'बम विस्फोट गरेर पैसा असुल्नेसँग वार्ता हुदैन'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र विस्फोट गर्दै आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन।

नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा मंगलबार प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन।

फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गरेको विषयमा प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न बालुवाटार पुगेको टोलीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरूसँग वार्ता गर्नुको औचित्य नभएको बताएका हुन।

'कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर के का लागि वार्ता गर्ने? उनीहरूले गरेका क्रियाकलाप राजनीतिक हुन्? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन', प्रधानमन्त्री ओलीले भने, 'जहाँ-जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरूसँग के को वार्ता? उनीहरूलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ।'

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्यूनिस्टका नाममा घिनलाग्दो काम गरिरहेको बताएका थिए। कम्युनिस्ट युवाहरूलाई कर्मठ र कर्मशील हुन सिकाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। 'कम्युनिस्टले त युवाहरूलाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो', प्रधानमन्त्री ओलीले भने, 'यहाँ त कम्युनिस्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन्। यो हुन सक्ने कुरा होइन।'

प्रधानमन्त्रीको यो भनाइ नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति आएको हो।

प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गरेका थिए। यस घटनाको बारेमा सरकारले छानबिन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता व्यक्त जनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.