|

जनकपुरधाम : जनकपुरधाम–जयनगर रेल सञ्चालन गर्न सरकारले रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया सुरु गरेको छ। अगामी वैशाखदेखि सञ्चालनको तयारीका लागि रेल विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन विधि निर्माणको कार्य सुरु गरेको हो।

पहिलो चरणमा जयनगर–जनकपुरधाम–कुर्था ३५ किलोमिटर रेल सञ्चालन गर्ने सरकारको तयारी छ। जसका लागि आवश्यक कर्मचारी छनोटको प्रक्रिया सुरु गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। उनका अनुसार उक्त रुटमा निर्माण भएको सात वटा स्टेशन तथा सबस्टेशनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया सुरु भएको छ। कर्मचारी छनोट प्रक्रिया केही दिनमै पूरा हुने महानिर्देशक मिश्रले बताए।

प्रतिस्टेशन र सबस्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सात देखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको बताए। मुख्य स्टेशनमा भने केही बढी कर्मचारी आवश्यक हुने भएकाले सोही अनुसारको कार्यविधि निर्माण गरिरहेको महानिर्देशक मिश्रको भनाइ छ।

कुर्था र खजुरीलगायतका केही स्टेशनमा केही बढी कर्मचारी आवश्यक भएकाले आवश्यकताअनुसार कर्मचारी परिचालन गर्ने बताए। सरकारले भारतबाट दुई वटा रेल खरिद गर्ने प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको मिश्रले बताए।  उकत दुई वटा रेलको मूल्य करिब एक अर्ब पर्ने जनाइएको छ। जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र जनकपुरबाट कुर्थासम्मको ६ किलोमिटर गरी उक्त रेलमार्ग ३५ किलोमिटरको छ। पछि त्यसलाई बिस्तार गरेर ५२ किमी बनाइने छ।

नेपालको पहिलो रेलमार्ग सन् १९७२ सालमा बेलायतले सरकारले न्यारोगेज रेलवे निर्माण गरिदिएको थियो। ३९ किमी लामो सो रेलमार्गले भारतको रक्सौल र नेपालको अमलेखगञ्जलाई जोडेको थियो। त्यहाँबाट भीमफेदीसम्म हेभी इक्विपमेन्ट ढुवानी हुन्थ्यो। दोस्रो, बेलायतले नै सन् १९३७ मा जयनगर–जनकपुरस ४५ किमी लामो रेलमार्ग निर्मिाण गरेको थियो। त्यस रेलमार्गबाट नेपालको काठ भारत ढुवानी गरिन्थ्यो।  त्यसलाई बिजलपुरासम्म विस्तार गरिएको थियो।

रक्सौल–अमलेखगञ्ज रेलवे ट्रयाक सन् १९६५ सम्म अपरेसनमा रहेकोमा जनकपुर र बिजुलपुरा बीचको रेलवे लाइन सन् २००१ मा बन्द भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.