|

जनकपुरधाम : जनकपुरधामस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कर्मचारीहरुले तालाबन्दी गरेका छन्। धनुषा जिल्लाको जनकपुरधाम उप–महानगरपालिका वडा नं. ७ ब्रहमपुरीस्थित जानकी मेडिकल कलेजको शिक्षण अस्पतालमा पूर्व-कर्मचारीहरुले तालाबन्दी गरेका हुन्।

जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत पूर्व-कर्मचारीहरुले आफूहरुको बाँकी बक्यौता तलब नदिएको भन्दै अस्पतालको काउण्टरमा तालाबन्दी गरेको हो। धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालको शाखाको रुपमा सञ्चालित जनकपुरको ब्रह्मपुरीस्थित शिक्षण अस्पतालको काउण्टरमा करिब १ दर्जन पूर्व-चिकित्सकहरुले तालाबन्दी गरेका हुन्।

विगतमा काम गरेर छाडेको वर्ष दिन भन्दा बढी भएपनि काम गरेको पारिश्रमिक नदिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको चिकित्सक डा. कर्मेन्द्र यादवले बताए। तालाबन्दी पश्चात् अस्पताल व्यवस्थापन पक्षले आफ्ना समर्थकहरुलाई बोलाएर ताल्चा फुटाएका थिए। काउण्टरमा तालबन्दी गरेपछि झण्ड २ घण्टा अस्पतालको सेवा प्रभावित भएको थियो।

डा. कमेन्द्र यादवले आफ्नो २०६८ यता विभिन्न समयको ९ लाख ५० हजार रुपैयाँ बाँकी बक्यौता रहेपनि पटक–पटक माग गर्दासमेत नदिएको गुनासो गरे। उनले भने, ‘मैले काम गर्न छोडेको एकवर्ष भइसक्यो। तर हालसम्म तलब दिएको छैन। तलब भत्ता नदिएकपछि आज हामी बाध्य भएर तालबन्दी गरेका हौं', उनले थपे, 'अस्पताल व्यवस्थापन पक्षले मतलब गरेको छैन। तालाबन्दी गर्दा गुण्डाहरु बोलाएर धाकधम्की दियो, ताल्चा फुटाए। हामी न्यायको लागि कहाँ जाऊँ?’

अस्पतालमाथि आफ्नो १ लाख ५० हजार रुपैयाँ तलब बाँकी रहेको बताएउँदै पूर्व-चिकित्सक विपीन झाले अस्पताल छाडेको वर्षदिन बिते पनि तलब दिन आनाकानी गरेको गुनासो गरे। त्यस्तै अस्पताल छाडिसकेका डा. अनिल मण्डलले समत आफ्नो २ लाख १५ हजार तलब बाँकी बक्यौता रहे पनि माग गर्दा उल्टै हप्काएको आरोप लगाए।

यस्तै डा. सम्भु साह, गौतम झा, डा.अस्विनी झा, डा.आशोक अधिकारी, डा. सरोज यादव, श्याम गिरी लगायको अस्पतालमाथि लाखौँ पारिश्रमिक बाँकी रहेको छ। तर अस्पताल व्यवस्थापन पक्ष पटक-पटक आश्वासन दिएर तलब दिने मानसिकतामा नरहेको उनीहरुको गुनासो छ। जानकी मेडिकल कलेजमा यसअघि पनि कर्मचारीहरुले पारिश्रमिकका लागि पटक–पटक तालाबन्दी गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.