|

विराटनगर : उमेरले चारबीस कटिसकेको छ। शरीरले राम्रो काम गर्दैन, हिँडडुल गर्न साहारा चाहिन्छ। आफ्नै शरिर सम्हाल्न गाह्रो पर्ने उमेर भए पनि उहाँलाई आफ्नो भन्दा देश र जनताको बढि चिन्ता लाग्छ। त्यहि चिन्ताले मंगलबार ८१ वर्षीया वृद्धा मनमाया बस्नेत विराटनगरको एउटा होटलमा देखापरिन्। विराटनगरबाट झण्डै ४० किलोमिटर टाढा बेलबारी ११ को लक्ष्मीमार्गबाट कसैको साहारा बिनानै उनी विराटनगर आइन्।

सोमबार राति नेकपाका अध्यक्ष प्रचण्ड विराटनगर आउने खबर उनको कानमा पर्‍यो। रेडियो र टेलिभिजनको समाचार नबिराई सुन्ने उनी प्रचण्ड आउने खबरले राति राम्ररी निदाइनन्। बिहान विराटनगरसम्म लगिदिन उनले धेरैजनासँग अनुरोध गरिन् तर सहयोग भएन। कसैले नलगिदिने भए भन्ने भएपछि बस चढेर उनी विराटनगर आइन् र चिनजानकासँग सम्पर्क गरिन्।

तात्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा आवद्ध भएकी मनमाया अहिले पनि पार्टी गतिविधिमा उतिकै सक्रिय छिन्। हरेक बैठक र पार्टीका भेलाहरुमा नियमित सहभागी हुने र छलफल गर्ने तथा पार्टीको काममा लागिपर्ने उनको स्वभावबाट स्थानीय जानकार मात्र छैनन् प्रभावित पनि छन्।

देशमा आएको परिवर्तन प्रचण्डहरुले गरेको आन्दोलनको परिणाम भएको मनमायाको बुझाइ छ। त्यो आन्दोलनमा आफू पनि सहभागी भएको तर आन्दोलनका नायक अध्यक्ष प्रचण्डसँग प्रत्यक्ष भेटगर्ने मनमायाको तीब्र चाहना यतिका वर्षसम्म पूरा भएको थिएन। धेरै कार्यक्रमहरुमा मनमायाले प्रचण्डको भाषण सुनेकी छन तर प्रत्यक्ष भेटेर बोल्ने रहर पूरा भएको थिएन। ‘मलाई अध्यक्ष प्रचण्डसँग नभेटी मर्छुकी भन्ने पीर लागेको थियो तर आज मेरो सपना पूरा भएको छ’ मनमायाले भने, ‘मैले अध्यक्षसँग भेटेर गफ गर्ने अवसर पाएको छु, सबै चाहाना पूरा भए अब मरेँ भने पनि केही छैन।’

अध्यक्ष प्रचण्डसँगको भेटमा उनले आफूलाई ज्यानको भन्दाबढी पार्टीको माया लाग्ने गरेकोले पार्टीलाई बलियो र सशक्त बनाउन सुझाव दिए। उनले भनिन् ‘मलाई कहिल्यै पनि मेरो ज्यानको माया लागेन पार्टीकै बढी माया लाग्छ, यो पार्टीलाई सफल बनाउनुपर्छ।’ उनले प्रचण्डले आफू गरिबको छोरा भएको र हलो जोतेर दुःख गरेर आएको भनाइबाट हामी गरीवहरु पनि प्रभावित भएर उनको अभियानमा लागेको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.