'अधिकारकर्मीले तयार पारेको उजुरीमा हस्ताक्षर गरेँ, खेल्छन् भन्ने थाहा थिएन'

|

काठमाडौं : निर्मला बलात्कार र हत्या प्रकरणमा शुरुमा नै पक्राउ परेका र पछि छुटेका दिलीपसिंह विष्टको संलग्नता हुनसक्ने निर्मलाकी आमा दुर्गादेवी पन्तले बताएकी छन। 

दुर्गादेवीले थाहा खबरसँग कुरा गर्दै छोरी निर्मलाको बलात्कार र हत्यामा दिलीपको संलग्नता हुनसक्ने बताएकी हुन। 

'दिलीपसिंह विष्ट आजभोली मेरो घर नजिक आएर मलाईसमेत हेर्ने, हाँस्ने र घर नजिकै रहेको नहरतिर गएर बस्ने गर्छ। पहिलासमेत आउने गरेको कतिपयले देखेकै रहेछन। त्यसैले दिलीप नै हो कि जस्तो लाग्छ,' दुर्गा देवीले भनिन। डिएनएकै कारण निर्मला पन्तको हत्यारा कतै उम्किने त होइन भनेर चिन्ता लागेकोसमेत उनको बताइन।

  • निर्मलाकी आमा दुर्गादेवीले थाहा खबरसँग गरेको कुरा जस्ताको तस्तैः 

शुरुमा प्रहरीको विरुद्धमा अधिकारकर्मीले तयार पारेको उजुरीमा मैले हस्ताक्षर गरेकी थिएँ। तर, त्यो गलत ठाउँमा हस्ताक्षर गरेकी रहेछु भनेर अहिले महशुस भयो। त्यतिबेला अधिकारकर्मीले खेल्छन् भन्ने थाहा थिएन, अहिले मात्रै मैले थाहा पाएँ।

सबैले यति लामो समयसम्म साथ दियो तर किन अपराधी पत्ता लाग्दैन?

दिलीप विष्टलाई पहिला मैले शंका गरेकी थिइँन। उनलाई मैले अहिले किन शंका गरेकी हुँ भने १०-१५ दिनयता मेरो घरतिर आउँछ। मलाई हेरेर हाँस्छ। डरलाग्दो मान्छे छ, त्यसैका घरका मान्छे पनि डराउने रहेछन। अहिले बुझ्दाखेरि यै हो (निर्मलाको बलात्कार र हत्या गर्ने) भन्ने लाग्छ।

दिलीपले पुलिसलाई दिएको बयान र घटनास्थलको कुरा मिल्छ। साइकलबारे दिएको बयान पनि मिल्छ। मेरो चढ्ने साइकल (निर्मलाले चढेको) हो। बनाएर चलाउनुपर्छ, यो बिग्रेको छ भनेको थिएँ। त्यो साइकल बनाउँला र चढौँला छोरी भनेको थिएँ, त्यै साइकल लगेर गइ।

दिलीपसिंह विष्टले चैन (साइकलको) बिग्रेको पुलिसलाई भनेको थियो जुन घटनास्थलसँग मिल्छ। उसले भनेअनुसारका सबै कुराहरू घटनास्थलसँग मिल्छ।

त्यै (दिलीप) हुनाले त अहिलेसम्म डिएनए पनि मिल्दैन, तीन करोड नेपालीको डिएनए चेक गरे पनि मिल्दैन। अन्तर्राष्ट्रिय (प्रहरी) आएर अनुसन्धान गरे पनि पत्ता लाग्दैन। त्यै भएर मैले दिलीप नै जस्तो छ भन्या हुँ।

अरुलाई आरोप लगाउनु, छोरी मरेका बेला आरोप लगाउनु पाप हो।

दिलीप घरतिर आउने र खोलातिर आउने गरेको अरू मान्छेले पनि देखेका रहेछन। अहिले त राति बाहिर निस्किन पनि डर लाग्छ। त्यसको बानीबेहोरा ठीक छैन। सत्यकुरा, त्यै हो जस्तो लाग्छ।

दिलीप विष्ट : पक्राउ परे, डिएनए नमिलेर छुटे

निर्मला बलात्कार र हत्याको २५ दिनपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो।

दिलीपलाई पक्राउ गर्ने प्रहरी अधिकारी हाल निलम्बन र बर्खास्तीमा परेका छन्। दिलीपलाई पक्राउ गर्ने प्रहरी अधिकारीले शुरुदेखि नै घटनाको प्रकृति र उनको बयान शतप्रतिशत मिलेको भन्दै घटनामा दिलीपको संलग्नता रहेको दाबी गर्दै आएका छन। 

'हामीले घटना र दिलीपको बयान पुराका पुरा मिलेपछि मात्र पक्राउ गरे र सार्वजनिक गरेका थियौंँ हँचुवाका भरमा गरेका थिएनौँ, निर्मलाको हत्या गरेको बयान अरुले पनि दिएका थिए तर घटनासँग मेल नखाएपछि उनीहरूलाई हामीले छोडेका थियौँ। डिएनए मिल्नेमा हामी पूरा विश्वास थियौँ किन मिलेन? त्यो हामीलाई थाहा हुने कुरा थिएन', निलम्बनमा परेका एक प्रहरी अधिकारीले भने।

निर्मलाको योनीबाट निकालिएको भेजिनल स्वाबसँग दिलीपको डिएनए मेल नखाएपछि उनी थुनामुक्त भएका थिए। प्रहरीले हालसम्म निर्मलाको बलात्कारपछि हत्या अभियोगमा तीन दर्जन बढीको डिएनए परीक्षण गर्दासमेत कसैको मिलेको छैन। राष्ट्रिय मानवअधिकार आयोगले भने निर्मलाको योनीबाट निकालिएको स्वाबमा त्रुटि रहेको यस अघि नै सार्वजनिक गरिसकेको छ।

निर्मलाकी आमाले प्रहरीले गरेको अनुसन्धानमा समेत गम्भीर कमजोरी नभएको पाएपछि गत साता प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा दर्ता भएको मुद्दा बदर गर्न माग गर्दै अर्को निवेदन दिएकी थिइन।

पढ्नुहोस्ः

यसअघि फागुन २३ मा निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पक्राउ परेका अभियुक्तलाई यातना दिएको प्रमाण सुरक्षित नराखेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित आठ जना प्रहरी अधिकारीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

सरकारी वकिल कार्यालय कञ्चनपुरले निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलीपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो।

डिएनए परीक्षण गर्न मान्दैनन् विदेशी विधि-विज्ञान प्रयोगशाला

निर्मलाको योनीबाट निकालिएको स्वाब माथि प्रश्न उठेपछि नेपाल प्रहरीले उक्त स्वाब अमेरिका र जापान मध्ये एक देश पठाउने तयारी गरेको थियो। तर दुवै देशको विधिविज्ञानले उक्त स्वाब परिक्षण गर्न नमानेपछि प्रकृया स्थगित भएको सिआइबीले जानकारी दिएको छ।

'एक त स्वाब नै थोरै निकालिएको थियो त्यसमा यता हामीले परीक्षण गरिसकेको भनेर उनीहरूले लिन नमानेका हुन्', स्रोतले भन्यो।

साउन १० गते साथीको रोशनी बमको घरमा पढ्न गएकी निर्मला साउन ११ गते उखुबारीमा बलात्कार पछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन। हालसम्म प्रहरीले निर्मलाको हत्यारा पत्ता लगाउन सकेको छैन। निर्मला हत्याको अनुसन्धान हाल अपराध महाशाखा र सिआइबीको टोलीले संयुक्त रूपमा गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.