|

सिन्धुपाल्चोक : राजधानीबाट दूरीको हिसाबले नजिकै छ सिन्धुपाल्चोक। पर्यटकीय सम्भावनाका लोभलाग्दा धेरै क्षेत्रहरू छन्। जसअन्तर्गत आन्तरिक तथा बाह्य पर्यटकको आवागमन वृद्धि गर्ने उद्देश्यले 'भर्जिन' जुगल हिमाल आरोहणको अन्तिम तयारीमा पुगेको छ।

जुगल गाउँपालिका ३ मा पर्ने जुगल हिमाल चैत १५ गतेदेखि हिमाल आरोहणको सुरु हुने भएको हो। हिमाल आरोहण गर्न करिब २०/३० दिनसम्म लाग्न सक्ने अनुमान गरिएको छ। नयाँ रुट भएकाले हिमाल आरोहण गर्नका लागि कठिनाइ रहेको छ। सिन्धुपाल्चोक जुगल गाउँपालिका र प्रदेश नं. ३ को संयोजकत्वमा सिन्धु पर्यटन परिषदले जुगल हिमाल आरोहणको तयारी गरेको हो।

विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथासहित अन्य सात हिमालको सफल आरोहण गरेकी सिन्धुचेली माया गुरुङको नेतृत्वले जुगल हिमाल आरोहण गर्ने भएको छ। अहिलेसम्म मानव पाइला नपुगेको जुगल हिमालको आरोहरणको तीव्र तयारी भइरहेको जुगल गाउँपलिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जनाए।

आरोहण टोली चैत १५ गते सिन्धुपाचोकको जुगल गाउँपालिका ढाँडेमा आइपुग्ने कार्यक्रम रहेको छ। दोस्रो दिन ढाँडे बजारमा आरोहण टोलीलाई स्थानीय, जिल्लाबाट प्रतिनिधित्व गर्ने मन्त्री, राजनीतिक दल र सरकारी निकायले स्वागत गर्ने छन्। सोही दिन ढाँडे बजारबाट गाडी चढेर आरोहण गर्ने टोली गुम्बाथाङ पुग्नेछ। गुम्बाथाङ, क्यांसिङ हुँदै सोही दिन तेम्बाथाङ पुग्नेछ।

तेस्रो दिन तेम्बाथाङबाट छेन्दाङ, चौथो दिन नेपेमासाल पुग्नेछ। पाँचौं दिनमा टोली बुम्बासेर्पु हुँदै ४५ सय मिटरमा रहेको बेसक्याम्प पुग्नेछ। छैठौं दिनमा आरोही गुरुङ र तीनजना गाइडको टोली दुई घण्टा हिँडेर पाँच हजार उचाइमा तय गरिएको हाइ बेसक्याम्प पुग्नेछन्। सातौं दिनदेखि हिमाल आरोहण सुरु गरिने भएको छ।

हाइ बेसक्याम्पबाट ग्याल्जेन पीक पुग्ने विभिन्न रुटको खोजी गर्ने टोलीकी नेतृत्व माया गुरुङले बताइन्। नयाँ रुट भएकाले आरोहण केही कठिन र जोखिम भएको समेत उनले जनाइन्।

जुगल हिमालको  ६ हजार ५ सय ३५ मिटर रहेको छ। सन् १९३० मा अमेरिकन आरोहीले जुगल हिमाल चढेको पर्यटन व्यवसायी मिलन तामाङले जनाए। तर, उनी ६ हजार १ सय ५१ मिटर उचाइसम्म पुगेका फर्केका थिए।

अमेरिकन आरोहीले सो हिमश्रृंखलालाई ग्याल्चेन पीक नामकरणसमेत गरेको थियो। हिमाल आरोहणको लागि करिब ५२ लाख लाग्ने अनुमान गरेको छ। प्रदेश ३ सरकारले ४० लाख र जुगल गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको छ। आरोहरणमा थप लाग्ने रकम पालिकाले नै व्यहोर्ने छ।

भौगोलिक रूपमा विकट भएको जुगल हिमालमा मान पाइला पुग्ने भएपछि स्थानीमा खुसीयाली छाएको छ। सिन्धुपाल्चोक जिल्लाको विकट पालिकाको रूपमा चिनिने जुगल गाउँपालिकाको जुगल आरोहण हुने भएपछि स्थानीय हर्षित भएका हुन्।

जुगल हिमश्रृंखलामा २ दर्जनभन्दा धेरै हिम चुचुराहरू भएको अध्ययनले देखाएको छ। आरोहणको क्रममा पुगिने नेपेमाशालमा धार्मिक दृष्टिले पवित्र मानिन्छ। बौद्ध धर्मको गुरु पद्यमसम्भाले ध्यान गरेको तथा भविष्यवाणिको लिखत यस क्षेत्रमा भेट्न सकिने किंवदन्ती छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.