|

इलामः ६ बर्षको अवधी (सन २०१०–१६) मा भएका ४ वटा साफका संस्करणमा नेपालको सहभागीता रह्यो तर उपाधिमा भने सधैं भारतको एकाधिकार। ९ बर्षे साफको इतिहासमा पहिलो पटक नेपालले घरेलु मैदानमा प्रतियोगिता खेल्दैछ।

विराटनगरमा हुने साफको पाँचौ संस्करण नेपालको लागी अवसर र चुनौतीको रुपमा समीक्षा गरिएको छ। टिमले पहिलो पटक गृह मैदानमा उपाधि भित्र्याउने लक्ष्य राखेको छ। घरेलु मैदान, घरेलु समर्थक, जुनियर र सिनियर मिश्रित टिम सेट, पछिल्लो समय भारतविरुद्ध उच्च मनोबल रहनुलाई च्याम्पियन हुनसक्ने आधारको रुपमा प्रशिक्षक हरि खड्का विश्लेषण गर्छन्।

खेलाडीको मेहनत र पछिल्लो समयको जीत र  आत्मविश्वास मुख्य हतियार भएकाले प्रशिक्षक खड्का उपाधि जित्नेमा विश्वस्त छन्। तर समूह चरणका खेलदेखि नै उत्कृष्ट प्रदर्शन गर्ने उनको योजना छ। समुहमा विजेता बन्दै सेमीफाइनल पुग्ने उनको रणनीति रहेको छ। ‘ग्रुप बीबाट सम्भवत भारत सेमीफाइन पुग्छ,’ उनले भने ‘हामी बलियो टिम भारतविरुद्ध फाइनलमा मात्र भिड्न चाहन्छौँ।’

भारतीय टोली पछिल्लो पटक नेपालसँगको पराजय भएपछि तुर्किस कपको तेश्रो संस्करणको लागि टर्की गएको थियो भने नेपाली टोलीले इटहरी र विराटनगरमा एक महिना प्रशिक्षणमा वितायो।

नेपाललाई  पाँचौं साफमा मैदान र दर्शकको साथ रहनेछ। दर्शकको हौसला र मैदानको सहयोगमा खेलाडीहरुलाई खेल्न केही सजिलो हुनेछ। तर नेपालले उक्त मैदानमा खुलेर अभ्यास भने गर्न पाएको छैन। ‘नेपाली खेलाडीहरुलाई घरेलु मैदानको अनुभव छैन। खेलाडीलाई कसरी घरेलु दर्शकको सामना गर्ने भन्ने मुख्य चुनौती हुनसक्ने देखिएकाले मनोबल उच्च राख्ने जस्ता कुरा सिकाएको छु।’  प्रमुख प्रशिक्षक खड्काले भने।

नेपालको मुख्य चुनौती भारत भएपनि पछिल्लो पटक पराजित गरेको कारण जित निस्कने उनको विश्वास छ। साफमा सहभागी अन्य टोलीले समेत खेल निक्कै सुधार गरेको कारण कडा मेहनत आवश्यक रहेको खड्का बताउँछन्।

टिमकी गोलरक्षक एन्जिला तुम्वापो सुव्वा अवसर र चुनौती रहेको तर्कसंग सहमत छिन्। घरेलु मैदानमा घरेलु दर्शक झेल्न गार्हो उनको भनाइ छ। ‘आफ्नै देशको मैदानमा खेल भइरहेको छ। दर्शकहरुको अपेक्षालाई साकार गर्नु चुनौती छ भने होम ग्राउन्डमा विपक्षी टिमलाई भन्दा पक्कै पनि केही सहज हुन्छ। तर कहिलेकाहीँ होम क्राउडलाई थाम्न नसक्दा पराजित बनेको खेल हेरेका छौँ’ उनले भनिन्। 

बंगलादेशसँगको खेल निर्णायक 
भुटान विरुद्धको हालसम्म खेलेका २ खेलमा १६ गोल गरेको नेपाली टोलीलाई पहिलो खेलमा जित निकाल्न सहज हुने अपेक्षा गरिए पनि समुह चरणमा नेपालसंग भिड्ने टोली बंगलादेश चुनौती बन्न सक्ने देखिन्छ। 

पछिल्लो समय ओलम्पिक छनौटमा बराबरीका कारण उच्च मनोबलमा साथ बंगलादेशी टोली मैदान उत्रनेछ। चैत्र २ गते हुने समुह चरणको खेलमा बंगलादेशसंगको बराबरी वा पराजयले नेपालको फाइनल यात्रा बाधक बन्न सक्ने देखिन्छ। बंगलादेश विरुद्ध ५ भेटमा ४ जित निकालेको नेपाली टोलीले ओलम्पिक छनौटमा १–१ गोलको बराबरी खेलेका कारण जित निकाल्ने कडा मेहनत आवश्यक रहेको फुटबल विश्लेषक संजिव मिश्रको भनाइ छ।

‘नेपालले बंगलादेशलाई हराउनुपर्छ यदि हराउन नसकेको खण्डमा गोल अन्तर उच्च भए फाइनल यात्रा सहज हुन्छ।’ पछिल्लो समय बंगलादेशको महिला फुटबलले उल्लेख्य प्रगति गरेको मिश्रको भनाइ छ। दर्शकहरुको बाक्लो सहभागिता रहने अनुमान गरिएको प्रतियोगितामा नेपाललाई दर्शकहरुको समर्थन आत्मसाथ गर्न सक्नु एक मुख्य चुनौति रहेको पनि मिश्रले औँल्याए।

‘ओलम्पिक छनौटको नतिजालाई नै हेर्दा अन्य टोलीले बंगलादेशलाई हराए नेपालले मात्र बराबरी खेल्यो त्यसको फाइदा साफमा लिन सक्छ’ उनले भने। सन २०१६ को चौथो साफको समुह बी को अन्तिम खेलमा बंगलादेशले भारतलाई बराबरीमा रोक्दा त्यसको घाटा नेपाललाई भएको थियो। 

गोल अन्तरले दोश्रो भएको भारतले सेमीफाइनलमा समुह ए बाट बिजेता बनेको नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइलनमा बंगलादेशलाई समान ३–१ गोल अन्तरले नै हराएर लगातार चौथो उपाधि जितेको थियो। 

फाइनल पुग्ने अवसर
आफ्नो समुहबाट बिजेता भएको खण्डमा नेपालले समुह बीको दोश्रो हुने टोलीसंग भिडने छ। दक्षिण एसियाली महिला फुटबलमा नेपालले खेलेका ३० खेल मध्ये (अफगानिस्तान बाहेक) ७ खेलमा पराजय र ३ खेल बराबरी खेलेको छ।

भारत बाहेक अन्य टोलीले नेपाललाई हराउन सकेका छैनन्। समूह बी मा रहेको माल्दिभ्यसले नेपाल विरुद्ध हालसम्म ४ खेल खेल्दै २२ गोल व्यर्होरेको छ भने कुनै पनि गोल गर्न सकेको छैन।

यता श्रीलंकाले ५ खेलमा ५ वटै पराजय भोग्दै १९ गोल खाएको छ। यी २ मध्ये कुनै एक टोली नेपालसँग सेमीफाइलनमा भिडेको खण्डमा पछिल्लो इतिहासले समेत नेपालको फाइनल यात्रा बलियो देखिन्छ। भारत विरुद्धको पछिल्लो खेलले पनि नेपाली टिमले उपाधि जित्ने अंकगणितिय सम्भावना देखिएको फुटबल विश्लेषक मिश्रको भनाइ छ। 

तुर्किस कपको प्रर्दशनले भारतलाई फाइदा
भारत हालसम्म साफमा कुनै पनि टोलीसंग पराजित नभएको कारण उच्च मनोबलका साथ समुह बिजेता बनेर सेमीफाइनल प्रवेश गर्नेछ।  हिरो कपमा नेपालसंग पराजय लगत्तै टर्कीमा भएको तुर्किक वुमन कपमा सहभागीता जनाएको भारत समग्रमा काजकिस्तानसँग गोल अन्तरको आधारमा ५ औ स्थानमा रहेको थियो। 

उज्वेकिस्तानसंग १–० ले हारेको भारतले दोश्रो खेलमा तुर्किमिनिस्तानलाई १०–० गोलको फराकिलो अन्तरले हरायो। रोमानियासंग ३–० ले हारेको भारतलाई पाँचौ स्थानका लागी काजकिस्तानले पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हरायो। आफू भन्दा माथिल्लो श्रेणीको रोमानिया तथा तल्लो श्रेणीको उज्वेकिस्तान र तुर्किमिस्तानसंगको मिश्रित नतिजाले भारतलाई कमजोरी सुधार गर्दै साफमा फाइदा पुग्ने देखिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.