|

पर्वत : प्रायः मानिसले आफूले भेटाएको सामग्री कसको हो भनी खोजी गरेर सम्बन्धित व्यक्तिलाई फिर्ता गर्दैन्न। त्यसमा पनि झनै सुन फेला पर्‍यो भने त फिर्ता गर्ने सम्भावना झनै कम रहन्छ।

तर, पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीकी अमृता तिवारीले भने आफूले फेला पारेको झण्डै ६ तोला सुन सम्बन्धित व्यक्तिलाई फिर्ता गरेकी छिन्। तिवारीले स्याङ्जाको आँधिखोला गाउँपालिका १ पञ्चमुलबाट बसमा यात्रा गर्ने क्रममा झोला फेला पारेकी थिइन्। पञ्चमुल मामाघर भई हाल बुटवल बस्दै आएकी बिन्दु लम्सालको झोला अमृताले शनिबार भेटाएकी हुन्।

स्याङ्जाको पञ्चमुलबाट अमृता र बिन्दु एउटै बसमा आउँदै गर्दा कार्किनेटाबाट छुट्ने बेलामा तिवारी र लम्सालको झोला आपसमा साटिएको थियो। हरियो जेब्रा झोला बोकेर घरमा आएपछि मात्रै अमृताले अरूको झोला बोकेर आएको चाल पाइन्। दुवै जनाको झोलाको रङ र आकार एउटै भएकाले झोला साटिएको थियो।

झोलामा भएको माइली तिलहरी, झुम्का एक थान, कालोमाला, दुईवटा हातमा लगाउने बाला, चन्द्रमा, दुई ओटा  औँठी, एउटा लकेट सहितको सिक्री गरी ६ तोला सुनसहित १८ हजार ३ सय पाँच रुपैयाँ नगदसमेत झोलामा थियो। तिवारीले आफूले घरमा आएर झोला खोल्दा अरूको झोला भएको थाहा पाएपछि पहिले कार्कीनेटा प्रहरीलाई खबर गरेको बताइन्।

त्यसपछि तिवारीकै भतिजी सुनिता चापागाईं पनि सोही बसमा सवार भएको थाहा पाएपछि सुनितामार्फत नै झोला साटिएकी बिन्दु लम्साललाई सम्पर्क गरेर अमृताले झोलासहित बहुमूल्य गहना र नगद आइतबार फिर्ता गरेकी हुन्। उनले वडाध्यक्ष अर्जुनबहादुर कार्की, वडासचिव कृष्णप्रसाद पौडेल, वडासदस्यहरू, स्थानीय शिक्षक र बुद्धिजीविहरूको रोहवरमा बिन्दुका मामा भोजराज ढकाल र माइजू भावना ढकाललाई झोला हस्तान्तरण गरेकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.