|

बुटवल : बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ। 

बुटवलको वडा नम्बर १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ। वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महिनाको आठ हजार रुपैयाँ बराबरको सुरक्षा भत्ता हस्तान्तरण गरे। 

घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा वडाका ज्येष्ठ नागरिक निकै खुशी भएका थिए। वडा नम्बर १ का ज्येष्ठ नागरिक जुलेखा खातुनले भनिन्, ‘वडाध्यक्षले घरमै आएर सामाजिक सुरक्षा भत्ता दिनुभयो, मलाई निकै खुशी लाग्यो।’ 

खातुनजस्तै चन्द्रमान शाक्य, पूर्णमान श्रेष्ठ, लोकबहादुर रणपाल, श्रीराम अग्रहरिसहित २७ लाई उनीहरुकै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको वडाध्यक्ष लिगलले जानकारी दिए। 

वडा नम्बर १ मा हाल २३८ ले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन्। लट्ठी टेकेर सामाजिक सुरक्षा भत्ता बुझ्न जानुपर्ने बाध्यतालाई जनप्रतिनिधि आएपछि सजिलो बनाइदिएको ज्येष्ठ नागरिक शीतल गुभाजुले भनिन्। उनले भनिन्, ‘हामीलाई घरमै सरकार आएजस्तो भयो।’ 

बुटवल उपमहानगरपालिकाले नगरका सबै १९ वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.