|

इलाम : सुरुवाती अग्रता जोगाउन नसक्दा डिफेन्डिङ च्याम्पियन रुस्लान थ्रीस्टार क्लब इलाममा जारी माइभ्याली गोल्डकपको क्वाटरफाइलनबाटै पराजित भएको छ। थ्रीस्टारलाई  हिमालयन शेर्पाले हराएको हो।

कप्तान अनिल गुरुङले थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाएका थिए। विजय धिमालको क्रसलाई अनिलले भलि गोल गर्दै आफनो टिमलाई अग्रता दिलाएका थिए। १–० ले पछि परेको ५ मिनेट नबित्दै विजय श्रेष्ठले खेल बराबरीमा ल्याए। दोश्रो हाफमा समेत थ्रीस्टारमाथी दबाब राखेको हिमालयनले ६८ औँ मिनेटमा त्रिवेद गुरुङले अग्रता दिलाए। विसन गुरुङको कर्नर प्रहारलाई त्रिदेवले सोझै जाली चुमाए। खेलको ७३ औँ मिनेटमा थ्रीस्टारका विजय धिमाललाई छलाउँदै  सुनिल खडकाले आफ्नो टिमलाई ३–१ को जित दिलाए।

डिफेन्डिङ च्याम्पियनलाई सुरुवातबाटै दबाबमा राखेको हिमालयनको प्रहार बचाउन गोलरक्षक एलन न्यौपाने निक्कै व्यस्त देखिन्थे। खेलको ५ औँ मिनेटमा थ्रीस्टाका अजयी मार्टिनसलाई फाउल हानेपछि हिमालयनका निरोज बस्नेतले पहेलो कार्ड पाएका थिए। २४ औँ मिनेटमा थ्रीस्टारका कप्तान अनिललाई फाउल हानेपछि मुख्य रेफ्री श्रवण लामाले हिमालयनका डयाडी वाम्बालाई पहेलो कार्ड दिएका थिए।

खेलपछि हिमालयन शेर्पाको तारिफ गर्दै थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले नियमित सेटका खेलाडी नहुँदा पराजित बनेको बताए। ‘हिमालयनका युवा खेलाडी फिट र टिम स्प्रिट पनि राम्रो देखिएपछि हामी सुरुवातबाटै दबाबमा पर्‍यौँ’ उनले भने ‘ ७/८ जना सेटका खेलाडी राष्ट्रिय टोलीको क्लोज क्याम्पमा रहेकाले उनीहरूको कमी महसुस भयो।’

हिमालयनका प्रशिक्षक विजेन्द्र पुडासैनीले पाएका अवसरहरू सदुपयोग हुनाले जित निस्किएको बताए। ‘डी एरियामा पाएको अवसर चार्ज गर्न योजना थियो सफल भयौँ’ उनले भने ‘ग्राउन्डमा बाउन्स हुने बललाई सिधै प्रहार गर्ने रणनीति बनाएका थियौँ।’

जारी सिजनमा हिमालयन र थ्रीस्टारको दोश्रो पटक आमने सामने भएका हुन्। १० औँ सिमरा गोल्डकपको सेमिफाइनलमा हिमालयनलाई हराउँदै थ्रीस्टार फाइनल पुगेको थियो। जारी सिजनमा थ्रीस्टारले सिमरा गोल्डकप र आहाराराको उपाधी जितेको थियो।

हिमालयन शेर्पा क्लब हङकङ नेप्लिज फुटबल एकाडेमीलाई ५–१ गोल अन्तरले हराउँदै माइभ्याली गोल्डकपको क्वाटरफाइनल पुगेको थियो। खेलमा पाएका केही राम्रा अवसरलाई दुवै टिमले सदुपयोग गर्न सकेनन्। प्रतियोगिता अन्तर्गत बिहीबार क्यामरूनी क्लब दाफिन्सले विभागीय टिम एपिएफको सामना गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.