|

चितवन : चितवन राष्ट्रिय निकुञ्जसँगै रहेका बासिन्दाको रत्ननगर नगरपालिकाले बिमा गरिदिने भएको छ। वन्यजन्तुको आक्रमणका कारण घाइते र मृत्यु हुनेको बिमा गर्न लागिएको हो। 

नगरपालिका प्रमुख नारायण वनले निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका र घाइतेलाई लक्ष्य गर्दै बिमा गर्न लागिएको जानकारी दिए। वन्यजन्तुले निकुञ्जबाहिर क्षति  पुर्‍याए निकुञ्जले नै क्षतिपूर्ति दिने भए पनि निकुञ्जभित्र हुने घटनामा क्षतिपूर्ति दिने व्यवस्था छैन। 

गरीबीका कारण स्थानीयवासी निकुञ्जमा आश्रित हुनुपरेको उनले बाध्यतावस निकुञ्ज छिर्दा दुर्घटना भइरहेको बताए। निगुरो टिप्न, घाँस काट्न, सामान्य दाउरा टिप्न स्थानीयवासी निकुञ्ज जान्छन्। त्यतिवेला वन्यजन्तुको आक्रमणले मृत्यु वा घाइते भएमा निकुञ्जले क्षतिपूर्ति दिँदैन। 

बाहिर आएर वन्यजन्तुले आक्रमण गरेमा भने मृत्यु हुनेको परिवारलाई १० लाख रुपैयाँ दिने, उपचार गरिदिने र खेतीको समेत क्षतिपूर्ति दिने व्यवस्था छ। निकुञ्जले क्षतिपूर्ति नदिने घटनामा नगरपालिकाले तीनदेखि पाँच लाख रुपैयाँसम्म बिमा पाउने व्यवस्था गर्न लागिएको प्रमुख वनले बताए। सो सम्बन्धमा बिमा कम्पनीसँग छलफल भइरहेको उनले बताए। 

नगरपालिकाको वडा ५, ६ र ७ निकुञ्जसँग जोडिएका छन्। ती वडाका बासिन्दालाई पहिलो चरणमा बमा गराउने उनले बताए। दोस्रो चरणमा मध्यवर्तीसँग जोडिएका वडा ८ र ९ का बासिन्दाको बिमा गरिने नगरप्रमुख वनको भनाइ छ। निकुञ्जसँग जोडिएका वडाका बासिन्दाको लगत लिइँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.