|

चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग संकलनसँगै पूर्वतयारीका काम पनि धमाधम भइरहेको छ। धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गर्ने रंगशालाको कम्पाउण्डिङको काम, अस्थायी प्रवेशद्वार, गोदाम घर निर्माण, साइट  कार्यालय स्थापना लगायत पूर्वतयारीका काम भइरहेको हो।

जस्तापाताको प्रयोग गरी कम्पाउण्डको काम ७५ प्रतिशत सकिएको छ भने प्रवेशद्वार लगायत केही अस्थायी संरचना र साइट कार्यलयलाई पूर्णता दिने काम धमाधम भइरहेको फाउण्डेसनका प्रोजेक्ट म्यानेजर अर्जुन न्यौपानेले बताए। रंगशालाको प्रवेशद्वार छेउमा सुरक्षालाई मध्यनजर गरी प्रहरी बिट पनि निर्माण गरिएको छ। रंगरोगनको काम भइरहेको र सकिने बित्तिकै प्रहरीको टोली बस्ने म्यानेजर न्यौपानेले बताए। 

फाउण्डेसनले महिनाको १२ हजार भाडा तिरेर रंगशाला निर्माणस्थल नजिकै भरतपुर १६ मा पर्ने शान्तिचोकमा एकतले पक्की घर लिएर कार्यालय सञ्चालनमा ल्याएको छ। कार्यालयको माथिल्लो तलामा ट्रस हाल्ने काम भइरहेको छ भने कार्यालय कम्पाउण्डिङको काम पनि चलिरहेको छ। फाउण्डेसनका प्रतिनिधि चन्द्रबहादुर खड्काका अनुसार निर्माणको काममा मिस्त्री, हेल्पर गरी दैनिक ५० जना कामदार खटिइरहेका छन्। स्थानीयलाई प्राथमिकता दिइएकाले निर्माण कार्यमा प्रायः सबै स्थानीयवासी रहेका छन्।

निर्माण सामग्री खरिद, कामदारको ज्याला, कार्यालयमा आवश्यक भौतिक संरचना निर्माण, टेबुल कुर्ची खरिद लगायत विभिन्न काममा अहिलेसम्म करिब ४० लाख खर्च भइसकेको साईट अफिसका लेखापाल निकु अधिकारीले जानकारी दिए। अहिलेसम्म विभिन्न दाताहरुबाट ५ करोड ५५ लाख रुपैयाँ संकलन भइसकेको फाउण्डेसनले जनाएको छ।

थप सहयोग जुटाउने अभियान अन्तर्गत स्थानीय, जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायत सरोकारवालासँग छलफल अन्तरक्रियाको कार्यक्रम पनि तय भइरहेको फाउण्डेसनले जनाएको छ। जनताको लगानीमा निर्माण गरिने रंगशाला विश्वमै पहिलो भएकाले सकेको सहयोग गर्न फाउण्डेसनले सवै नेपालीहरुलाई अपिल गरेको छ।

२० बिघा आठ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशाला निर्माणका लागि ३ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ। नेपाली मौलिक डिजाईनमा बन्ने रंगशाला कमलको फुलको आकारको हुनेछ। क्रिकेट रंगशाला भनिए पनि अभ्यासका लागि २ वटा छुट्टाछुट्टै मैदान बन्नेछ। बहुआयामिक रंगशाला परिसरमा फुटबल, स्वीमिङ, भालिबल, डण्डिबियो, बास्केटबल लगायत खेलका लागि पूर्वाधार बन्नेछ।

भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच रंगशाला निर्माणका लागि सम्झौता भएसँगै अहिले डीपीआर निर्माणको काम भइरहेको छ। सम्झौता अनुसार शिलान्यास गरेको २ वर्षमा निर्माण सम्पन्न गरी रंगशाला फाउण्डेसनले महानगरलाई हस्तान्तरण गर्नेछ।

लमजुङ आमा समूह युकेद्वारा साढे ६ लाख सहयोग 

लमजुङ आमा समूह युकेले ६ लाख ५५ हजार आठ सय ५० रुपैयाँ  प्रदान गरेको छ। गत सेप्टेम्बर ८ मा आयोजना गरेको रमाइलो साँझमा संकलन भएको रकम समूहका अध्यक्ष जुना गुरुङले धुर्मुस सुन्तली फाउण्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरेलाई सोमबार प्रदान गरेकी हुन्। 

हालसम्म साढे ५ करोडभन्दा बढी रकम संकलन भइसकेको फाउण्डेसनले जनाएको छ। विभिन्न स्थानमा सहयोगको प्रतिबद्धता आईरहेको भन्दै फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले आयोजना सम्पन्न गर्न सहयोग गर्न सबैसँग आग्रह गरे।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.