममा सघाउन प्रधानमन्त्री ओलीले  आग्रह गरेका छन्।

देशलाई समृद्ध बनाउनको लागि ४६ वर्ष अगाडि रौतहटबाट नै आन्दोलनको क्रममा गिरफतार भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले देशमा आमुल परिर्वतन गर्न रौतहटको भूमिको अतुलनीय योगदान रहेको बताए। अब मधेसको विकास नेकपाले मात्र गर्न सक्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘तराइ मधेस विशेष कार्यक्रमअन्तर्गत ३५२ करोड रुपैयाँ यो सरकारले विनियोजन गरेको  र हुलाकी सडक पनि नेकपा कै परिकल्पना भएकोले यो सडक अर्को चुनाब आउनुभन्दा पहिले नै निमार्ण कार्य पूरा हुन्छ।’ प्रधानमन्त्री ओलीले थपे, ‘अब यो सरकार देश विकासमा लागि पर्ने छ। जसअनुसार मधेसका सदरमुकामसँग जोडिने हरेक राजमार्ग ४ लेनको बन्छ। त्यसैगरी पूर्व-पश्चिम महेन्द्र राजमार्ग पनि ४ लेनको बनाउने सरकारले लक्ष्य बोकेर हिडेको छ।'

राजपालाई इंगित गदै प्रधानमन्त्री ओली भन्छन्, 'एक पटकलाई जनतालाइ झुक्काएरले मत पायौँ भन्दैमा ठूलो कुरा नगरे हुन्छ। अबको निर्वाचनमा यो प्रदेश २ मा पनि नेकपाको बहुमतको सरकार बन्छ।’ स्वतन्त्र मधेसको नारा लगाउदै हिडने सिके राउतसमेत देशको संविधान अनुरूप आएको बताउँदै प्रधानमन्त्री ओलीले भने ‘अब सबै मिलेर २१ औँ सताब्दीको देश बनाउन एकजुट भएर हिडनु पर्छ।’

प्रदेश २ को सरकारले बेटी बचाऊ ,बेटी पढाऔ भन्ने नाराको प्रशंसा गर्दै ओली भन्छन्, ‘यस्ता समाज सम्वृद्ध बनाउने अभियानहरू ल्याउनेलाई सरकारले सक्दो सहयोग गर्छ।’

यसैगरी, नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता अबको केही दिन मै तल्लो तहले अनुभूत हुने गरी परिणाम आउने बताएका छन्। पार्टी एकताले ७० वर्ष देखिको अस्थिरतालाई रोकेर स्थिरता ल्याएको अध्यक्ष प्रचण्डको दाबी थियो। २००६ सालमा नेकपाको स्थापना भएपछि आन्दोलनको शुरुवात गर्ने जिल्लाको रुपमा परिचित रौतहटको इतिहास रहेको बताउँदै अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न रौतहटबाट शुरु भएको किसान आन्दोलनको अहम भूमिका भएको बताए। विभिन्न आन्दोलनमा मधेसका करिब एक हजार तीनसय शहीदहरूले ज्यान गुमाएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘यदी नेकपाले चाह्यो भने प्रदेश २ को सरकार पनि आफ्नै बनाउन सक्छ। तर हाल नेकपाले त्यस्तो सोचेको छैन।’

यसैगरी नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आम नेता तथा कार्यकर्ताहरूलाई देशभक्तिको भावना लिएर अगाडि बढ्न आग्रह गरेका छन्। सुखी नेपाली समृद्ध नेपालको नारालाई सफल बनाउन सबैले इमान्दार भएर अगाडि बढ्न नेता नेपालले आग्रह गरे। रौतहट कम्युनिस्ट पार्टीको केन्द्रबिन्दु भएको बताउँदै नेता नेपालले भने ‘२०१५ सालको निर्वाचनमा देशभरिमा ४ सिट जितेको कम्युनिस्ट पार्टीले जसमध्ये रौतहटमा मात्रै २ सिट जितेको छ।’ यस अर्थ पनि रौतहट नेकपाको किल्ला भएको नेता नेपालको दाबी थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.