|

प्रियंका गान्धी भारतीय कांग्रेसले महासचिव बनेपछि पहिलोपटक सार्वजनिक मन्तव्य दिएकी छन। लोकसभा निर्वाचन २०१९ को मुखमा महासचिव बनेकी प्रियंका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा गएर पहिलोपटक भेलालाई सम्बोधन गरेकी हुन।

लामो समय गुजरातको मुख्यमन्त्री बनेपछि मोदी सन् २०१४ मा प्रधानमन्त्री बनेका थिए। उनको गृह राज्य पुगेकी प्रियंकाले जनतालाई भोट हतियार भएको र त्यसको सही सदुपयोग गर्न आग्रह गरेकी छन।

प्रियंकाले सही मुद्दा छनोट गर्न र सोची सम्झी फैसला गर्न आह्वान गरेकी छन। उक्त सभामा कांग्रेस अध्यक्ष राहुल गान्धी, पूर्वअध्यक्ष सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहको पनि उपस्थिति थियो।

अहमदावादमा जारी दुईदिने कांग्रेस कार्यसमिति बैठकको पहिलो दिनको सभालाई सम्बोधन गर्दै प्रियंकाले जनताको बलले घृणाको भावलाई प्रेममा बदल्ने बताइन। उनले वर्तमान समयमा देशमा भइरहेका घटनाले आफू दुखी भएको बताइन। उनले मतदातालाई जागरुक बन्न आग्रह गर्दै भनिन्, ‘सबैभन्दा ठूलो देशभक्ति जनता जागरुक हुनु हो। तपाईंहरूको जागरुकता एक हतियार हो, तपाईंको भोट एक हतियार हो।’

भोट कसैलाई चोट र दुःख नदिइकन प्रयोग गर्न सकिने हतियार भएको प्रियंकाको भनाइ थियो। उनले भोटले जनतालाई मजबुद बनाउने र जनताको भविष्य तय गर्ने बताइन।

प्रियंकाले निर्वाचनमा झूठा मुद्दा उठाउन नहुने बताइन। जनतालाई अगाडि बढाउने, महिला, किसान,युवाका लागि काम गर्ने मुद्दालाई निर्वाचित गर्न उनले आग्रह गरिन। जनताको जागरुकताले यी मुद्दालाई अगाडि बढाउने उनको धारणा थियो।

प्रियंकाले मोदीलाई इंगित गर्दै जनतालाई ठूला-ठूला बाचा गर्ने र वार्षिक दुई करोड रोजगारी मिल्यो कि मिलेन, १५ लाख भारू खातामा आउने कुरा के भयो? पाँच वर्षमा महिला सुरक्षाको अवस्था के भयो? भनेर सोध्न आग्रह गरिन। उनले निर्वाचनको मुखमा सयौँ मुद्दा उठ्ने तर जनताले जागरुक भएर सही मुद्दा चुन्नुपर्ने धारणा राखिन। जनताको जागरुकताले देश निर्माण हुने उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.