भन्छिन्, 'उहाँ मेरो भगवान्'

|

काठमाडौं :  सासूलाई आमापछिको आमा भने पनि समाजमा यी दुईबीचको सम्बन्धलाई लिएर धेरैजसो नकारात्मक कुरा आइरहन्छन्। सासू र बुहारीको सम्बन्ध पनि खासै राम्रो भएको पाइँदैन। केही प्रतिनिधि सम्बन्धबाहेक अझै पनि सासूले  बुहारीलाई गर्ने व्यवहारका कारण  र बुहारीले सासूलाई गर्ने व्यवहारका कारण सासू-बुहारीको सम्बन्ध धमिलिएको पाइन्छ।

तर, काठमाडौं लाजिम्पाटका धनमाया श्रेष्ठ र शोभा श्रेष्ठमा समाजमा देखिएको यो व्यवहार लागू हुँदैन। शोभा २८ वर्षअघि धनमायाको जेठो छोरा राजेन्द्र श्रेष्ठसँग विवाह गरेर बुहारीको रुपमा घर भित्रिएकी हुन्। त्यसयता धनमायाले शोभालालाई बुहारीको नाताले  हैन छोरी झैँ व्यवहार मात्र गरिनन्,  मृत्युको मुखैमा पुगिसकेकी बुहारीलाई नयाँ जीवन नै दिइन्।

२१ वर्षको उमेरदेखि उच्चरक्तचापको समस्या भोगिरहेकी शोभाको १० वर्षअघि दुवै मिर्गौलाले काम गर्न छोड्यो। यसपछि डाइलासिसबाट जीवन धानिरहेकी शोभालाई धनमायाले आफ्नो मिर्गौला दान गरिन्। जन्मेको तीन वर्षमै आमा गुमाएकी शोभालाई आफूलाई जन्म दिने आमाको अनुहार समेत याद छैन। उनै शोभालाई सासू धनमायाले आमाकोजस्तै माया मात्रै हैन, २०६६ असार १७ मा मिर्गौला दान गरेर पुन: जन्म दिइन्।

चिकित्सकले नपत्याएको त्यो क्षण

२० वर्षको उमेरदेखि मधुमेहपीडित शोभाको २०६६ सालमा मिर्गौलाले काम गर्न छाड्यो। त्यसबेला सबैभन्दा बढी चिन्तित भइन्, सासु धनमाया। चिकित्सकले बुहारी शोभाको मिर्गौला काम नलाग्ने भयो अब अर्को प्रत्यारोपण गर्नुपर्छ भने। चिकित्सकको सुझाव सुनेपछि मिर्गौला दान गर्न सबैभन्दा पहिले तयार भइन् धनमाया। त्यसबेला उमेरले ६० काटिसकेकी आमाले मिर्गौला दिन्छु भन्दा छोराले मानेनन्। 

बुहारीलाई मिर्गौला दान धनमायाका श्रीमानले पनि दिन खोलेका थिए। ' त्यस बेला मेरो श्रीमान हुनुहन्थो,' धनमायाले भनिन्, 'उहाँले दिन्छु भन्नुभएको थियो तर उहाँको उमेर धेरै भएका कारण मिलेन।' त्यसपछि मैले  बुहारीलाई मिर्गौला दिन्छु भन्दा कसैले नपत्याएको उनले बताइन्। त्यो बेलाको दिन सम्झिँदै उनले भनिन्, 'सासुले पनि बुहारीलाई मिर्गौला दिन्छन् त आमा होला भन्थे।’ यस्तो घटना पहिलो भएर होला सायद अस्पतालमा पनि कानेखुसी गरेको सुन्थिन् धनमायाले। यस्ती बुढी मान्छेले पनि के बुहारीलाई मिर्गौला दान दिन लागेको होला भनेर उनली आफैँले सुनिन्। उनले भनिन्, 'बुहारीलाई मिर्गौला दिन अस्पताल जाँदा सुरुमा त डाक्टरले पनि सासू भनेर पत्याएनन् तर बिस्तारै थाहा पाएपछि उहाँहरु आफैँ अच्चम पर्नुभो।'

म बुहारीलाई म आफैँ मिर्गौला दिन तयार भएँ तर मिल्छ कि मिल्दैन भनेर डर लागेको थियो। मिल्छ भने पछि सारै खुसी लाग्यो।'

भगवानरुपी सासू

शोभाको माइतीमा आमाबुवा दुवै छैनन्। तीन वर्षकै उमेरमा आमा गुमाएकी उनलाई आमाको माया त के अनुहार समेत सम्झना छैन। सानैमा आमा गुमाएकी उनले विवाहपछि मात्रै आमा भनेर कसैलाई बोलाउन पाएको शोभाले सुनाइन्। जसले गर्दा पनि सुरुमानै शोभाले धनमायालाई सासूको व्यवहार हैन आमाको व्यवहार गर्दै आइन्। धनमायाले पनि शोभालाई सुरुदेखि छोरीकै व्यवहार गरेको बताउँछिन्।

‘सानैमा आमा गुमाएकी हो उसले त्यसैले पनि यसको धेरै माया लाग्छ,' धनमायाले भनिन्, 'विहे गरेर आएदेखि म नै यसको आमा हो। यसले पनि मलाई आजसम्म सासूको हैन आमाकै व्यवहार गर्दै आएकी छ। त्यसैले यो बिरामी हुँदा मैले यसलाई बचाउन सकिन भने पाप लाग्छ भन्ने सोंचेर मिर्गौला दिने निर्णय गरेकी हुँ।’ आफूलाई सासूले मिर्गौला दिन्छु भनेको सुन्दा आफू निकै भाग्यमानी रहेछु भन्दै खुसीले रोएको बताउँछिन शोभा।

‘सानैमा मैले आमा गुमाएकीले आमाको माया त के आमा भनेर बोलाउन समेत पाइनँ,' शोभाले भनिन्, 'विहेपछि मैले सासुमानै आमा पाएँ। यस्ता सासु कमैका हुन्छन्। म सारै भाग्यमानी रहेछु।'

मर्गौलाले काम गर्न छोडेपछि तीन महिनासम्म डाइलासिस् गरेकी शोभाले सासूले मिर्गौला नदिएको भए आज यो धर्तीमा नहुने बताउँछिन्। तर सासूले मिर्गौला दान गरेकीले पुनर्जन्म पाएको उनको अनुभव छ। उनले भनिन्, ‘आमाले त जन्म मात्र दिनुभएको हो मलाई उहाँ त मेरो  आमा मात्रै हैन भगवान् पनि हो।'

यता धनमायालाई पनि छोरी र बुहारी समान हुने बताउँछिन्। उनले भनिन् ‘म त बुढी भइसकेँ, डाँडामाथिको घाम हो भर्खरैको उमेर रहेकी बुहारी, छोरा र परिवारका लागि ऊ बाँच्नुपर्छ भन्ने लाग्यो र सकैलाई नसोधी मिर्गौला दिएँ।'  

मिर्गौला दिएर चार दिन अस्पताल बसेपछि धनमाया घर फर्किन्। शोभा ३२ दिनसम्म अस्पतालमा बस्नु पर्ने भो। तर त्यसबीचमा पनि धनमाया बुहारीलाई भेट्न पटक-पटक अस्पताल पुगिन्। अहिले धनमायालाई मधुमेह र उच्चचाप देखिएको छ। नियमित औषधसि गरिरहेकी उनले आफूभन्दा बुहारीकै हेरचाहमा धेरै समय ध्यान दिन्छिन्। उनले भनिन्, 'मैले त दिनमा एक पटक औषधि खाए हुन्छ। उनलाई त बिहान बेलुकै सुई मार्फत इन्सुलिन लिनु पर्छ। जसले गर्दा अहिले पनि आफ्नोभन्दा उनकै धेरै माया लाग्छ।'

यति लामो जीवनमा उनले बुझेको कुरा, बुहारीलाई अर्काको छोरी हो भनेर हेला गर्न हुँदैन भन्नेनै हो रे। ‘मेरा दुईवटी छोरी पनि अर्कोको घर गएका छन्,' उनले भनिन्, 'उनीहरुलाई सासुले नराम्रो गर्दा हामीलाई नि राम्रो लाग्दैन। बुहारीको धेरै माया गर्नु पर्छ। अझ कतिपय कुरा छोराभन्दा बुहारीलाई राम्रो सँग भन्न सकिन्छ। जसले गर्दा बुहारी झन् नजिक हुन्छन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.