|

बैतडी : दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक छ हजार प्रोत्साहन भत्ता दिएको छ। गाउँपालिकाभरिका ८७ महिला स्वास्थ्य स्वयंसेविकालाई छ हजारका दरले पाँच लाख २२ हजार रकम वितरण गरिएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए। 

गत वर्षभन्दा एक हजार थप गरेर प्रोत्साहन भत्ता छ हजार पुर्‍याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए। स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पुर्‍याएको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता दिइएको उनको भनाइ छ। 

महिला स्वास्थ्य स्वयंसेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन्। नागरिकका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेका छन्। स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिइएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन्। 

गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाले गत वर्षबाट प्रोत्साहन भत्ता पाइरहेका छन्। गाउँपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउँदा स्वास्थ्य स्वयंसेविका धेरै खुशी भएका श्रीकोट स्वास्थ्यचौकीका महिला स्वयंसेविका गोमती विष्टले दाबी गरिन्। गाउँपालिकाले आफूहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदा धेरै सजिलो भएको अर्की स्वास्थ्य स्वयंसेविका जयन्ती ऐरीको भनाइ छ। 

महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत कुरामा सहयोग गर्दै आइरहेका छन्। गाउँपालिकाका आठ वडामा ८७ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन्। बैतडीका १० स्थानीय तहमा ८३२ महिला स्वास्थ्य स्वयंसेविका छन्। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.