|

  • मञ्जु गौतम

काठमाडौं :  सिन्धुली घर भएकी ४८ वर्षीया पार्वता के.सी. विगत आठ वर्षदेखि दैनिक गुजाराका लागि मकै पोल्दै आइरहेकी छन्। यसअघि उनी एक वर्षसम्म बाटोमा चुरोट, सुर्ती बेचेर गुजारा चलाउँदै आएकी थिइन्।

सडक पेटीमा सुर्तीजन्य पदार्थ किनबेच गर्न काठमाण्डौं महानगरले रोक लागाएपछि उनले नयाँ व्यवसाय थालेकी हुन। 

विं.सं २०२६ सालमा सिन्धुलीमा जन्मेकी पार्वताको बाल्यकाल गाउँका उकाली ओरालीमै बित्यो। मेलापात, घाँसदाउरा उनको बाल्यकालको दैनिकी बन्यो। त्यसै बाल्यकालको दैनिकीले उनी विद्यालय शिक्षाबाट बाहिरै रहिन। पढ्ने, लेख्ने उमेरमा कुटो, कोदालो, हसिँया हातमा लिएकी पार्वतालाई ठूलो गणित आउदैन। उनलाई जीवन गुजारा गर्ने हिसाबकिताब भने ‍औँलामै कण्ठस्थ छ।

पार्वतामा १८ वर्षकी हुँदा सामाजिक परम्पराअनुसार सिन्धुलीकै स्थानीय खुमानन्द के.सी.सँग विवाह बन्धनमा बाँधिन पुगिन। विवाहपछि पनि उनको जीवनमा परिवर्तन आएन। उहिँ बाल्यकालदेखि गर्दै आएको घाँस, दाउराका लागि मेलापात।

१८ वर्षको जवानीमा सहयात्री भेटेकी पार्वताको जीवन भने वर्षौंदेखि एक्लै छ।

विवाह भएको दुईवर्ष नबित्दै पार्वताका श्रीमान् वैदेशिक रोजगारका लागि खाडी लागे। उनी तीन-चार वर्षको अन्तरालमा घर आउने गर्थे। त्यस अन्तरालमा उनको कोखबाट तीन छोरी र एक छोराले यो धर्तीमा जन्म लिए। 

कान्छी छोरी ८ वर्षकी हुँदा कतार पसेका पार्वताका श्रीमान् त्यसपछि भने घर फर्किएनन्। न उनको नामको केही खबर नै आयो। दिनरात श्रीमान्को बाटो हेरेर बस्न थालिन् उनी।

जसको नाममा पार्वता त्यो घरमा प्रवेश गरेर तीन छोरी र एक छोराकी आमा बनेकी थिइन उनी नै खाडीमा बेखबर भएपछि उनलाई त्यो घर रित्तो लाग्न थाल्यो। घरभरी मान्छे हुँदा पनि कोही नभएजस्तो, केही नपुगेजस्तो। जसै समय घर्कियो त्यसै उनलाई गाउँ नै रित्तो लाग्न थाल्यो। मनले जीवनसाथी खाडीबाट नफर्किएको गाउँमा बस्न नै मानेन।

अनि, पार्वता चार लालाबाला काखमा च्यापेर मुलुकको राजधानी काठमाडौं पसिन्। सन्तानलाई मात्रै काखमा च्यापेर उनी राजधानी छिरेकी थिइनन्, उनीहरू र आफ्नो भविष्यलाई पनि काँधमा बोकेकी थिइन। एकातिर श्रीमान् नफर्किएको पीर थियो भने अर्कोतिर त्यो जीवनले दिएको जिम्मेवारी पूरा गर्ने दृढसंकल्प। 

काठमाडौं उनका लागि बिरानो सहर थियो। तर, उनको संकल्पका अगाडि त्यो बिरानो सहरमा जीवन अगाडि बढाउन थालिन। काठमाडौं टेकेको दिन सम्झिँदै पार्वताले भनिन्, 'ठूलो सहर। गाडी र मानिसको जताततै भीड, चिनेको केही पनि थिएनन्।'  श्रीमान्ले कमाएको धेरथोर पैसा उनले बचाएर राखेकी थिइन्। त्यही पैसा काठमाण्डौं आउँदा ल्याएको हुँदा उनलाई केही समय खानबस्न समस्या परेन। काठमाण्डौं आएको दुई दिनमै कोठाको व्यवस्था गरिन्।

छोराछोरीको मुख हेरेर उनलाई म केही गर्छुपर्छ भन्ने लागेको पार्वता अहिले पनि सम्झिन्छिन। 

पार्वताले बालाजुस्थित कुमारीथानमा कोठा लिइन्। एकातिर श्रीमान् खाडीमा बेपत्ता भएको पीर मनमा गढकै थियो भने अर्कोतिर अब यहाँ के गर्ने? पैसा कसरी कमाउने? छोराछोरीलाई कसरी पाल्ने? प्रश्नका पहाड खडा भएका थिए। उनी दिउँसो बाहिर निस्केको बेला अरुले  के के काम गर्छन भन्ने ख्याल गरिरहन्थिन्।भर्खर काठमान्डौं आएको, त्यहिँ माथि अनपढ। यस्तो अवस्थामा रोजगारीका ढोका स्वतः बन्द हुने भइहाले। यो कुरा जानेरै होला, उनले कुनै पनि कार्यालयमा जागिर खोज्ने प्रयत्न गरिनन्। आफूजस्तै महिलाले तरकारी, फलफूल बेचेको देखेर उनलाई पनि त्यस्तै काम गर्ने रहर पलायो। आफूसँग भएको केही रकम खर्च गरेर चुरोट, सुर्ती, चाउचाउ, बिस्कुटलगायत सामानको पसल रााखिन् र बाटोमा बसेर बेच्न थालिन्।

बाटैमा बसेर बेचे पनि पार्वताको साँझबिहानको छाक टर्ने पैसा आइरहेको थियो। करिब एक वर्षको अन्तराल पश्चात् उनको त्यो व्यापारमा चुनौती पनि थपिदै गए। काठमाण्डौं महानगरपालिका उनको त्यो चुनौती बनेको थियो। महानगरभित्रका सडकमा बसेर व्यापार गर्न नपाइने नीति काठमाडौं महानगरले ल्याएको थियो। 

त्यसपछि पार्वताले बाटोमा बसेर व्यापार गर्न छोडिन्। त्यसपछि नयाँ खालको व्यापार गर्ने उनको दिमागमा जुक्ति आयो। उनको नयाँ व्यापार हरियो मकै पोल्ने र बेच्ने बन्यो। बालाजु कुमारीथानमा बसेर नजिकैको वसन्तनगर उनको व्यापार गर्ने थलो बन्यो। उनी भन्छिन् 'मकै पोल्न थालेपछि महानगरपालिकाले पनि कुनै रोकतोक लगाएन। दुई हजार भाडा तिरेर टहरामुनि मकै पोल्न शुरु गरेँ।'

दिनभरी मकै पोल्न पनि कहाँ सजिलो छ र! ‘बाटोको धुलो, झरी, आगोको रापले उत्तिकै पोल्छ, धुँवाको असर उत्तिकै हुन्छ’ पार्वताले यो व्यापारका विशेषता यसरी भनिन्, ‘चार बजे ब्युझिएर कालीमाटी जान्छुँ, सय घोगा मकै ल्याउँछु, घरको धन्दा सक्काएर मकै पोल्नै नित्यकर्म त छदैँछ।' मकै ल्याउने काममा छोराले पनि सहयोग गर्दै आएको उनले सुनाइन। उनले मकै कालीमाटीबाट प्रतिगोटा १५र रुपैयाँमा ल्याएर ३० रुपैयाँमा बेच्ने गर्छिन्। उनी भन्छिन्, 'मकैबाट प्रतिगोटा १५ रुपैयाँ नाफा भए पनि मकै पोल्ने दाउरा प्रतिकिलो २० रुपैयाँमा ल्याउनुपर्छ।'

यसरी टहरामुनि बसेर मकै पोल्न थालेको उनको आठ वर्ष बितिसक्यो। पार्वता भन्छिन्, 'मकै पोलेर भएको आम्दानीले एक छोरा र दुई छोरीको राम्रैसँग विवाह गारिदिए। अहिले एउटी छोरीमात्र साथमा छिन्, छोरीलाई राम्रै कलेजमा पढाउन सकेकी छु।'

'कान्छी छोरी ८ वर्षकी हुँदा विदेशिएका श्रीमान् छोरी १२ मा पढ्ने हुदाँसम्म खबर आएको छैन्। कहिलेकाँहि छोरीले बुबाको कुरा निकाल्छे। आफूसँग छोरीलाई दिने कुनै जवाफ छैन्।' पार्वताका आँखा आँशुले भरिन्छन्। श्रीमान् बेखबर हुनु एकातिर त छदैछ। तर आउने बाटो कुरेर नै बसेकी छिन् उनी। भन्छिन्, 'भाग्यमा रहेछ भने कसो नआउलान र।' सन्तान हुर्काउनु, काठमाडौंको महंगीसँग जुध्नु परेपनि उनले हिम्मत हारेकी  छैनन्। उनी भन्छिन्, 'छोरीले चाहेसम्मको पढाउने रहर छ, त्यसका लागि जतिसुकै दुःख गर्न पनि तयार छु।”

अरु छोराछोरीलाई पढाउन नसके पनि कान्छी छोरीलाई पढाउन सक्नु नै उनको जिन्दगीको सफलता र खुसी बनेको छ। उनी भन्छिन्, 'छोरीले पनि मेरो दुःख र मेहनतअनुसार पढेको हुँदा म धेरै खुसी छुँ। अब यहिँ छोरीलाई पढाएर आफ्नै खुट्टामा उभ्याउने मेरो एक मात्र सपना छ।'

मकैबाट दैनिक तीन हजार कमाउने पार्वतालाई अहिले घर खर्च चलाउन र एउटी छोरीलाई कलेजमा पढाउन कुनै गाह्रो छैन। पार्वताका अनुसार मकैबाट उनको दैनिक तीन हजार र मासिक ९० हजार कमाई हुन्छ। तर, मासिक ९० हजार कमाई भएपनि मकै, दाउरा, मकै पोल्ने ठाउँको भाडा गर्दा करिब ५० हजार खर्च हुन्छ। बाँकी ४० हजारले नै उनीहरू आमाछोरीको खर्च चलेको छ।

पार्वता आफू एक्लै संर्घष गरेर छोराछोरी पाल्न पढाउन सकेकोमा खुसी भए पनि श्रीमान्‌को यादले कहिँकतै पोल्छ उनलाई। कहिलेकाहीँ उनी सोच्छिन्, ‘पहिले नै श्रीमान्‌सँग मिलेर स्वदेशमै केही गरेको भए आज मैले श्रीमान्‌को सम्झनामा यसरी अल्झिएर बाँच्नु पर्ने थिएन।’

पार्वता भन्छिन्, 'पहिले नेपालमा केही छैन जस्तो लाग्थ्यो तर मेहनत गरे यहीँ सबथोक रहेछ।'

विदेश जान चाहेकालाई स्वदेशमै काम गर्न आग्रह गर्दै पार्वताको आग्रह छ, 'काम खोज्दै विदेश नै भौतारिनु पर्दैन, काम ठूलोसानो केही हुँदैन। मिहिनेत गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ।'

आफ्नो परिवारलाई छोडेर कामको लागि श्रीमान विदेशिने अरु महिलाले पनि आफूले जसरी श्रीमान्‌को पर्खाई र सम्झनामा दिन बिताउन नपरोस् भन्ने लाग्छ उनलाई। उनी भन्छिन्, 'कामका लागि विदेश जानुभन्दा बरू स्वदेशमा नै केही इलम गर्नुपर्छ। आफ्नो परिवारको साथले विदेशमा कमाउने लाखको भन्दा बढि खुशी प्रदान गर्छ।'                                                                                                                                                                  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.