|

उदयपुरः वर्षभरीको लागि खाने अन्न जसरी जोहो गरिन्छ, त्यसैरीनै खानेपानीको जोहो गर्नु पर्छ भन्दा अच्चम लाग्न सक्छ। तर, उदयपुरको चुरे पहाडी वस्तीहरुमा एक वर्षलाई पुग्ने खानेपानीको जोहो नगरी त्यहाँका वस्तिमा सुख्नै छैन। किनभने यहाँ  पिउने पानी नै पाइदैन।

उदयपुरगढी गाँउपालिकामा पर्ने बतासेका दिलबहादुर मगर घर नजिकैको पानी ट्याङकी देखाउँदै भन्छन, ‘असार, साउन अनि भदौमा परेको पानी जम्मा गरेर एक वर्षलाई पुर्‍याउनु पर्छ। मगर मात्र होईन, उदयपुर त्रियुगा नगरपालिका–१४ नेपानेकी नन्दमाया मगरको घर अगाडि सिमेन्टकै ट्यांकी छ। आकाशे पानी संकलन गर्न जस्तापाताको छानोबाट पाइप जडान गरिएको ट्याङकीनै खानेपानीको स्रोत हो।

‘ट्यांकीमा संकलित पानीनै वर्षभरी पिउने गरिन्छ,’ उनले भनिन, ‘सलाई घैंटे पानी संकलन प्रविधि भन्छन्, हाम्रातिर मात्र होई चुरेका उच्च पहाडी क्षेत्रमा बसोबास गर्नेहरुको सवैको घरमा छ।’ घरपिच्छे २ हजार लिटर क्षमताका ट्यांकी राखिएका छन्।

नन्दमायाका अनुसार नुहाउन, कपडा धुन, पशु–चौपायाको प्यास मेटाउन तीन घण्टा टाढाको खोल्साखाल्सी धाउनुपर्छ। शौच गर्न जंगलतिर जानुपर्ने र सरसफाइका लागि हप्तौं कुर्नुपर्ने स्थानीयको गुनासो छ।  उदयपुर गढी गाँउपालिकाको केन्द्र उदयपुरगढीमा खानेपानी समस्या परम्परागतनै छ। खानेपानी अभावकै कारण २०२७ सालमा उदयपुर जिल्लाको सदरमुकाम रहेको उदयपुर गढीबाट सदरमुकाम गाईघाट सारिएको थियो।

त्यसपछि मुलुकमा धेरै ठूला ठूला परिबर्तन आए, विकासका नाममा करोडौ रकम खर्च भए तर, धित मारेर तिर्खा मार्ने पानी गढीबासीको चाहना अझै पुरा भएको छैन। सुख्खा मौसम सुरु भएसँगै उदयपुरका विभिन्न पहाडी क्षेत्रमा खानेपानीको हाहाकार सुरु भएको छ। लामोसमय खडेरी परेका पहाडी क्षेत्रका अधिकांश खानेपानीका मुहान सुकेका छन। ‘खानेपानीको धारा घर घरमा बनेका छन, पानी आँउँदैन,’ लिम्चुङबुङ गाँउपालिकाका अध्यक्ष मेजरकुमार राईले भने, ‘एक पुराना योजनाहरु देखाउटे मात्रका छन, अर्को जलवायु परिवर्तनले समेत पानीका मुहान सुक्दै गएका छन, अनि पानीको हाहाकार फैलिएको छ, लिम्चुबुङब लगायतका क्षेत्रमा सुनकोसी खानेपानीको लिप्टिङ योजना अघि सारिएको छ।’

०६८ सालको जनगण्नामा आधारित साविकको जिल्ला खानेपानी तथा सरसफाई कार्यालय अनुसार जिल्लामा जम्मा ६८ हजार २ सय ५८ घरपरिवारमा  १० हजार ९ सय ९४ घरले कुवा, खोला र मुलको पानी पिउँदै आएको भनिएको छ। जसमा खोलाको पानी पिउने १ हजार ५ सय ४१, मुलको पानी खाने ८ सय ७ घर, र कुवाको पानी पिउने ८ हजार ६ सय ४६ घरपरिवार छन्।

कार्यालयले आर्थिक वर्ष ०७३-०७४ मा तयार पारेको जिल्ला खानेपानी प्रोफाइलमा जिल्लामा जम्मा ८३ प्रतिशत खानेपानी घरपरिवारलाई खानेपानीको सुविधा पुगेको र बाँकी १७ प्रतिशत अपुग भएकोे जनाइएको छ। 


योजना अलपत्र
६ वर्ष अघि हातिखर्क खानेपानी योजनाको काम सुरु भएको थियो। उदयपुरको कटारी नगरपालिका ११, १३ र १४ वडालाई पुग्ने गरी सुरु भएको योजना अहिले अलपत्र बनेको छ। आर्थिक ०६९-०७० बाट सुरु भएको पञ्चवर्षे ५ करोडको लागत भएको योजना अहिले प्रदेश सरकारको जिम्मा पुगेको छ। ‘काम सुरु भएको ६ वर्षमा पाइप विछ्याउने मात्र काम भएको छ,’अध्यक्ष राईले भने, ‘प्रदेश सरकारबाट योजनाको पैसा आउने भन्ने सुनेको छु, तर, जिल्लामा कार्यालय कहाँ छ, देखेको छैन।’ साविकका हर्देनी, मयाँखु, लेखानीलाई खानेपानी पुर्‍याउने योजना अहिले अलपत्र परेको छ।

देशको राजनीति व्यवस्था परिवर्तन भएपछि खानेपाली योजनाहरु अलपत्र परेको हात्तिखर्क खानेपानी योजना मात्र होेईन। यस्ता योजनाहरु धेरै रहेका छन। जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय विघटन भएको छ। प्रदेश सरकार मातहत रहने खानेपानी डिभिजन ३ सुनसरीको फिल्ड कार्यालय उदयपुरमा छ। त्यो पनि कर्मचारी विहीन। कार्यालयमा कर्मचारी समेत भेटिदैन्न। एक अर्व ९ करोड लगातमा १७ ओटा ठूला तथा साना खानेपानी आयोजनाको अलपत्र परेको छन।

ठेकेदार र उपभोक्ता समिति मार्फत काम भइरहेका योजनाहरु अहिले घर न घाटका बनेको कटारी नगरपालिका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ बताउँछन। ‘प्रदेश सरकारको जिम्मा गएका कार्यालयहरुले गुर्नपर्ने काम नर्गदा समस्या भएको छ,’ उनले भने, ‘विशेष गरेर खानेपानी योजनाहरु अलपत्र परेका छन।’
यी क्षेत्रमा पानीको अभाव
चुरे र महाभारत पहाड क्षेत्रमा वर्सेनी पानीको स्रोत क्रमस घट्दै गएको छ। चुरे र महाभारत बीचको त्रियुगा नदी तटीय क्षेत्रमा समेत त्यसको असर परेको छ। स्रोत सुक्दा महाभारत पहाडका गाउँ बस्ती प्रभावित भएका छन्। बढ्दो वन विनाशसँगै वर्षौंदेखि स्रोत सुक्ने क्रम बढ्ने क्रममै थिए। जलवायु परिर्वतनका कारण वर्षेनी लामो समयको खडेरी असर गर्दा पानीको स्रोत सुकेको स्थानीय गौरव कार्कीले बताए। ‘पुस माघदेखि नै क्रमस पानीको स्रोत सुक्दै आएको छ,’ कार्कीले भने, ‘त्यसैले नदी तटीय क्षेत्रमा सर्वसाधारणलाई पशुपालनसँगै अन्न उत्पादनमा समेत असर गरेको छ।’ ‘महाभारत क्षेत्रमा पुस अन्तिमदेखि नै पानीको स्रोत सुक्ने समस्या आएको हो,’ चुरे तलको दमौतीका देवकुमार राईले भने, ‘अहिले आएर ठप्पै भएको छ।’ स्रोत सुक्दै जाँदा पिउने पानीको समेत समस्या छ, उनले भने।

महाभारत क्षेत्रमा पर्ने दजर्न बढी पहाडी बस्तीमा अन्य समयमा समेत पानीको समस्या थियो। चौडण्डी, मैनामैनी, लेखानी, मंयखु, डुम्रे, बर्रे, भलयडाँडा, पंचवती, रिस्कु लगायतका बतीमा पिउनेपानीको समस्या छ। त्यसैगरीचुरे तलका बेल्टार, बसाह, रामपुर, कटारी लगायतका बजारमा नि पानीको समस्या छ। पानी अभावमा महाभारत पहाडमा पर्ने दर्जनौं बस्ती बसाइँ सरी त्रियुगा नदीको तल्लो तटयी बसाइ सर्ने क्रम बढेको छ। 

नदी तटीय क्षेका बासिन्दाले प्रयोग गर्दै आएको इनार र चापाकल सुकेका छन। पानीको स्रोत वर्षेनी बढदो खडेरी र भूकम्पले तल्ल गएकाले सुकेको हुन सक्ने स्थानियले अनुमान गरेका छन। नदी तटीय क्षेत्र त्रियुगा, चौडण्डिगढी र वेलका नगरपालिकाका जोगिदह, हडिया, सुन्दपपुर र तपेश्वरीका सर्वसाधारण अहिले पानीको विकल्पको खोजीमा जुटेका छन। ‘उपयोग गर्दै आएको पानीको स्रोत सुकेपछि अहिले नदीको दूषित पानी पिउनुपर्ने बाध्यता रहेको छ,’ उनले भनिन, ‘त्यसैले स्रोत व्यवस्थापन गर्न सर्वसाधारण लागेका छन।’ इनार गहिरो बनाउँदा र चापकल धसाउँदा पनि पानी नआए सर्वसाधारण समस्यामा पर्ने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.