|

पर्वत : नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारबाट जनताले दुःख पाएको बताएका छन्। पार्टी संगठनको सुदृढीकरणको अभियानअन्तर्गत तीन दिने साविकको धौलागिरीको जिल्ला भ्रमणमा निस्किएका सभापति देउवाले सोमबार बिहान जलजला गाउँपालिका ४ मोहनचोकमा निर्माण भएको नेपाली कांग्रेस जलजला गाउँपालिकाको कार्यालय भवनको उद्घाटन तथा मोहनबहादुर मल्ल स्मृति भवनको शिलान्यास गर्दै यस्तो बताएका हुन्। 

सभापति देउवाले कम्युनिष्ट सरकारले सुख र समृद्धिको नारा लगाएर जनतामाथि महङ्गी, भ्रष्ट्राचार र अत्याचार थोपरेको आरोप पनि लगाए। उनले काँग्रेस एक भएर अघि बढ्नुपर्ने सुझाव दिँदै भने, ‘कम्युनिष्ट सरकारसँग जनताहरु अत्तालिइसकेका छन, तपाईहरु एक भएर अघि बढ्नोस, यो देशको समृद्धि काँग्रेसकै नेतृत्वमा सम्पन्न हुन्छ।’

नेपाली काँग्रेस जलजला कार्यसमितिले पार्टी भवनको शिलन्यास गरेर राम्रो काम गरेकोमा प्रशंसा गर्दै देउवाले भवनको लागि जग्गा प्रदान गर्ने स्व.मोहनबहादुर मल्लको परिवार र भवन निर्माणको अभियान थाल्ने जलजला गाउँपालिकाका प्रमुख तथा नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई बधाई पनि दिए।

यस्तै, कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेसको नीति, नेतृत्व, कार्यकर्ताहरुको समर्पण र योगदानका कारण आजपनि काँग्रेस बलियो भएको उल्लेख गरे। राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारका लागि काँग्रेसले विगतमा पु¥याएको योगदानलाई स्मरण गर्दैं उनले कार्यकर्ताको भावनलाई सम्मान गरेर संगठन निर्माणमा लाग्न सबैलाई आग्रह गरे।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले कम्युनिष्टहरुसँगको लडाईँ भन्दा काँग्रेसभित्रको अन्तरघात पार्टीका लागि खतरनाक भएको वताउँदै पार्टीभित्र कडा अनुशासनको आवश्यकता रहेको बताए। विगतको आम निर्वाचनमा पनि आँफूले चुनाव लड्न नचाहँदा पनि आँफू पार्टीको निर्देशनमा चुनाव लडेको बताउँदै उनले अबको निर्वाचनमा पार्टीले जसलाई टिकट दिएपनि आँफू त्यसको प्रचार संयोजक भएर पार्टीलाई जिताउने प्रतिवद्धता व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.