फिचर

'होलफस्ट' हुन्छिन् ६५ वर्षकी इन्द्रा आमा
SHARES

फागुन २९, २०७५

    काठमाडौं : भागवत गीता तथा महाभारतका अध्यायहरूमा घोत्लिने उमेर हो इन्द्रादेवीको। पावरवाला चश्मा लगाएर धार्मिक पुस्तकहरूको अध्ययन गर्छन् उनको उमेरका 'आमा'हरू। पावरवाला चश्मा त इन्द्रादेवीले पनि लगाउँछिन् तर, उद्देश्य केही फरक छ। इन्द्रादेवीले पावरवाला चश्मा लगाएर स्कुले पढाइका किताबहरू पढिरहेकी छिन्।

    ६५ वर्षकी भइन् ललितपुर कुसुन्तीकी इन्द्रादेवी आले। अहिले त घरधन्दा गर्ने उमेर पनि होइन्। नातीनातिनासँग खेल्ने उमेर हो उनको। तर, उनी विहानै स्‍कुले झोला बोकेर विद्यालय जान्छिन्। नातीनातिनाई स्‍कुल पुर्‍याउन होइन, आफ्नो शिक्षाको तिर्सना मेट्न। भोक यस्तो पनि हुँदो रहेछ, उनी ६५ वर्षको उमेरमा खुब मेहनत गरेर स्‍कुले शिक्षा अध्ययन गरिरहेकी छिन्। अहिले कक्षा ६ मा पढ्छिन्। पढ्ने मात्रै होइन उनी आफ्नो कक्षामा प्रथम नै हुन्छिन्।

    बुढेसकालमा बिहान सबेरै उठ्ने, नित्य कर्म सक्ने, चिया नास्ता गर्ने, नाती नातिनालाई हेर्ने, बाँकी घर धन्दा सकेपछि झोलाबाट किताब निकालेर केहीबेर पढ्ने र बुहारीले बनाएको खाना खाएकर स्‍कुल जाने दैनिकी हो इन्द्रादेवीको। उनले अहिले सातदोबाटोको प्रेरणा महिला माध्यमिक बिद्यालयमा पढिरहेकी छिन्।

    ४ वर्ष अघि छोराछोरीले कक्षा १ मा भर्ना गरिदिएका हुन् उनलाई। साउँ अक्षर नचिनेकी उनले सुरुमा खुब मिहिनेत गरिन्। करिब ५ सय आफू जस्तै महिला दिदीबहिनीलाई उछिन्दै स्‍कुल टप गरिन्। चार कक्षामा पनि टप गरेपछि उनले सिधै ६ कक्षामा भर्ना पाएकी हुन्।

    बुहारी शिक्षक। स्‍कुले नातीनातिना घरमा अंग्रेजी बोल्ने। अस्ट्रेलिमा भएक नाती पनि अंग्रेजी नै बोल्ने। 'घरको वातावरणा अंग्रेजीमय भयो, त्यही भएर स्‍कुल जाने हुटहुटी भयो,' उनले भनिन्।

    मंगलबार बिहान उनको कक्षामा अंग्रेजी बिषयको पढाई भैरहेको थियो। शिक्षक  नविन अधिकारीले इन्द्रासँगै २५  जना महिलालाई पढाउँदै थिए। आदिकवि भानुभक्त आचार्यको बारेमा । ईन्द्राले पाठ वाचन गरिन् अरुले सिको गरे। 'म त सक्दासम्म यही स्‍कुलमा पढ्छु, पहिले पढ्नु पर्छ भन्ने थाहा भएन,' उनले भनिन्, 'अहिले त सिरानमै किताब राखेर सुत्छु।'

    इन्द्राका नातीनातिना स्‍कुल पढ्ने भैसकेका छन्। श्रीमान् रिटायर्ड इन्डियन आर्मी, छोराछोरी कोही डाक्टर बनीसके। भरतपुर अस्पतालमा पढ्ने छोरी कहिलेकाँही आउँदा आमासँग खुसी हुँदै थ्याङ्क यू ममी भन्छिन्। 'छोरीले थ्याङ्क यू भन्छे म ईट्स ‌ओके भनेर झोला बोकेर स्कुल हिड्छु,'  इन्द्राले मुस्कुराउँदै सुनाइन्।

    उनलाई स्‍कुल आएको देखेर राम्रो गर्नुभयो भन्दै हौसला दिने पनि छन्। उनकै उमेरका कोहीले मैले पनि पढ्न पाए हुन्थ्यो भनेर सुनाउँछन्। इन्द्राले बैशाखमा भर्ना भएर स्‍कुल आउन सुझाव दिने गरेको बताइन्।

    छोराछोरी हुर्किसकेपछि ५५ वर्षीया शोभा थापालाई पनि घर रुँगेर बस्न उचित लागेन। छोराछोरीलाई फोन गर्न र घरमा भएको कम्प्युटर खोल्न नसक्ने हुँदा उनलाई पनि पढ्नुपर्ने रैछ भन्ने लाग्यो। त्यसपछि उनी पनि स्‍कुल आइन्। बुढ्यौलीमा स्‍कुल आएको भनेर शोभालाई जिस्काउनेहरू पनि थिए। तर उनले जिस्काउनेहरूलाई सुनिनन्। 'भन्नेले त भन्छन् नि यो उमेरमा पढेर के गर्न लाको भनेर।  मैले पनि केही गर्न लागेको त हैन आफ्नै लागि पढ्ने हो भन्छु।'  शोभाले भनिन्।

    जुम्ला घर भएकी अर्की ४४ वर्षीया रामदेवी पाण्डेले पनि उमेरमा पढ्न पाइनन्। 'जुम्लामा महिला त के पुरुष पनि स्कुल बिरलै जान्थे,' उनले जुम्लाको लवजमा भनिन्, 'छोरी मान्ठ पडाउन चलन थियानई, हातैका दाई सिडियो भया, भाई सचिव भया। अनि गाई चराउन्या पनि हामी, घट्ट पिध्न्या पनि हामी, अनि पड्न पायानौँ।'

     रामदेवि छोराछोरीलाई पढाउन काठमाडौं आएकी हुन्। काठमाडौं अएपछि काम भएन। फुर्सद भयो। आफूलाई पढ्न मन लाग्यो। त्यही भएर उनले स्‍कुल जान थालेकी हुन्। कुनैबेला मान्छेको बिचमा बोल्नै डर मान्ने रामदेवीको अहिले भने एसईई सकेर गाउँमा महिलाकै लागि काम गर्ने सोच बनाएकी छिन्। 'सके त एसएलसी पढ्न्या हो गाउँ जान्या हो। त्या नपढेकोलाई पढ भन्या हो। सरम नमानीकन पढ भन्या हो।'

    प्रेरणा महिला माध्यमिक विद्यालयमा धेरैजस्तो प्रौढ उमेर समूहका महिलाहरूले पढिरहेको विद्यालकी प्रधानाध्यापक प्रभा चालिसेले बताइन्। 'सुरुमा २०/२५ जनाबाट पढाई सुरु गरे पनि बिस्तारै बिद्यार्थी बढे,' उनले भनिन्,  'हामी त घर घरमा को छ नपढेको भनेर खोज्दै पनि हिँड्थ्यौँ।'

    अहिले विवाह गरेका धेरै प्रौढहरू पढ्न आउने गरेको चालिसेले बताइन्। विहान र दिउँसो दुई चरणमा बिद्यालयमा पढाई हुन्छ। 'कोहि विहान काम गरेर दिउँसो पढ्न आउनुहुन्छ। कोही बिहान पढेर दिउँसो काम गर्न जानुहुन्छ,' प्रभाले भनिन्।

    पाठ्यक्रम एउटै भए पनि नियमित बिद्यालय उमेरकालाई भन्दा आमाहरुलाई पढाउने केही फरक तरिका छ। 'उहाँहरु सबैजना पाको उमेरको हुनुहुन्छ। बालबालिकालाई जस्तो सम्झाउनु पर्दैन। उहाँहरुलाई आदरका साथ पढाउन सकिएन भने पढ्ने मन भए पनि उहाँहरुले स्‍कुल छोड्नु हुन्छ,' प्रभाले भनिन्।

    २०५५ सालमा प्रभासहितका ४ जना महिलाले यो बिद्यालय सञ्चालनमा ल्याएका हुन्। जुन नेपालकै पहिलो महिला बिद्यालय हो। अहिले काठमाडौँ उपत्यकामा संस्थागत रुपमा ७ वटा महिला बिद्यालय सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]