|

सिन्धुपाल्चोक : चीनसँग व्यापारको महत्वपूर्ण तातोपानी नाका बन्दसँगै यस क्षेत्रमा मात्र होइन नेपालकै व्यापारिक कारोबार प्रभावित भएको थियो। कुनैबेला चहलपहल हुने र निक्कै व्यस्त रहने तातोपानी सुनसान थियो। काठमाडौंदेखि तातोपानीसम्मको यात्रामा सडकको दायाबायाँ हुने व्यपारिक गतिविधि पनि ठप्प जस्तै थियो। तर अब तातोपानी नाकालाई खोल्ने तयारी भइरकेहो छ। योसँगै यस भेगले फेरि नयाँ रंग पाउने विश्वास गरिएको छ।

जुरे पहिरो, भूकम्प र भोटेकोशी बाढीले तहसनहस बनाएको तातोपानी नाका ‘मे’ दिवस अर्थात् वैशाख १६ बाट खुलाउने तयारी गतिमा भइरहेको छ। नाका सञ्चालनमा आउने भएपछि सीमा क्षेत्रमा चहलपहल पनि सुरु भएको छ। तातोपानी सञ्चालनमा नआउँदा सीमा क्षेत्र सुनसान थियो। तर, नाका सञ्चालनको तयारी बढेसँगै सीमाक्षेत्रमा मानिसहरूको चहलपहल बढेको भोटेकोशी गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले जनाए। 

तातोपानी नाका सञ्चालनको लागि चिनियाँ पक्षले द्रुत गतिमा काम थालेपछि चहलपहल बढेको हो। तातोपानी नाका सञ्चालनमा नआउँदा दुवै देशलाई व्यापार असहज भएको छ। नाका बन्द भएपछि स्थानीयको रोजीरोटी समेत खोसिएको छ। नाका सञ्चालनमा नआउँदा सिमाक्षेत्रमा व्यापार गरेको जीविका चलाउँदै गरेको सयौँ युवायुवती वैदेशिक रोजगारीको लागि बाहिरिएको उनको भनाइ छ। 

नाका सञ्चालनमा आउने भएपछि सीमावासी हर्षित भएका छन्। चीनका प्राविधिकले भूकम्पपछिको पहिरो हटाउँदै व्यापारिक नाका जोड्ने सडक पूर्वअवस्थामा ल्याएका छन्। सडक सुधारसँगै नाकाबाट व्यापार सञ्चालन हुने आसमा रहेको स्थानीय सांगे शेर्पाले जनाए। नाका सञ्चालन हुने आशा जागेकाले स्थानीयले साना किराना पसल, होटेल र तरकारी पसलहरू खुलाउन थालेको उनको भनाइ छ। 

‘नाका खुल्नेमा शङ्का छैन’– मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीरले तातोपानी नाका आउँदो वैशाखबाट सञ्चालनमा आउनेमा शङ्का नगर्न आग्रह गरेका छन्। गत साता तातोपानी नाकाक्षेत्रको अवलोकन गर्न आइपुगेका महासेठले तातोपानी नाका सरकारले महत्त्वपूर्ण तवरले हेरेको हुनाले सञ्चालनमा आउने बताए। 

‘सरकार तातोपानी नाका सञ्चालनको विषयमा गम्भीर भएको छ, नाका सञ्चालनमा नआउँदा देशको अर्थतन्त्रमा ठुलै नोक्सानी परेको हुनाले नाका सञ्चालनमा ल्याउनु सरकारको आवश्यकता हो’ उनले भने। 

नाका सञ्चालनका लागि चिनियाँ पक्षबाट बन्दगाह, सडक र मितेरी पुलआसपासको तीव्र गतिमा काम भइरहेकाले नाका अबको तीन महिनामा खुल्ने उनले बताए। नेपाल सरकारले पनि तातोपानी नाका सञ्चालनको लागि पहलकदमी गरिरहेको समेत जनाए। 

नाका सञ्चालन नहुँदा सिन्धुपाल्चोक बासीको मात्रै नभएर देशकै अर्थतन्त्रमा गम्भीर असर परेको उनको भनाइ छ। तातोपानी नाकाको विकल्पमा सरकार अन्य नाकाहरूको अध्ययन गरेको भए पनि तातोपानी नाका जस्तो सहज अरू हुन नसक्ने दाबी गरे। ‘नाका सञ्चालनको लागि केही अफ्यारा परिस्थितिसँग जुध्नुपर्छ, जस्तो भए पनि नाका सञ्चालनमा आएपछि तातोपानी नाका जस्तो अन्य नाकाबाट सहजै व्यापार गर्न सकिँदैन’ उनले भने।

पूर्वाधार निर्माण तीव्र

भूकम्प, भोटेकोशी बाढीले असर पुर्‍याएको बाह्रविसे देखि तातोपानी नाका सम्मको सडक निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। राजमार्गको बाह्रबिसे लिपिङ खण्डको २६ किलोमिटरमा दर्जनभन्दा बढी ठाउँमा पहिरोले सडक कटान गरेको थियो। जुन सडक निर्माणको कार्यलाई द्रुत गतिमा अगाडि बढाइरहेको सीमा सुरक्षामा साटिएको सशस्त्र प्रहरीका डिएपि कृष्ण गुरुङले बताए।

नाका सञ्चालनको लागि नेपाली र चिनियाँ गरी करिब १२ सयभन्दा धेरै जनशक्तिले काम गरिरहेको समेत बताए। भूकम्प लगत्तै सरकारको अनुरोधमा सुरु भएको सडक मर्मत भोटेकोशी बाढीले रोकिएको थियो। 

तातोपानी नाका सञ्चालनको लागि चीनले चासो देखाएपछि मङ्सिरबाट कामलाई तीव्रता दिएको छ। सडक क्षतविक्षत हुँदा यातायाको  साधन समेत सहजै चल्न सकेका छैनन्। सवारी साधन नचल्दा स्थानीयले सास्ती खेप्त बाध्य भएका छन्। 

चीनको सुरक्षा चासो 

नेपाली प्रतिनिधि र चिनियाँ पक्षको प्रतिनिधिबिच तातोपानी नाका सञ्चालनको विषयमा दर्जनौँ बैठक बसेको छ। चिनियाँ पक्षले तातोपानी नाका सञलनमा ल्याउन जिब्रो चपाउनुको मूल जड सुरक्षालाई लिएको छ। 

नाका सञ्चालनपछि नाकाबाट अवैद्य कारोबारमा वृद्धि हुने भएकाले चिनियाँ टोलिने नाका सञ्चालनमा चासो नदेखाएको थियो। नेपाल सरकारले चीनलाई सुरक्षा व्यवस्था चुस्त राख्न आग्रह गरेको थियो।  २०७२ देखि २०७५ को फागुनसम्मका नाका सञ्चालनको विषयमा एक दर्जन भन्दा धेरैपटक बैठक बसेको छ। त्यसको निनियाँ टोलिने सरकारलाई सिमासुरक्षाकोे विषयमा पटक पटक कुरा उठाइरहेको जनाएको छ। 

नाका बन्द भएको करिब नौ महिनापछि तिब्बतका सिडियो पेङ लु वी, तिब्बत सुरक्षा प्रमुख गाओ वान्हा र जनमुक्ति सेनाका कोलोनेल वाङसँग तत्कालीन प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको टोलीसँग सिन्धुपाल्चोककको चौतारामा सीमा सुरक्षा बैठक सम्पन्न भएको थियो। नेपाली अधिकारीहरूले नाका सञ्चालनको कुरा प्राथमिकताका साथ उठाएपछि चिनियाँले खासामा बोलाएर नाका खोल्ने औपचारिक सूचना दिएका थिए।

बन्दगाह निर्माण अन्तिम चरणमा

नेपाल र चीनबीचको उत्तरी सीमा तातोपानी नाकामा बन्दै गरेको बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेको छ। चीन सरकारको एक अर्ब २० करोड रुपियाँ लगानीमा निर्माण हुँदै आएको बन्दरगाहको करिब ९५ प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको भोटेकोशी गाउँपालिका अध्यक्ष पौडेलले जनाए।

चिनियाँ ठेकेदार निर्माण कम्पनी सीआरसीसीले दिएको जानकारी अनुसार बन्दरगाहमा रहने भन्सार, क्वारेन्टाइन, गोदाम, जाँचपास यार्ड, चेकपोस्ट, बैङ्क, आवास निर्माण, ग्राउन्डलगायतका संरचना निर्माण सम्पन्न भएका छन्। गोदाम घरमा १५८ ठुला कन्टेनर एकैचोटी राखेर जाँचपास गर्न सकिनेछ। बन्दरगाह निर्माण अत्याधुनिक उपकरणबाट हुँदै समेत उनले जनाए। 

लार्चामा निर्माण भएको बन्दरगाहमा जोड्ने पुलको दुई साइडमा जिप तयार गरी पुल हाल्ने तयारी पनि अन्तिममा पुगेको उनको भनाइ छ। 

बन्दरगाहको माथिल्लो क्षेत्रमा बन्ने पार्किङ र बन्दरगाह जोड्ने पुलको निर्माण अन्तिम चरणमा पुगेको सीआरसीसीका नेपाली भाषा अनुवादक रामकृष्ण दुलालका जानकारी दिए। बन्दरगाह अन्तर्राष्ट्रिय मापदण्डअनुरुप निर्माण भएको उनले बताए। 

२०६९ पुसबाट बन्दरगाह निर्माण सुरु गरिएको थियो। बन्दरगाह सन् २०१९ भित्रमा निर्माण सम्पन्न गरी चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको छ। २०७१ साउन १७ गतेको जुरे पहिरो, २०७२ असारको भोटेकोसी बाढी र २०७२ वैशाख १२ गतेको भूकम्पले बन्दरगाह निर्माण कार्य ठप्प भएको थियो।

सीमावासीमा खुसियाली फर्कंदै

तातोपानी नाका सञ्चालनमा आउने भएपछि सीमा क्षेत्रमा खुसियाली छाउन थालेको छ। नाका बन्द भएपछि दैनिक गुजारामा समस्या थियो। नाका सञ्चालनमा आएपछि खुद्रे व्यापार गरेरै भए पनि सहजै जीविका चलाउन सकिने स्थानीय कामी शेर्पाले बताए। ‘दैनिक गुजारमा समस्या परेका हामीजस्तो धेरै छन्, त्यसले नाका सञ्चालनमा आउने कुराले सीमावासी हर्षित भएका छन्’, स्थानीय शेर्पाले भने। 

तातोपानी नाका सञ्चालनमा आउँदा सयौँको सङ्ख्यामा होटेल पसलहरू सञ्चानल हुने गरेका थिए। नाका बन्दभएपछि अहिले सबै सुनसान भएको थियो। तर, वैशाखबाट खुल्ने सङ्केत देखिएपछि सिमाक्षेत्रमा चहलपहल समेत बढेको छ। थाकथलो छोडेर गएकाहरू समेत फर्कन थालेका छन्। 

पर्यटकको आवागमनमा वृृद्धि हुने

नाका सञ्चालनमा आएपछि आर्थिक मात्रै वृद्धि नभएर पर्यकक आवागमनमा समेत वृद्धि हुन प्रदेश ३ का पर्यटन मन्त्री नेपालले जनाए। सीमा क्षेत्रमा आन्तरिक तया बाह्य पर्यटक वृद्धि हुन्छ, जसले गर्दा आर्थिक सुधारमा ठुलो टेवा पुग्छ, मन्त्री नेपालले भने।

नाका सञ्चालनमा आउँदा तातोपानी धारामा नुहाउने आउनेको सङ्ख्यामा समेत वृद्धि हुने उनले बताए। अहिले सडक सञ्जाल सहज नहुँदा तातोपानी धारामा आउने भक्तजनको सङ्ख्यामा गिरावट आएको छ। तातोपानी व्यापारिक मात्रै नभएको पर्यटकीय क्षेत्रको रूपमा समेत चिनाउने लक्ष्य लिएको मन्त्री नेपालको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.