|

अमेरिकाः विश्वको राजधानीको रुपमा चित्रित गरिने अमेरिकाको न्यूयोर्क शहरको एक गल्लीको नामाकरण नेपालीको अस्तित्व झल्काउने गरी माउन्ट एभरेष्ट राखिएको छ ।

नेपालीको बाक्लो बसोबास भएको न्यूयोर्कको ज्याक्सन हाइट नजिकैको ६ ब्लक सडकको नाम ‘माउन्ट एभरेष्ट’ राखिएको हो। गत शनिबार न्यूयोर्कको क्विन्स काउन्टीमा रहेको ७५ स्ट्रिट सडकलाई औपचारिक रुपमा ‘माउन्ट एभरेष्ट वे’ घोषणा गरिएको हो।

अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुनकुमार कार्की, नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई, अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, क्वीन्सबोरोका काउन्सिल मेम्बर कोस्टा कन्स्टेन्टिनिडिस लगायत न्यूयोर्कमा कार्यरत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा ‘माउन्ट एभरेष्ट वे’ लेखिएको सडक चिन्ह प्लेट लगाइएको थियो।

७५ स्ट्रिट को २५ एभिन्यु देखि ३१ एभिन्यु बिचको सडकमा सवारी साधन आवतजावत नै बन्द गरेर बिभिन्न सांस्कृतिक कार्यक्रम गर्दै नामाकरण गरियो। न्यूयोर्कमा बसोबास गर्दै आएका नेपाली समुदायले लामो समयदेखि न्यूयोर्क सिटी काउन्सिलसँग पहल गरि सडकको नाम ‘माउन्ट एभरेष्ट’ राख्न सफल भएको हो।

नेपाली समुदायका अगुवाहरुले क्विन्सबोरोको काउन्सिल मेन कोस्टासंग पटक÷पटक भेटेर नेपालीको नाममा सडकको नामाकरण गराउन माग गरेका थिए। कोस्टाले गत फ्रेबुअरी मै सिटी काउन्सिलको बैठकमा ‘माउन्ट एभरेस्ट वे’ को प्रस्ताव गरेपछि सिटी काउन्सिलले कोस्टाको प्रस्ताव पारित गरेको थियो।

नेपाली महाबाणिज्यदूतावास र सिटी काउन्सिलको संयुक्त आयोजनामा बृहत कार्यक्रम गरी औपचारिक घोषणा गरिएको हो। नेपाली महाबाणिज्यदूतावासका बाणिज्यदूत कृषु क्षेत्रीका अनुसार नेपालीले पाएको यति ठूलो उपलब्धी र सम्मानलाई बृहत समारोहका बिच घोषणा गर्न पाउनु हाम्रो लागि निकै गर्वको विषय हो।

शनिबार ३० र ३१ एभिन्यु बिचको सडकमा टेन्ट गाडेर नेपाली संस्कृति झल्कने बिभिन्न स्टलहरु राखिएको थियो। सेलरोटी, नेपाली खानेकुराका बिभिन्न परिकारहरु, हस्तकलाका सामानहरुको प्रदर्शनका साथै नेपाली संस्कृति बोकेको सांस्कृतिक कार्यक्रम र झाँकी नाच प्रस्तुत गरिएको थियो।

‘न्यूयोर्क सिटी काउन्सिलले नेपाल र नेपालीको सम्मानमा दिएको सडकको नामाकरण घोषणा समारोहलाई सम्पूर्ण नेपाली समुदाय र न्युयोर्क सिटीका प्रतिनिधिहरु बिच मनाउनु गर्वको कुरा हो’ नेपाली महाबाणिज्यदूतावासका बाणिज्यदूत कृषु क्षेत्रीले भने, ‘न्यूयोर्क राज्यका प्रतिनिधिहरुको अगाडि झण्डै ३ हजारको संख््यामा नेपालीहरु भेला भएर हाम्रो संस्कृति, भेषभुषा, भाषा, पहिचान, बिभिन्न झाँकीहरुको प्रदर्शन गर्नु सामान्य होइन । यसले अमेरिकीहरुका अगाडि नेपालीको बलियो एकता पनि प्रदर्शन गरेको छ ।’ नेपालीले गरेको कार्यक्रमको सिटी काउन्सिलमै ब्यापक चर्चा रहेको पनि उनले बताए।

संसारभर माउन्ट एभरेस्ट भन्ने बित्तिकै नेपाल र नेपाली लाई चिनिने भएकोले सिटी काउन्सिलले यही नाम पारित गरेको हो । माउन्ट एभरेस्ट कि सगरमाथा के राख्ने भन्ने विषयमा नेपाली समुदायले छलफल गर्दा बहुमतले माउन्ट एभरेस्ट राख्ने सहमती भएको थियो ।

सडकको नाम अनावरणपछि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको थियो । घिसिङले नेपालको लोडसेडिङ हटाउन गरेको मेहनत र योगदानको कदर गर्दै अमेरिकामा रहेका नेपालीले सम्मान गरेका हुन् । घिसिङलाई नेपालका लागि अमेरिकी राजदूत डाक्टर अर्जुन कार्कीलगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिले खादा लगाएर सम्मान गरेका थिए । सम्मान ग्रहण गर्दै घिसिङले अमेरिकाबासी नेपालीहरुको सम्मानले आगामी दिनमा पनि यसरी नै उर्जा्शिल भएर काम गर्ने प्रेरणा मिलेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.