चतुर्‍याइँ कि अवतरण अन्योलता बाँकी नै

|

जनकपुरधाम : अराजक र विखण्डन छोडेर राजनीतिको मूलधारमा आएको भन्दै सरकारसँग ११ बुँदे सहमति गरेको दुई दिन नबित्दै स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतकै सामुन्ने स्वतन्त्र मधेसको नारा र स्वतन्त्र मधेशको झण्डा जनकपुरधाममा फहराइयो। नेपाल सरकारसँग स्वतन्त्र मधेश गठबन्धनको संयोजक सिके राउतले गरेको सम्झौता र सहमतिविपरीत जनकपुरधाममा कार्यकर्ताले ‘फ्रि मधेस’ लेखिएका झन्डासहित र्‍याली निकाल्दै स्वतन्त्र मधेशको पक्षमा खुलेर जनकपुरधाम भरी चर्को नाराबाजीसमेत गरे। यी सबै घटना भइरहँदा सरकारसँग राष्ट्रिय सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा आँच नपुग्ने गरी काम गर्ने बताएका सिके राउतसमेत प्रत्यक्ष थिए, तर उनले पूरानै ढर्रा र शैलीमो स्वतन्त्र मधेशको मागलाई गुञ्जयमान बनायो।   

चन्द्रकान्त (सिके) राउतको सुरक्षाका लागि भन्दै कहिल्यै नदेखिएका नकाबधारी सुरक्षा दस्तासमेत विमानस्थलमा देखियो। यसअघि कहिल्यै नदेखिएका उनका सुरक्षा दस्ताले सरकारसँगको सम्झौतापश्चात खुल्लेयाम रूपमा मुखमा मास्क, टाउको छोपिने गरी फ्री मधेश झन्डा बेरेको र छातीमा सुरक्षाकर्मी कै जस्तो बुलेट  प्रुफ जस्तो देखिने ज्याकेट लगाएर विमानस्थल परिसर देखा परे । त्यहाँ उपस्थित हुने सर्बसाधारणलाई अघोषित रूपमा विमानस्थल कब्जा गरेर नै राउतलाई स्वागत गर्न पुगेको अनुभूति भयो। विमानस्थलमा ओर्लेका सिकेलाई जहाजबाट उनकै आफ्नै सुरक्षा फोर्स भनिएका नकाबधारीहरूको एक समूहले सुरक्षा कवचमा उनलाई मोटरसम्म पुर्‍याए।

पाँच महिनाको हिरासतमा बिताएर र एकाएक सर्वोच्चको आदेशपछि रिहाइ भएका सी केको रहस्यमय तरिकाबाट सरकारसँग भएको सहमतिपश्चात जनकपुरधाम फर्केका राउत अहिले कहाँ र के गर्दैछ भन्ने कुराको जनमानसमा चर्चा छ। सरकारसँगको सम्झौपछि तरंगीत बनेको राजनीतिमा समेत उनको जनकपुरधामको बसाइ चर्चाको विषय बन्न पुगेको छ।

राउत अहिले जनकपुरधाम उपमहानगर–८ बलुवाटोलस्थित आफ्नो घरमा आराम गरिरहेको उनका एक निकट सहयोगीले जानकारी दिए। ‘थुना मुक्ती पछि उनी स्वास्थ्य उपचारपछि चिकित्सकको सल्लाहअनुसार आराममा छन्, उनले भने, ‘राउत पारिवारिक भेटमा रहनुका साथै पुनः सामान्य दैनिकीमा फर्कने प्रयासमा रहेको श्रोतको दाबी छ।’

यता प्रदेश २ सरकारले राउतको गतिविधिमा सुक्ष्म निगरानी बढाएको छ। सरकार र राउतबीच भएको सहमतिविपरीत जनकपुरधाममा प्रदर्शन गरेको भन्दै अगामी दिनमा यस्ता हर्कत गरे कानुनी उपचारमा जाने प्रदेश सरकारले चेतावनी दिइ सकेको छ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सरकार र राउत दुबैले सहमतीको अक्षरसः पालना गर्नुपर्ने बताउँदै भने, ‘हामी राउतको क्रियाकलापबारे हेर र पर्खको नीति अपनाएका छौँ। तर, संविधानविपरीत अगामी दिनमा यस्ता क्रियाकलाप भए हामी कानुनी कारबाहीमा जान्छौँ।’

राउतले उठाएका राजनीतिक मुद्दा राजनीतिक रूपले सामाधान गर्नुपर्ने तर्क गर्दै राउत विखण्डनको मुद्दा छाडेर मुलधारको राजनीतिमा आउनु स्वागत योग्य भए पनि विखण्डनको नारा घातक सिद्ध हुने उनको दाबी छ।

सरकार र राउतबीच भएको सहमति उनका समर्थकहरूले जनकपुरधाममा तोडदै पूरानै शैली र ढर्रा दोहर्‍याएर प्रदर्शन गरेको र नयाँ पाठ पढाउन राउतलाई अझै केही दिन समय लाग्ने राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभको भनाइ छ। उनले भने, ‘अहिले उनको संगठनका लागि संक्रमणकाल हो, नेताजीले पहिले जुन कोर्ष कार्यकर्तालाई पढाएका थिए। त्यो बिर्सेर नयाँ कोर्ष सिकाउन केही समय लाग्न सक्छ।’

सरकार र राउतबीच भएको सहमतिमा कतै पनि जनमत संग्रह उल्लेख नरहेको बताउँदै उनी जनअभिमतको अर्थ जनमतबुझ्न नहुने तर्क गर्छन्। ‘राउतको आशय जनमत संग्रहको थियो, तर ११ बुँदे सहमति पत्रमा जनअभिमत उल्लेख छ।

सरकारले यसको मतलब निर्वाचनमा आऊ वा शान्तिपूर्ण रुपले सडकमा आऊ भन्ने बुझेको छ।’ लाभले भने, ‘सरकारको आशय जनमत संग्रह होइन तर राउत यसको अर्थ जनमत संग्रह रहेको भन्दै अडान लिए सम्झौता रद्द पनि हुन सक्छ।’ डा. लाभले राउतसँग सम्झौता गरेर सरकारले एउटा सँगठनलाई सहमतिमा ल्याइसकेपनि विखण्डनको मूल कारणको विषयमा गम्भीर हुनुपर्ने सुझाव दिदै लाभले आफ्ना समर्थकलाई के जबाफ दिने भन्ने कन्फ्युजनमा रहेकाले नेता कार्यकर्तालाई सम्बोधन नगरेको र संचारमाध्यममा प्रतिक्रिया समेत नदिएको उनको बुझाइ छ।

राजनीतिका जानकार तथा विश्लेषक रोशन जनकपुरीले पृथकतावादी धार छोडेर देशभित्रको मूलधार राजनीतिमा आउनु सवल पक्ष देशको हितमा रहेपनि कार्यान्वयनको पक्षमा हेर्न बाँकी रहेको बताउँछन्। उनले भने, ‘समग्रमा हेर्दा राम्रै छ, नयाँ सम्भावनाहरू अगाडी ल्याइएको छ र यहाँको सम्भावनाहरू बोकेर अघि पनि बढ्छ।'

तर, सम्झौता कार्यान्वयनको चरणमा गएन भने त्यो पछि घातक सिद्ध पनि हुन सक्ने उनको तर्क छ। उनले थप्दै भने, ‘सिके राउत सत्ताको राजनीतिमा सामेल हुन खोजेको हो तर धारणा प्रति ईमान्दार भएर कति समय टिक्छ त्यसको समयमा भर पर्छ। अहिलेको सम्झौता र काम गराईले भोलीको दिनमो टकरावको स्थिति समेत सृजना हुन पुग्छ।’

उनले राउतको चतुर्‍याइँपूर्ण भाषण र चतुर्‍याइँपूर्ण राजनीति सुरु गर्न लागेको बताउँदै राउतले भनेको जस्तो जनमतसंग्रह नभए अर्को नयाँ स्थितिको सिर्जना हुने बताउँछन्।

मधेश राजनीतिका जानकार तथा पत्रकार नित्यानन्द मण्डलले सिके राउतको यु–टर्न सकारात्मक पक्ष भएको बताउँछन्। जनताले सिके राउतको बुझाई र सम्झाईबाट अलग भएकोले उनको पक्षमा जनमत जुटन नसकेको तर्क गर्दै भन्छन्, ‘नेपालबाट अलग भएर कुनै पनि नेपाली जनताले चाहदैनन् की स्वतन्त्र मधेशमा बसौं र अहिलेको सहमतिबाट शान्ति, विकास र संविधानका बाटो थप मजबुत हुने भएको बताउँछन्।’

सहमति उल्लघनको विषयमा भने मण्डलले सिके राउतले पढाएको पुरानो पाठ अनुसार उनका समर्थक हिँडे पनि त्यो कोर्षलाई छाड्न केही समय लाग्ने बताउँछन्। उनले भने, ‘कुनै पनि शिक्षकलाई जसरी नयाँ कोर्ष पढाउन सुरु–सुरुमा अफ्ठ्यारो हुन्छन, त्यसरी नै सिके राउतले लागू गरेको नयाँ कोर्ष आफ्ना समर्थक माझ लागू गराउन केही समय लाग्छ सक्छ, अहिले समर्थकमा अन्योल रहेकोले यस्तो अवस्थाको सृजना भएको हो।’

यता, सत्तारूढ दल नेकपाका प्रदेश सांसद रामचन्द्र मण्डलले राजनीतिमा उदाउनु र अस्ताउनुलाई कुनै नौलो कुरा नमानिए पनि सिके राउतले पनि राजनीतिक ग्राउण्ड बनाउन स्वतन्त्र मधेशको मुद्दा उठाएको उनको बुझाई छ। सांसद मण्डलले भने, ‘पोलिटिकल ग्राउण्ड बनाउन मधेश छुट्टै राज्यको कुरा गरेपनि सम्झौताबाट पोलिटिकल ग्राउण्ड बनिसकेपछि शान्तिपूर्ण राजनीतिक गर्ने मनसाय देखिएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.