|

जनकपुरधाम : धनुषा प्रहरीले अवैध सुनचाँदीसहित दुई जनालाई जनकपुरधामबाट पक्राउ गरेको छ। आइतबार साँझ करिब पौने ६ बजेको समयमा नेपालबाट भारततर्फ तस्करी गरेर लुकाइछिपाइ लग्दै गरेको अवस्थामा सुनचाँदीसहित दुई जनालाई धनुषा प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्ला ग्राम बासोपट्टी वडा नं. ४ मा बस्ने ३७ वर्षीय कृष्णकुमार महतो सुडी र सोही ठाउँ बस्ने ३० वर्षीय रुपेश महतो रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। पक्राउ परेको सुडीको साथबाट सुनको बाला २ थान, गोलो टुक्रा २ थान गरी १०० ग्राम सुन र चाँदीको दाना ९ प्याकेट २५ किलो ग्राम र बिआर ३२ एस ४३७५ नं. को पल्सर मोटरसाइकल रहेको प्रहरीले जनाएको छ। पक्राउ परेको समानको मूल्य झण्डै २२ लाख १२ हजार ९ सय पचास रहको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष प्रहरी टोलीले नेपालबाट भारततर्फ सुनचाँदी मोटरसाइकलमा लुकाइ लगिरहेको सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा धनुषाको जनकपुर उप–महानगरपालिका-१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ परेको दुवैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी भन्सार चोरी पैठारी गरेको अभियोगमा भन्सारमा बुझाउने तयारी गरिएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.